फिफा विश्वकप २०२६ को अन्तिम १६ का खेल सुरू भएका छन्। पहिलो दिनको खेलमा साबिक उपविजेता फ्रान्सले पाराग्वेलाई १-० गोलले हराएको छ।
दाबेदार मानिएको फ्रान्सका लागि यो खेल सहज हुन सकेन। पाराग्वेको शारीरिक खेल र फउल चिर्न फ्रान्सलाई निकै कठिन भएको थियो। यसअघिका खेलमा तीन वा तीनभन्दा बढी गोल गरेको फ्रान्सले पाराग्वेसँग खुलेर खेल्न नसक्नुका धेरै कारण छन्।
अब फ्रान्सले अन्तिम आठमा मोरोक्कोसँग खेल्दैछ। मोरोक्कोले अन्तिम १६ मा सह-आयोजक क्यानडाको चुनौती पन्छायो। लगातार दुई पटक अन्तिम आठमा स्थान बनाएको मोरोक्कोलाई अब अन्डरडग टोली होइन दाबेदार टोलीका रूपमा लिन थालिएको छ।
अन्तिम १६ मा ब्राजिल र नर्वेबीच खेल हुँदैछ। ब्राजिलका डिफेन्डर ग्याब्रियल र नर्वेका फरवार्ड हालान्डबीचको प्रतिस्पर्धा हेर्न लायक हुने अनुमान गरिएको छ। यो खेलको विजेताले सहआयोजक मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ।
घरेलु मैदानमा हुने खेल मेक्सिकोलाई सहज हुने अनुमान गर्दा इंग्लिस टोलीले कडा चुनौतीको सामना गर्नुपर्नेछ। उचाइदेखि विपक्षीको घरेलु मैदानको चुनौती चिर्न इंग्लिस टोलीलाई सहज हुने छैन।
अन्तिम १६ मा पोर्चुगल र स्पेनबीचको खेल रोमाञ्चक हुनेछ। स्पेनिस टोलीलाई यसपटक अर्को दाबेदार फ्रान्सलाई कडा चुनौती दिन सक्ने टोलीका रूपमा लिइएको छ। त्यसैले विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डोको टोलीका लागि अन्तिम १६ मै कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। त्यसो त पोर्चुगल र स्पेनबीच गत वर्ष युइएफए नेशन्स लिगको फाइनलमा प्रतिस्पर्धा भएको थियो, जसमा पोर्चुगलले पेनाल्टीमा स्पेनलाई हराएर उपाधि जितेको थियो।
सहआयोजक अमेरिकाले बेल्जियमसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ। अमेरिकाले आफ्ना मुख्य स्ट्राइकर फोलारिन बालोगनबिना कमब्याक किंग्स बेल्जियमसँग खेल्नु सजिलो हुने छैन।
साविक विजेता अर्जेन्टिनाले अन्तिम आठमा पुग्न इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। अफ्रिकाको बलियो देशमध्येको एक इजिप्टले यसपटक मेसीको टोलीलाई कडा चुनौती दिने पक्का छ। स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेलसँगै अन्तिम १६ सकिनेछ।
यी खेलका आकर्षक पक्ष के-के हुन्? कुन टोलीको बलियो पक्ष के हुन्? यी लगायतका विषयमा सेतोपाटीका प्रेम ढकाल र सीताराम कोइरालाले गरेको विस्तृत विश्लेषण हेर्नुहोस् —