फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले पाराग्वेकी एक महिला सांसदलाई ‘घृणित’ र आफ्नो पदका लागि ‘अयोग्य’ भन्दै कडा निन्दा गरेका छन्।
ती सांसदले एमबाप्पेको पुर्ख्यौली पृष्ठभूमि (अफ्रिकी मूल) र शिक्षालाई लिएर अपमानजनक एवं जातिवादी टिप्पणी गरेकी थिइन्।
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्ससँग पाराग्वे पराजित भएपछि पाराग्वेको 'लिबरल रेडिकल पार्टी' की सांसद सेलेस्टे अमरिल्लाले सामाजिक सञ्जाल एक्समा एमबाप्पे लक्षित जातिवादी पोस्ट गरेकी थिइन्।
आफूमाथि भएको अपमानको कडा जवाफ दिँदै एमबाप्पेले लेखेका छन्,‘श्रीमती सेलेस्टे अमरिल्ला, तपाईं एक घृणित महिला हुनुहुन्छ र आफ्नो पदका लागि पूर्ण रूपमा अयोग्य हुनुहुन्छ। तपाईंले पाराग्वेको प्रतिनिधित्व गर्नुहुन्न, जसले यो प्रतियोगिताभरि निकै सम्मान र समर्पण देखाएको छ। तपाईंको मूर्खता र खुल्ला जातिवादका कारण आज विश्वले पाराग्वेका खेलाडीहरूको ऐतिहासिक मेहनतलाई बिर्सेर तपाईं जस्तो एक अक्षम महिलाले देखाएको देशको खराब छविलाई मात्र देखिरहेको छ। म यस्ता मानिसहरूलाई संसारभर घृणा र जातिवाद फैलाउने स्वतन्त्रता कहिल्यै दिने छैन।’
फ्रान्सेली फुटबल फेडेरेसनले अमरिल्लाको भनाइलाई ‘अत्यन्तै घृणित र अस्वीकार्य’ भन्दै उनीविरुद्ध फौजदारी मुद्दा दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। फेडेरेसनले भनेको छ, ‘यी टिप्पणीहरू आपराधिक र निन्दनीय छन्। यसमाथि कानुनी कारबाही हुनैपर्छ। फ्रान्सेली टोलीका खेलाडीहरूले देशको प्रतिनिधित्व गर्छन्, त्यसैले यो हाम्रो देशमाथिको अपमान हो।’
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले पनि एमबाप्पेको समर्थनमा पोस्ट गर्दै लेखेका छन्, ‘एमबाप्पेका लागि अर्को एउटा गोल— तर यसपटक जातिवादविरुद्ध। मेरो पूर्ण समर्थन छ। जब शब्दहरूले अपमान गर्छन्, तब हाम्रा मूल्य-मान्यताले जवाफ दिन्छन्।’
यो विवादअघि पाराग्वेका पूर्वगोलरक्षक होसे लुइस चिलाभर्टले पनि फ्रान्सेली टोलीलाई ‘अफ्रिकी टोली’ भन्दै अपमान गरेका थिए। फ्रान्सेली फुटबल फेडेरेसनका अध्यक्ष फिलिप डियालोले चिलाभर्टको आलोचना गर्दै उनलाई ‘फुटबलकै कलंक’ को संज्ञा दिएका छन्।
यी सबै विवादका बीच एमबाप्पेले मैदानमा आफ्नो उत्कृष्ट लय जारी राखेका छन्। शनिबारको खेलमा निर्णायक पेनाल्टी प्रहार गर्दै उनले फ्रान्सलाई क्वार्टरफाइनलमा पुर्याएका छन्, जहाँ अब फ्रान्सले मोरक्कोको सामना गर्नेछ। एमबाप्पे यस विश्वकपमा ७ गोलसहित लियोनेल मेसी र अर्लिङ हालान्डसँगै शीर्ष स्कोररको सूचीमा छन्।