फिफा विश्वकप २०२६ मा ऐतिहासिक प्रदर्शन गरेर फर्किएको केप भर्डेको फुटबल टोलीलाई स्वदेशमा दशौँ हजार समर्थकले भव्य स्वागत गरेका छन्। राजधानी उत्रिँदा टोलीलाई स्वागत गर्न समर्थकहरूको विशाल भिड उर्लिएको थियो।
वर्तमान विश्वविजेता अर्जेन्टिनासँगको अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा पराजित भएर बाहिरिए पनि समर्थकहरूका लागि उनीहरू 'विजेता' सरह नै थिए।
विमानस्थल परिसर आइतबार एउटा उत्सव जस्तै देखिएको थियो। समर्थकहरूले ड्रम बजाउँदै, नाच्दै र राष्ट्रिय झण्डा फहराउँदै आफ्ना खेलाडीहरूको सम्मानमा नाराबाजी गरेका थिए।
विश्वभर चर्चा कमाउन सफल गोलकिपर भोजिन्हा भने, ‘आफ्ना मानिसहरूका बीचमा यहाँ हुन पाउनु हाम्रा लागि निकै ठूलो क्षण हो। हामी योभन्दा माथि जान चाहन्थ्यौँ, तर जान सकेनौं। अहिले हामी आफ्ना मानिसहरूसँग यो ऐतिहासिक उपलब्धिको खुसी मनाइरहेका छौँ।’
केप भर्डे विश्वकप खेल्ने इतिहासकै दोस्रो सानो राष्ट्र हो। पहिलो पटक विश्वकपमा सहभागी भए पनि उनीहरूले स्पेन र उरुग्वे जस्ता फुटबलका दिग्गज टोलीहरूलाई रोकेर सबैलाई आश्चर्यमा पारेका थिए। समर्थकहरूले विमानस्थलमा डिफेन्डर पिको लोपेस र क्याप्टेन रायन मेन्डेस जस्ता स्टार खेलाडीहरूको नाम लिँदै उनीहरूप्रति कृतज्ञता व्यक्त गरे।
अर्जेन्टिना विरुद्धको खेलमा केप भर्डेले देखाएको बहादुरीको अहिले पनि चर्चा भइरहेको छ। लियोनेल मेसीको गोलबाट पछि परेको केप भर्डेले उत्कृष्ट पुनरागमन गर्दै १-१ को बराबरी गर्यो र खेललाई अतिरिक्त समयसम्म पुर्यायो।
अतिरिक्त समयमा फेरि पछि परे पनि सिड्नी लोपेस काब्रालको उत्कृष्ट गोलले खेल २-२ को स्थितिमा पुग्यो। तर, दुर्भाग्यवश अन्तिम समयमा क्रिस्टियन रोमेरोको हेड बल केप भर्डेकै डिफेन्डरलाई ठोक्किएर गोल हुन पुग्यो, जसका कारण अर्जेन्टिना विजयी भयो।
टोलीको यो पुनरागमन केप भर्डेको ५१ औँ स्वतन्त्रता दिवससँगै परेको छ। पोर्चुगली औपनिवेशिक शासन अन्त्य भएको ५१ वर्ष पुगेको उपलक्ष्यमा देश उत्सवमा झुमिरहेका बेला फुटबल टोलीको यो सफलताले खुसीलाई झन् बढाएको छ।