ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने संकेत गरेका छन्।
न्यू जर्सीमा सोमबार बिहान अन्तिम १६ को खेलमा नर्वेसँग पराजित भएपछि भावुक बनेका ३४ वर्षीय नेइमारले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा अन्त्य भएको संकेत गरेका हुन्।
खेलपछि ब्राजिलियन टेलिभिजन ‘जीई टिभी’सँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ। अब सकियो। मैले यहीँबाट सुरु गरेको थिएँ, यहीँ आएर अन्त्य भयो।’
कैयौं खेलाडीहरूले मैदानमा हार ब्यहोरेपछि भावुक भएर संन्यास घोषणा गरे पनि पछि पुनः मैदान फर्किएका इतिहास छ।
सन् २०१६ मा कोपा अमेरिका फाइनलमा चिली विरूद्ध पेनाल्टी सुट आउटमा अर्जेन्टिना पराजित भएपछि कप्तान लियोनल मेसीले पनि राष्ट्रिय टोलीमा आफ्नो यात्रा समाप्त भएको घोषणा गरेका थिए। खेलमा मेसी स्वयंले पेनाल्टी मिस गरेका थिए।
पछि फेरि राष्ट्रिय टोलीमा पुनरागमन गर्दै सन् २०२२ को विश्वकप जितेका थिए।
नेइमारले नर्वे विरूद्धको खेल भएको यही स्टेडियममा सन् २०१० मा अमेरिका विरूद्धको मैत्रीपूर्ण खेलबाट ब्राजिलको राष्ट्रिय टिममा डेब्यु गरेका थिए।
त्यसैले सोही मैदानमा सम्भावित अन्तिम खेल खेल्नुपर्दा उनी निकै भावुक बनेका थिए। उनी मैदानमै केही बेर रोएका थिए।
नेइमारले नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरे पनि त्यो ब्राजिललाई हारबाट जोगाउन पर्याप्त भएन।
ब्राजिल २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरियो।
पिँडुलाको चोटका कारण विश्वकपका सुरुआती दुई खेल गुमाएका नेइमारले यस प्रतियोगितामा जम्मा ३८ मिनेट मात्रै खेले।
उनले स्कटल्यान्डविरुद्धको अन्तिम समूह खेलमा करिब १५ मिनेट र नर्वेविरुद्ध अन्तिम १६ को खेलमा करिब २३ मिनेट मैदानमा बिताएका थिए।
जापानविरुद्धको अन्तिम ३२ को खेलमा भने उनी बेन्चमै सीमित भएका थिए।
यदि नेइमारले औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेको हो भने उनको ब्राजिलमा करिअर १३० खेलमा ८० गोल र ५८ असिस्टसहित टुंगिनेछ।
क्लब फुटबलमा अनेकौं उपाधि जितेका नेइमारले ब्राजिलको सिनियर टोलीबाट भने सन् २०१३ को कन्फेडेरेसन्स कपबाहेक अर्को ठूलो उपाधि जित्न सकेनन्।
यस हारसँगै ब्राजिलको विश्वकप उपाधि खडेरी पनि थप लम्बिएको छ।सन् २००२ पछि ब्राजिलले विश्वकप जित्न सकेको छैन।