फिफाले अमेरिकी खेलाडीको प्रतिबन्ध फुकुवा गरेसँगै बेलायती सांसदहरूले आफ्ना डिफेन्डर जरेल क्वान्सा माथि लागेको प्रतिबन्ध हटाउन माग गरेका छन्।
बोस्निया र हर्जगोभिना विरूद्धको खेलमा रातो कार्ड पाएका अमेरिकी फुटबल टोलीका स्ट्राइकर फोलारिन बालोगनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधमा प्रतिबन्ध फुकुवा गरिएको थियो।
यसरी ट्रम्पकै अनुरोधमा रातो कार्ड पाएका बालोगनको प्रतिबन्ध फुकुवा भएपछि बेलायती सांसदले पनि सोमबार इंग्ल्यान्डका डिफेन्डर जरेलमाथि लगाइएको प्रतिबन्ध फुकुवाको माग गरेका हुन्।
रोयटर्सका अनुसार लेबर पार्टीका सांसद नोहा लले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र लेख्दै जरेललाई रातो कार्ड पछि लगाइएको प्रतिबन्धलाई विश्वकप नसकिँदासम्मलाई स्थगन गर्न माग गरेका हुन्।
‘जरेल क्वान्साले रातो कार्ड पाउनु उचित थियो भन्ने मेरो विश्वास छ। तर, उनको निलम्बन भने यो विश्वकप सम्पन्न भएपछि मात्र लागू गरिनु उचित हुन्छ भन्ने पनि मेरो धारणा छ,’ उनले लेखेका छन्।
अर्की सांसद मेलानी अनले पनि फिफालाई पत्र लेख्दै अमेरिकी खेलाडी बालोगनले पाएको छुट देखाउँदै आफ्ना खेलाडी जरेललाई लगाइएको प्रतिबन्ध रोक्न माग राखेकी छिन्।
इन्गलिस फुटबल एशोसिएशनले जरेललाई दिइएको रातो कार्डबारे अपिल गर्ने वा नगर्ने बारे विचार गरिरहेको छ। आइतबार मेक्सिकोविरूद्ध भएको खेलमा जरेलले रातो कार्ड पाएका थिए। ५४औं मिनेटमा भार रिभ्यु गरी जरेललाई रेफ्रीले रातो कार्ड देखाएका थिए।
उक्त कार्ड पाएसँगै जरेलले एक खेल खेल्न पाउने छैनन्।
हाउस अफ कमन्स कल्चर, मिडिया र स्पोर्ट्स कमिटीकी अध्यक्ष क्यारोलिन डाइनेजले बालोगनमाथिको प्रतिबन्ध स्थगित गर्ने निर्णयबारे तत्काल स्पष्ट पार्न फिफासँग माग गरेकी छन्।
‘इङ्ग्ल्यान्डले आज बिहान प्रेरणादायी जित हासिल गर्दै विश्वकपको उत्कृष्ट पक्ष प्रस्तुत गरेको छ। तर, फिफाको यो निर्णयले विश्वभर फुटबलको उत्सवका रूपमा मनाइनुपर्ने प्रतियोगितामाथि कालो छायाँ पार्ने खतरा उत्पन्न गरेको छ,’ उनले भनिन्, ‘खेलको अर्थ रहिरहन त्यसका नियम र कानुन सबै टोलीमा समान रूपमा लागू हुनुपर्छ। फिफाले आफ्नो निर्णयको आधार तत्काल सार्वजनिक गर्नुपर्छ र यस प्रक्रियामा राजनीतिक हस्तक्षेप भएको हुन सक्ने आशंकाबारे पनि स्पष्ट जवाफ दिनुपर्छ।’
फिफाले भने बालोगनसम्बन्धी मुद्दामा आफ्नो न्यायिक निकायले स्वतन्त्र रूपमा निर्णय गरेको बताएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले बालोगनलाई रातो कार्ड दिएसँगै लागेको प्रतिबन्ध फुकुवाका लागि फिफाका अध्यक्ष जियानीसँग कुराकानी गरेको समाचारहरू बाहिरिएका थिए।
अमेरिकी सरकार र कानुनी टिमको ठूलो दबाबपछि फिफाले आफ्नो नियम विपरीत यो निर्णय लिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।
युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले फिफाको यो कदमले 'लक्ष्मण रेखा नाघेको' बताएको छ। युइएफएले भनेको छ, ‘फुटबल नियममा चल्छ। रातो कार्डपछिको एक खेलको प्रतिबन्ध अनिवार्य हो, यो कसैको इच्छामा हुने कुरा होइन। फिफाले नियमको रक्षा गर्न नसक्दा खेलको इमानदारी र विश्वसनीयतामाथि नै प्रश्न उठेको छ।’
लिभरपुलका पूर्व प्रशिक्षक जुर्गेन क्लोपले यसलाई ‘पागलपन’ भन्दै आलोचना गरे। उनले भने, ‘यो खेल हाम्रो हो, ट्रम्प वा इन्फान्टिनोको होइन। फुटबलको ज्ञान नभएका मानिसहरूले यस्तो निर्णय गर्नु लज्जास्पद हो।’
बेल्जियमको पुनरावेदनमाथि सोमबार खेल सुरु हुनुअघि नै फैसला आउन सक्छ। तर, फिफाले त्यसको ग्यारेन्टी भने दिएको छैन। अहिले फिफा र युइएफए बीचको सम्बन्ध निकै चिसिएको छ।