फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँगको २-१ को अप्रत्याशित हारपछि ब्राजिलको विश्वकप यात्रा अन्त्य भएको छ। प्रशिक्षक कार्लो अन्सेलोटीले यो हारलाई अन्त्य नभई सन् २०३० को विश्वकपका लागि नयाँ सुरुवात भएको बताएका छन्। सन् १९९० पछि पहिलो पटक ब्राजिल प्रिक्वाटरफाइनलबाटै बाहिरिएको हो।
अन्सेलोटीले भने, ‘हामीले ७० मिनेटसम्म खेल नियन्त्रणमा राखेका थियौँ, तर हालान्डले खेलको नतिजा बदलिदिए। हार एउटा नयाँ साहसिक यात्राको सुरुवात हो, हामीले नयाँ सोचका साथ अघि बढ्नुपर्छ।’
टोलीका कप्तान मार्किन्होसले हारको सम्पूर्ण जिम्मेवारी आफूले लिँदै नयाँ पुस्तालाई सहयोग गर्न समर्थकहरूसँग आग्रह गरेका छन्।
सन् २०१० मा न्यु जर्सीकै मैदानबाट डेब्यू गरेका नेयमारले खेलपछि भावुक हुँदै भने, ‘मैले धेरै कोसिस गरेँ। अब सबै सकियो। यहीँबाट सुरु गरेको थिएँ, यहीँ अन्त्य गरेँ।’
उनको यो भनाइले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको संकेत गरेको अनुमान गरिएको छ। चोट र कम अवसरका बाबजुद उनले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गरेर आफूलाई प्रमाणित भने गरे।
एर्लिङ हालान्डले ब्राजिलविरुद्ध दुई गोल गर्दै नर्वेलाई इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा पुर्याए। उनी अहिले एमबाप्पे र मेस्सीसँगै गोल्डेन बुटको दौडमा ७ गोलसहित शीर्ष स्थानमा छन्।
हालान्डले खेलभरि जम्मा ३० पटक मात्र बल छोए पनि ती मुभहरू ब्राजिलका लागि घातक सावित भए। उनले नर्वेका लागि ५४ खेलमा ६२ गोल पुर्याउँदै आफ्नो नाम इतिहासमा स्वर्ण अक्षरले लेखाइसकेका छन्।
प्रशिक्षक अन्सेलोटीले ब्रुनो गुइमारेसलाई मैदानबाट निकाल्ने निर्णय ब्राजिलका लागि महँगो सावित भयो। उनको स्थानमा आएका एडरसन र ड्यानिलोले खेलमा खासै प्रभाव पार्न सकेनन्। युवा स्टार एण्ड्रिकले पाएको सुनौलो अवसरमा गोल गर्न नसक्नु र गुइमारेसको पेनाल्टी मिस हुनु ब्राजिल बाहिरिनुको मुख्य प्राविधिक कारण बन्यो।