मैदानमा एर्लिङ हालान्डको जुल्फी कपाल देखिने बित्तिकै विपक्षी डिफेन्डरहरू डराउन थाल्छन्। आइतबारको फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा पनि त्यस्तै भयो।
पाँच पटकको विश्व विजेता ब्राजिलविरूद्ध हालान्डले खेलभरि धेरै पटक बल छुन पाएनन्, तर जति पटक पाए, त्यसलाई गोलमा बदलिदिए। उनकै दुई गोलको मद्दतले नर्वेले ब्राजिललाई २-१ ले हराउँदै इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायो।
हालान्डले विपक्षीको डि-बक्सभित्र जम्मा ४ पटक मात्र बल छोएका थिए। तर, खेलको ७९औँ मिनेटमा एउटा सुन्दर हेडमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए।
त्यसको ११ मिनेटपछि डि-बक्स बाहिरबाट प्रहार गरेको सशक्त 'लो-ड्राइभ' गोलले उनको क्षमता कति खतरनाक छ भन्ने देखायो। यो विश्वकपमा उनको सातौँ गोल हो, जसले उनलाई गोल्डेन बुटको दौडमा केलियन एमबाप्पे र लिओनल मेसीसँगै शीर्ष स्थानमा पुर्याएको छ।
सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको नर्वेका लागि यो जित सपना जस्तै हो। पाँच पटकको विश्वकप विजेता ब्राजिललाई हराउनु नर्वेको फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता मानिएको छ।
प्रशिक्षक स्टाल सोल्बाकेनको टोली अब विश्वकपको उपाधिभन्दा मात्र तीन जित टाढा छ। अब क्वार्टरफाइनलमा नर्वेको सामना इंग्ल्याण्डसँग हुनेछ।
२५ वर्षीय हालान्डले नर्वेका लागि ५४ खेलमा ६२ गोल गरिसकेका छन्। उनले औसतमा हरेक ७१ मिनेटमा एउटा गोल गरिरहेका छन्।
अझ रोचक कुरा त के छ भने, उनले नर्वेका लागि खेलेका पछिल्ला १४ प्रतिस्पर्धी खेलहरूमा लगातार गोल गरेका छन्। सन् २०२४ को अक्टोबर यता उनले गोल नगरेको कुनै खेल नै छैन।
खेलअघि हालान्ड र ब्राजिलका डिफेन्डर ग्याब्रियलबीचको टक्करको निकै चर्चा थियो। पहिलो हाफमा ग्याब्रियलले हालान्डलाई रोकेर राखे पनि दोस्रो हाफमा हालान्डले उनलाई पछि पारे। हालान्डले ग्याब्रियलकै माथिबाट हेड गरेर पहिलो गोल गरेका थिए भने दोस्रो गोल हुँदा ग्याब्रियल केवल दर्शक मात्र बने।
खेल सकिएपछि हालान्डले समर्थकहरूसँगै बसेर ड्रम बजाउँदै नर्वेको प्रसिद्ध 'भाइकिङ रो' (डुङ्गा खियाउने जस्तो अभिनय गरिने उत्सव) शैलीमा खुसी मनाए।
हालान्डले यो दिनलाई नर्वेको इतिहासकै सबैभन्दा 'पागल बनाउने' र अविस्मरणीय दिन भनेका छन्। नर्वेका सहरहरू ओस्लोदेखि गाउँ-गाउँसम्म अहिले उत्सवको माहोल छ।