विश्व फुटबलमा अब मोरक्कोलाई एउटा कमजोर टोली मान्ने गल्ती कसैले गर्दैन। २०२६ को फिफा विश्वकपको प्रि-क्वार्टरफाइनलमा क्यानडालाई ३-० को फराकिलो अन्तरले हराउँदै मोरक्को फेरि एकपटक विश्वका उत्कृष्ट आठ टोलीभित्र पर्न सफल भएको छ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको यो जितसँगै मोरक्को दुई फरक विश्वकप संस्करणमा (२०२२ र २०२६) क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रचेको मोरक्कोसँग यसपटक एउटा यस्तो विशेष हतियार छ, जसले विपक्षीको जुनसुकै बलियो रक्षापङ्क्ति (डिफेन्स) तोड्न सक्छ। ती खेलाडी हुन्— ब्राहिम डियाज।
रियल मड्रिडका स्टार खेलाडी ब्राहिम डियाजले सन् २०२४ देखि मोरक्कोको जर्सी लगाउन थालेका हुन्। क्यानडाविरुद्धको खेलमा डियाजले आफ्नो क्षमताको भरपूर प्रदर्शन गरे। क्यानडाले सुरुवाती समयमा कडा दबाब दिए पनि डियाजले दुईवटा उत्कृष्ट 'असिस्ट' दिँदै खेलको दिशा नै बदलिदिए।
उनले पहिलो पास अजदिन ओनाहीलाई दिए, जसले दोस्रो गोल गरे। त्यसपछि सुफियान राहिमीलाई तेस्रो गोलका लागि सटिक पास मिलाइदिए। यस विश्वकपका ५ खेलमा डियाजले अहिलेसम्म ४ वटा असिस्ट गरिसकेका छन्।
खेलपछि फिफासँग कुरा गर्दै २६ वर्षीय डियाजले भने— ‘यो मेरो लागि एउटा सपना जस्तै हो। विश्वकप खेल्नु, क्वार्टरफाइनलमा पुग्नु र टोलीलाई सहयोग गर्न पाउनु ठूलो कुरा हो। तर सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो टोलीको जित हो।"
उनले टोलीको मानसिक शक्तिको प्रशंसा गर्दै थपे, ‘आज हाम्रो मानसिकता निकै बलियो थियो। पहिलो हाफ सजिलो थिएन, निकै कठिन थियो। तर कठिन परिस्थितिमा पनि खेललाई आफ्नो पक्षमा पार्नुले हाम्रो टोलीको सही मनोवृत्ति र आगामी यात्राको लागि राम्रो संकेत देखाउँछ।’
खेलका क्रममा गोल गर्ने खेलाडीहरूले भन्दा पनि गोलको अवसर सिर्जना गरिदिने डियाजलाई टोलीका साथीहरूले बढी घेरेर खुसी मनाएका थिए। यसले टोलीमा उनको महत्व र सम्मान झल्काउँछ। डियाज भन्छन्— ‘साथीहरूले मलाई निकै माया र सम्मान गर्छन्। गोलपछि उनीहरूले मलाई जुन सम्मान दिए, त्यसले म धेरै खुसी छु।’
सन् २०२२ को विश्वकपमा मोरक्को आफ्नो जोसिलो खेल र बलियो डिफेन्सका लागि चिनिएको थियो। यसपटक पनि त्यो अनुशासन कायमै छ, तर ब्राहिम डियाजको आगमनले टोलीको आक्रमण पक्ष झनै धारिलो बनेको छ। डियाजले कतार विश्वकपको टोलीले गरेको अद्भुत प्रदर्शनको सम्मान गर्दै अबको यात्रामा आफ्नो तर्फबाट सबै थोक दिने बाचा गरेका छन्।