ब्राजिलका स्टार फरवार्ड नेइमार यस विश्वकपमा जम्मा ३८ मिनेट मात्र मैदानमा देखिए।
पिँडुलाको चोटका कारण प्रतियोगिताको सुरुआती दुई खेल गुमाएका उनले नकआउट चरणमा पनि सीमित अवसर मात्र पाए।
नेइमारले समूह चरणका मोरक्को र हाइटीविरुद्धका खेल खेलेनन्।
चोटबाट फर्किएपछि स्कटल्यान्ड विरुद्ध समूह चरणको अन्तिम खेलमा ७६औं मिनेटमा मैदान प्रवेश गरेका थिए। सो खेलमा उनले करिब १५ मिनेट खेले।
त्यसपछि जापान विरुद्धको अन्तिम ३२ को खेलमा उनी बेन्चमै सीमित रहे।
प्रशिक्षक कार्लो आन्सेलोटीले खेल अतिरिक्त समयमा पुगेमा मात्र नेइमारलाई उतार्ने योजना बनाएका थिए। तर इन्जुरी समयमा ब्राजिलले विजयी गोल गरेपछि उनलाई मैदान छिराउने आवश्यकता परेन।
नर्वे विरुद्धको अन्तिम १६ को खेलमा पनि नेइमारले सुरूवाती ११ मा रहेर खेल्न पाएनन्। कार्लो आन्सोलोटीले नेइमारलाई ६८ मिनेटमा मात्रै मैदानमा पठाए। खेल ९० मिनेटपछि पनि करिब १० मिनेटसम्म चलिरहँदा नेइमारले करिब २३ मिनेट खेले।
इन्जुरी समयमा उनले पेनाल्टीमार्फत गोल पनि गरे। तर ब्राजिल २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरियो।
यसरी नेइमारले विश्वकपमा स्कटल्यान्ड विरुद्ध करिब १५ मिनेट र नर्वेविरुद्ध २३ मिनेट गरी कुल ३८ मिनेट मात्र खेले।
नेइमार सन् २०२३ को अक्टोबरमा गम्भीर घुँडाको चोट बोकेपछि लामो समय मैदानबाहिर बिताएका थिए।
विश्वकपअघि क्लब सान्तोसबाट खेल्ने क्रममा उनी फेरि घाइते भएका थिए। उनी पिँडुलाको चोट (ग्रेड–२ क्याल्फ इन्जुरी) बोकेर प्रतियोगितामा आएका थिए।
यही चोटका कारण उनले सुरुआती दुई खेल गुमाएका थिए र प्रशिक्षक आन्सेलोटीले उनको पुनरागमनमा सावधानी अपनाउँदै सीमित समय मात्र खेलाएका थिए।