चार्लेस डी केटलारेले दुई गोल गरेपछि बेल्जियमले आयोजक संयुक्त राज्य अमेरिकालाई फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा पराजित गर्दै विश्वकपबाट बाहिर पठाएको छ।
खेलको नवौँ मिनेटमा निकोलस रास्किनको पासलाई सदुपयोग गर्दै डी केटलारेले गोल गरेर बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ३१ औँ मिनेटमा अमेरिकाले खेललाई बराबरीमा ल्यायो।
मलिक टिलम्यानले प्रहार गरेको फ्रि-किक बेल्जियमका खेलाडी हान्स भानकेनलाई लाग्दै दिशा परिवर्तन भएर गोलमा परिणत भएको थियो।
अमेरिकाले बराबरी गरेको दुई मिनेट पनि बित्न नपाउँदै बेल्जियमले फेरि अग्रता लियो। लियान्द्रो ट्रोसार्डको क्रसमा डी केटलारेले हेडमार्फत उत्कृष्ट गोल गर्दै स्कोर २-१ बनाए।
दोस्रो हाफमा अमेरिकी गोलकिपर म्याट फ्रिजको गल्ती बेल्जियमका लागि उपहार सावित भयो। फ्रिजले बल क्लियर गर्न ढिलाइ गर्दा डी केटलारेले उनीबाट बल खोसे र सोही बलमा हान्स भानकेनले पेनाल्टी बक्स बाहिरबाट प्रहार गर्दै बेल्जियमका लागि तेस्रो गोल गरे।
खेलको अन्तिम समय (९३औँ मिनेट) मा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका रोमेलु लुकाकुले कठिन कोणबाट प्रहार गर्दै चौथो गोल थपे र बेल्जियमको ४-१ को जित निश्चित गरे।
यसअघि मेक्सिको र क्यानडा पराजित भई बाहिरिसकेकाले प्रतियोगितामा बाँकी रहेको एक मात्र आयोजक राष्ट्र अमेरिका थियो। माउरिसियो पोचेटिनोको प्रशिक्षणमा रहेको अमेरिकी टोली सन् २००२ पछि पहिलो पटक क्वाटरफाइनल पुग्ने लक्ष्यमा भए पनि घरेलु दर्शकमाझ सोचेजस्तो प्रदर्शन गर्न सकेन।
अब बेल्जियमले शुक्रबार लस एन्जलसमा हुने क्वाटरफाइनलमा स्पेनको सामना गर्नेछ। स्पेनले यसअघि पोर्चुगललाई १-० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।