मेक्सिको सिटी– १० खेलाडीमा सीमित भएको इंग्ल्यान्डले आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। योसँगै मेक्सिकोको ४० वर्षयताकै उत्कृष्ट विश्वकप यात्रा पनि अन्त्य भएको छ।
एज्टेका रंगशालामा आइतबार खराब मौसमका कारण खेल एक घन्टा ढिलो सुरु भएको थियो।
इंग्ल्यान्डलाई सुरुआती अग्रता जुड बेलिंघमले दिलाए। उनले एक मिनेटको अन्तरमा दुई गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाए।
३६ मिनेटमा उनले बुकायो साकाको क्रसलाई जाली चुमाएर टोलीलाई सुरूवाती अग्रता दिलाए। त्यसको एक मिनेटपछि ह्यारी केनको उत्कृष्ट पासलाई बेलिंघमले सहज गोल गर्दै अग्रता दोब्बर पारे।
पहिलो हाफको अन्त्यतिर जुलियन किन्योनेसले पेनाल्टी क्षेत्रभित्र आएको रिबाउन्ड बललाई शक्तिशाली प्रहार गर्दै गोल फर्काएपछि मेक्सिकोले खेलमा पुनरागमनको संकेत दिएको थियो।
दोस्रो हाफमा जारेल क्वान्साह भीएआर समीक्षापछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित भयो।
तर त्यसको केहीबेरपछि गोलकिपर राउल रान्गेलले एन्थोनी गोर्डनलाई लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान ह्यारी केनले गोलमा परिणत गर्दै इंग्ल्यान्डलाई ३–१ को अग्रता दिलाए।
मेक्सिकोले पनि भीएआर समीक्षापछि पाएको पेनाल्टीमा राउल हिमेनेजले गोल गर्दै अन्तर ३–२ मा झारे पनि त्यसपछि बराबरी गोल गर्न सकेन।
जितसँगै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ। उसले अब शनिबार मियामीमा नर्वेको सामना गर्नेछ।