फुटबल इतिहासकै एक उत्कृष्ट खेलाडी आफ्नो करिअरको सुखद अन्त्य गर्नबाट चुकेका छन्।
पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोको अन्तिम विश्वकप यात्रा स्पेनसँग अन्तिम १६ को खेलमा १-० को हारसँगै टुंगिएको छ।
स्पेनका मिकेल मेरिनोले इन्जुरी समयमा गरेको निर्णायक गोलले छिमेकी देश स्पेनलाई अगाडि बढाउँदा अमेरिकाको डलासमा रोनाल्डोको विश्वकप कथा आँसुका साथ समाप्त भयो।
४१ वर्षका रोनाल्डोले पाँच पटक बालोन डी'ओर, पाँच पटक च्याम्पियन्स लिग र सन् २०१६ मा युरो कप जितेका छन्। उनले आफ्नो क्लब र देशका लागि विश्व कीर्तिमानी ९७६ गोल गरेका छन् र ६ वटा विश्वकपमा गोल गरेर कीर्तिमान कायम गरेका छन्।
यति हुँदाहुँदै विश्वकप ट्रफी उचाल्ने सपना भने पूरा भएन। उनी विश्वकपको सबभन्दा नजिक पुगेको सन् २००६ मा हो, जब पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो।
रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप हुने कुरा पहिल्यै घोषणा गरिसकेका थिए। यसपछि देशका लागि खेलिरहने कि नरहने भन्ने प्रश्नमा उनले भने, 'म परिवारसँग समय बिताउनेछु र शान्त दिमागले निर्णय लिनेछु।'
प्रशिक्षक मार्टिनेजले पनि खेल सकिएलगत्तै आफ्नो पद छाड्ने घोषणा गरे र फुटबलका 'आइकन' रोनाल्डोको प्रशंसा गरे।
मार्टिनेजले भने, 'उनले यस विश्वकपमा जे गर्ने प्रयास गरे, त्यसका लागि हामीले उनलाई धन्यवाद दिनुपर्छ। यस विश्वकप जित्ने उनको सपना थियो र उनले एउटा उत्कृष्ट उदाहरण पेस गरे। उनी फुटबल र त्यो खेलाडी पछाडि रहेको मानवीय गुणको एउटा उत्कृष्ट उदाहरण हुन्।'
के रोनाल्डोले खेल्नुपर्थ्यो?
स्पेनविरूद्ध ९० मिनेटको खेलमा रोनाल्डोले मात्र १९ पटक बल छोए, जसमा तीनवटा प्रहार र एउटा असिस्ट सामेल थियो। पछिल्ला केही ठूला प्रतियोगितामा रोनाल्डोलाई सुरूआती ११ मा खेलाउने कि नखेलाउने भन्ने विषय ठूलो बहसको रूपमा रहँदै आएको छ।
उनले देशका लागि १४६ गोल गरेका छन्, जुन पुरूषतर्फको अन्तर्राष्ट्रिय फुटबलमा एउटा कीर्तिमान हो। तर हालैका दिनमा आलोचकहरूले उनले गोल बाहेक टोलीलाई अरू केही दिन नसकेको टिप्पणी गर्न थालेका छन्। उनको ख्याति र कद खेलभन्दा माथि भएकाले मार्टिनेजले उनलाई टोलीबाट हटाउने आँट गर्न सकेनन्।
विश्वकै उत्कृष्ट डिफेन्डर र मिडफिल्डर भएको टोलीले अन्तिम १६ भन्दा माथि पुग्ने आशा गरेको हुनुपर्छ। टोलीका चार खेलाडी—लेफ्ट ब्याक नुनो मेन्डेस, मिडफिल्डर भिटिन्हा र जोआओ नेभेस, तथा स्ट्राइकर गोन्सालो रामोसले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पछिल्ला दुई च्याम्पियन्स लिग जिताउन मद्दत गरेका थिए। म्यानचेस्टर युनाइटेडका ब्रूनो फर्नान्डेज प्रिमियर लिगका उत्कृष्ट खेलाडी थिए।
क्रिस सटनले प्रश्न गरे, 'गोन्सालो रामोसले मैदानमा आउने मौका किन पाएनन्? यो प्रशिक्षकको पूर्ण असफलता हो, उनी केवल आफ्नो स्टार खेलाडीको चित्त बुझाउन लागिपरे। रोनाल्डो पोर्चुगलको इतिहासकै सबभन्दा सफल खेलाडी हुन्, तर प्रशिक्षक त्योभन्दा बलियो हुनुपर्थ्यो।'
रोनाल्डोले यस प्रतियोगितामा उज्वेकिस्तान विरूद्ध दुई गोल र क्रोएसिया विरूद्ध पेनाल्टी मार्फत एक गोल गर्दै जम्मा तीन गोल गरे। तर १० जना खेलाडीले उनीभन्दा बढी गोल गरे पनि २०२६ विश्वकपमा मात्र चार जना खेलाडीले रोनाल्डोको १८ शट्स भन्दा बढी प्रहार गरेका थिए।
रोनाल्डोले सात गोल गरिसकेका अर्लिङ हालान्ड बराबरकै प्रहारहरू गरे, तर पाँच खेलमा उनले आफ्ना साथीहरूका लागि मात्र एउटा अवसर सिर्जना गर्न सके।
पोर्चुगलका पाँच खेलका कुल समयमध्ये मात्र ९ मिनेट बाहेक सबै समय मैदानमा बिताए पनि विश्वकपका ३६६ खेलाडीले रोनाल्डोभन्दा बढी पटक बल छोएका थिए।
मार्टिनेजले भने उनको बचाउ गर्दै भने, 'जब तपाईंलाई गोलको आवश्यकता हुन्छ, तपाईं क्रिस्टियानोलाई मैदान बाहिर निकाल्न सक्नुहुन्न। कम्तीमा ९० मिनेटसम्म उनी शारीरिक रूपमा सक्षम छन्—उनको उपस्थिति, खाली ठाउँ बनाउने क्षमता र डेड-बल (फ्रि-किक/पेनाल्टी) को स्थितिमा हामीलाई उनको अनुभव चाहिन्छ।'
मेसीसँगको बहस
स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसका पूर्व फरवार्ड रोनाल्डो र उनका पुराना प्रतिद्वन्द्वी लियोनेल मेसीको लोकप्रियताले फुटबल प्रशंसकहरूको शैली नै परिवर्तन गरिदिएको छ।
धेरै मानिसहरू कुनै एउटा क्लबलाई समर्थन गर्नुभन्दा रोनाल्डो वा बार्सिलोनाका लिजेन्ड मेसीका प्रशंसक हुन रूचाउँछन्। उनीहरूको यो प्रतिद्वन्द्वितालाई बिबिसीको एउटा वृत्तचित्रमा पनि देखाइएको थियो।
यी दुईमध्ये इतिहासकै सर्वोत्कृष्ट खेलाडी (गोट) को हुन् भन्ने बहसमा कुनै पनि प्रशंसक आफ्नो विचारबाट पछि हट्ने छैनन्। तर २०२२ सम्म दुवैमाथि एउटा प्रश्न उठ्ने गर्थ्यो — उनीहरूले कहिल्यै विश्वकप जितेका थिएनन्, जुन ट्रफी पेले र डिएगो म्याराडोना दुवैले उचालेका थिए।
मेसीले २०२२ मा कतारमा अर्जेन्टिनासँग विश्वकप जितेर त्यो खडेरी तोडे, तर अब रोनाल्डो विश्वकप नजिती नै सन्यास लिनेछन्।
अहिले रोनाल्डो साउदी अरब र मेसी इन्टर मियामीसँग अमेरिकामा आफ्नो खेलजीवनको अन्तिम चरणमा छन्। तर यस चरणमा पनि मेसीको प्रभाव बढी देखिन्छ। उनी सात गोलका साथ शीर्ष गोलकर्ता छन्, जुन उनले २०२२ मा गरेको गोल बराबर हो। रोनाल्डोले भने यी दुई विश्वकप मिलाएर चार गोल मात्र गरेका छन्।
रोनाल्डोका म्यानचेस्टर युनाइटेडका पूर्व सहकर्मी वेन रूनीले भने, 'उनी एक प्रतिभावान खेलाडी र सुपरस्टार हुन्। उनले फुटबल र लाखौं मानिसहरूलाई जे दिएका छन्, त्यो विरलै पाइन्छ। उनी निराश हुनेछन् किनभने उनलाई यो प्रतियोगिता जित्न सक्छु भन्ने विश्वास थियो। तर समयले कसैलाई छोड्दैन। यो फुटबलका लागि एउटा दुखद दिन हो।'
रोनाल्डोको दीर्घायु
आफ्नो लामो खेल जीवनका कारण रोनाल्डोको नाममा अझै पनि केही विश्वकप कीर्तिमानहरू छन्। उनी ६ वटा विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी हुन् र मेसीसँगै ६ वटा विश्वकप खेल्ने दुई खेलाडीमध्ये एक हुन्। उनको ११ गोलले उनलाई विश्वकप इतिहासको सर्वकालीन गोलकर्ताको सूचीमा नवौं स्थानमा राख्छ, जहाँ मेसी २० गोलका साथ शीर्ष स्थानमा छन्।
तर तीमध्ये केवल एउटा गोल मात्र नकआउट चरणमा भएको थियो—यस वर्षको अन्तिम ३२ को खेलमा क्रोएसिया विरूद्धको पेनाल्टी।
सन् २०२२ को विश्वकपको नकआउट चरणमा तत्कालीन प्रशिक्षक फर्नान्डो सान्तोससँगको विवादपछि रोनाल्डोलाई बेन्चमा राखिएको थियो, जुन सन् २००८ पछि पहिलो पटक उनी सुरूवाती ११ मा नपरेको खेल थियो।
क्रिस सटनले थपे, 'गत विश्वकपको अन्तिम १६ मा गोन्सालो रामोसले खेलेका थिए र ह्याट्रिक गरेका थिए, जब प्रशिक्षकले रोनाल्डोलाई बाहिर राख्ने साहस देखाएका थिए। अहिले हामी चार वर्ष अगाडि छौं, रोनाल्डो चार वर्ष जेठा छन् र हेर्नुहोस् के भयो।'
खेलपछि बीबीसीसँग कुरा गर्दै पोर्चुगलका फ्यानहरू रोनाल्डोको विश्वकप यात्रा यसरी समाप्त भएकोमा दुखी थिए।
एक फ्यानले भने, 'मेरो एउटा सपना रोनाल्डोलाई प्रत्यक्ष खेल्दै हेर्नु थियो। म उनलाई देख्न पाउँदा खुसी भएँ। उनको हाम्रा लागि ठूलो महत्त्व छ। म निकै भावुक छु। यस पटक हाम्रो भाग्यले साथ दिएन। रोनाल्डोले जे गरे त्यो सुन्दर थियो। हामीले रूनु पर्दैन, हामीले उनलाई खेल्दै देख्न पायौं, त्यसैले हाँस्नुपर्छ।'
मार्टिनेजले पोर्चुगल टोली छाडे
पूर्व स्वान्सी, विगान र एभर्टनका प्रशिक्षक मार्टिनेजले २०१६ देखि २०२२ सम्म बेल्जियम र २०२३ देखि पोर्चुगलको टोली सम्हालेका थिए। यी स्पेनिस प्रशिक्षकले २०१८ मा बेल्जियमलाई विश्वकपको सेमिफाइनलसम्म पुर्याएका थिए, जहाँ उनीहरू फ्रान्ससँग हारेका थिए। तर २०२२ मा उनीहरू समूह चरणबाटै बाहिरिए।
उनले गत वर्ष पोर्चुगलसँग नेसन्स लिग जितेका थिए तर यस विश्वकपको बहिर्गमनपछि उनले टोली छाडेका छन्। उनले भने, 'म विश्वकप जित्ने उद्देश्यका साथ पोर्चुगल आएको थिएँ र मैले यो जित्न नसकेकाले अब यहाँ निरन्तरता दिनुको कुनै अर्थ छैन। मेरो सम्झौता आजै समाप्त हुन्छ।'
सटनले थपे, 'उनको काम विश्वकप जित्ने प्रयास गर्नु र पोर्चुगलका लागि उत्कृष्ट टोली मैदानमा उतार्नु थियो। के उनले त्यो गरे? बिल्कुलै गरेनन्। उनले यस टोलीलाई जसरी सम्हाले, त्यो लाजमर्दो छ। उनले बेल्जियमको त्यो 'गोल्डेन जेनेरेसन' (सुनौलो पुस्ता) सँग ठूलो सफलता पाउने अवसर हुँदाहुँदै पनि टोली बिगारेका थिए। र अहिले पोर्चुगलमा, एक प्रशिक्षकले यसरी काम गरेको देख्नु दयनीय थियो।'