फ्रान्सले पाराग्वेलाई हराउँदै आफ्नो खेलको एउटा फरक पक्ष प्रदर्शन गरेको छ। निकै प्रतिस्पर्धात्मक र केही हदसम्म आक्रामक बनेको यस खेलमा जित निकाल्दै फ्रान्स सन् २०२६ को फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो। फ्रान्स विश्वकपको अन्तिम आठमा पुगेको यो १० औं पटक हो।
यसअघिका खेलहरूमा फराकिलो अन्तरले गोल गरिरहेको फ्रान्सले यसपटक भने पाराग्वेको बलियो रक्षापंक्ति तोड्न निकै संघर्ष गर्नुपर्यो। दोस्रो हाफमा कप्तान केलियन एम्बाप्पेले पेनाल्टीमार्फत गरेको एकमात्र गोल नै फ्रान्सलाई जिताउन पर्याप्त बन्यो। खेल १-० ले आफ्नो पक्षमा पारेपछि फ्रान्सले रक्षात्मक रणनीति अपनाउँदै पाराग्वेलाई गोल गर्ने कुनै मौका दिएन।
फ्रान्सेली डिफेन्डर विलियम सालिबाले भने, ‘यस प्रतियोगितामा हामीले प्राय: हरेक खेलमा ३ गोल गर्ने बानी बसालेका थियौं। आज हामीले मात्र १ गोल गर्यौं, तर जित त जितै हो र यसको महत्व पनि उत्तिकै छ।’
पाराग्वेले सुरुदेखि नै रक्षात्मक खेल्दै फ्रान्सेली खेलाडीहरूलाई मैदानमा खुल्ला ठाउँ नदिने रणनीति अपनाएको थियो। पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले उत्कृष्ट बचाउ गर्दै धेरैपटक फ्रान्सलाई रोके, जसका कारण उनले 'प्लेयर अफ द म्याच'को अवार्ड समेत पाए। माइकल ओलिसे र ओसमान डेम्बेले जस्ता तीव्र गतिका खेलाडीलाई पनि पाराग्वेको रक्षापंक्तिले निकै सास्ती दियो।
पाराग्वेका खेलाडीहरू मैदानमा निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए। फ्रान्सेली खेलाडी ब्राड्ली बारकोलाले खेलपछि भने, ‘मैले आफ्नो करियरमा आजको जस्तो धेरै लात्ती र ठक्कर खाएको खेल कहिल्यै खेलेको थिइनँ। तर हामीले जित्यौं, त्यही नै मुख्य कुरा हो।’
पूरा ७० मिनेटसम्म पाराग्वेले फ्रान्सलाई निकै चिढ्याउने काम गर्यो। उनीहरूले फुटबल मात्र खेलेनन्, बरु फ्रान्सेली खेलाडीहरूको धैर्यताको परीक्षा लिए।
पाराग्वेका खेलाडी माटियास गालार्जाले एम्बाप्पेलाई बिना बल कुहिनाले प्रहार गरे भने अर्को पटक फलको नाटक गरेर फ्रान्सका माइकल ओलिसेलाई पहेँलो कार्ड दिलाउन रेफ्रीलाई झुक्याए।
हद त त्यतिबेला भयो, जब एम्बाप्पेले पेनाल्टी प्रहार गर्न लाग्दा पाराग्वेका डिफेन्डर गुस्ताभो भेलाज्क्वेजले बुटले पेनाल्टी स्पट खनेर बिगार्ने प्रयास गरे। फ्रान्सेली विंगर ओसमान डेम्बेलेले यो सबै देखिरहेका थिए र उनले ती डिफेन्डरको हर्कतलाई खिसी गर्दै हाँसिदिए।
खेलमा रेफ्री इल्गिज तान्तासेभको भूमिका निकै कमजोर देखियो। पाराग्वेले दर्जनौं फाउल गर्दा र खेल भावना विपरित काम गर्दा पनि एउटै पहेँलो कार्ड पाएन। फ्रान्सेली पत्रिका 'एल इक्विप'ले रेफ्रीलाई १० मा १ अंक मात्र दिएर उनको आलोचना गरेको छ।
गोलकर्ता एम्बाप्पेले पनि पाराग्वेले शारीरिक बल प्रयोग गर्ने कुरा आफूहरूलाई पहिले नै थाहा भएको बताए। उनले भने, ‘हामीले देखायौं कि हामी केवल राम्रो फुटबल मात्र खेल्दैनौं, आवश्यक पर्दा संघर्ष पनि गर्न सक्छौं। मानिसहरू सोच्छन् कि हामी सधैं जर्सी-बुट लगाएर सानले खेल्छौं, तर फुटबलमा जित्नु नै सबैभन्दा ठूलो कुरा हो।’
एम्बाप्पेले विश्वकपमा आफ्नो १९ औं गोल पूरा गरेका छन्। उनी यस विश्वकपमा ७ गोलका साथ लियोनेल मेस्सीसँगै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्।
डेजिरे डोउले डिबक्सभित्र उत्कृष्ट ड्रिब्लिङ गरिरहेका बेला पाराग्वेका डिएगो गोमेजले उनलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो। भिडियो असिस्टेन्ट रेफ्री जाँचपछि रेफ्रीले पेनाल्टीको निर्णय दिएका थिए, जसलाई एम्बाप्पेले गोलमा परिणत गरे।
घाइते ओरेलियन चुआमेनीको स्थानमा खेलेका मनु कोनेले यो जितले टोलीको एकता र मानसिक शक्ति बढाएको बताए। प्रशिक्षक डिडिएर देसच्याम्पले पनि आफ्ना खेलाडीहरूको धैर्यताको प्रशंसा गरे।
अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोको सामना गर्नेछ। यो खेल आगामी जुलाई ९ मा बोस्टनमा हुनेछ। मोरक्कोले सन् २०२२ को विश्वकप सेमिफाइनलमा फ्रान्ससँग बेहोरेको हारको बदला लिने दाउमा हुनेछ।