जारी विश्वकपबाट मेसीले थुप्रै रेकर्ड बनाए।
गएराति इजिप्टविरूद्ध गोल गर्दै मेसीले विश्वकपका लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन्।
उनले जारी विश्वकपका सबै खेलमा गोल पनि गरेका छन्।
समूह चरणमा अल्जेरियाविरूद्ध तीन गोल गरेर विश्वकपमा आफ्नो पहिलो ह्याट्रिकको रेकर्ड बनाए।
पाँच खेल खेलिसक्दा व्यक्तिगत ८ गोल गर्दै मेसी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। गोल्डेन बुटको दौडमा फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पे र नर्वेका अर्लिङ हालान्ड समान ७/७ गोल सहित दोस्रो र तेस्रो स्थानमा छन्। दुवै टोली क्वार्टरफाइनल पुगिसकेको छ।
८ पटकको बालोन डि'ओर विजेता ३८ वर्षीय मेसीले जारी विश्वकपबाटै खराब रेकर्ड पनि बनाएका छन्।
उनी पाँच खेल खेल्दा दुइटा पेनाल्टीमा चुकेका छन्।
गएराति इजिप्ट विरूद्ध अर्जेन्टिनाले २०औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो। इजिप्ट १-० गोलले अगाडि रहेको अवस्थामा अर्जेन्टिनाका लागि खेललाई बराबरीको अवस्थामा ल्याउनका लागि सो पेनाल्टी अत्यन्त महत्त्वपूर्ण थियो।
तर त्यहाँ चुके मेसी। मेसीले प्रहार गरेको दिशामै डाइभ हानेर इजिप्टका गोलकिपर मुस्तफा सुबिरले गोल बिफल पारे। त्यसपछि मेसी केही निराश देखिए।
यसअघि मेसीले समूह चरणको खेलमा अस्ट्रिया विरूद्ध पेनाल्टी मिस गरेका थिए। त्यतिबेला आठौं मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेसीको प्रहार गोल हुन सकेन।
अस्ट्रियाविरूद्ध चुक्दा मेसीले विश्वकपमा सर्वाधिक पेनाल्टी मिस गर्ने खेलाडीको खराब कीर्तिमान बनाएका थिए।
अघिल्ला विश्वकपमै मेसीले दुइटा पेनाल्टी मिस गरेका थिए। उनले सन् २०२२ मा पोल्यान्डविरुद्ध र २०१८ मा आइसल्यान्डविरुद्ध पनि पेनाल्टी पाउँदा गोल गर्न सकेका थिएनन्।
गएरातिको खेलबाट उनले त्यो भन्दा खराब रेकर्ड आफ्नो नाम गरे।
उनी विश्वकपको एउटै संस्करणमा दुइटा पेनाल्टी मिस गर्ने पहिलो खेलाडी बनेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अन्तर्राष्ट्रिय फुटबलमा मेसीले ३२ पेनाल्टीमध्ये २५ गोल गरेका छन्। क्लब र राष्ट्रिय टोलीका सबै खेल जोड्दा उनले १५० पेनाल्टी प्रहार गर्दा ११६ गोल गरेका छन्। यसरी पेनाल्टीमा उनको ७७ प्रतिशत सफलता दर विश्वस्तरका शीर्ष खेलाडीहरूको औसत भन्दा कम मानिन्छ।
मेसी किन चुक्छन् पेनाल्टीमा?
विश्लेषकहरूका अनुसार मेसीको पेनाल्टी खेर जानुमा उनको शैली कारक हो।
धेरै खेलाडीले पेनाल्टी प्रहारअघि नै कुन दिशामा हान्ने भन्ने निर्णय गरिसकेका हुन्छन्। तर मेसी प्रायः गोलरक्षकको चाल हेरेर अन्तिम क्षणमा निर्णय गर्ने प्रयास गर्छन्।
यसले उनको प्रहार गोलकिपरका लागि त अप्रत्याशित बनाउँछ, तर कहिलेकाहीँ आफू र टिमका लागि प्रत्युत्पादक हुन्छ भनेर विश्लेषकहरू बताउँछन्।
अस्ट्रियाविरुद्धको खेलमा गोलरक्षक अलेक्जेन्डर स्क्लजरले अन्तिम क्षणसम्म आफ्नो स्थिति नबदल्दा मेसी दबाबमा परेका थिए।
गोलरक्षकलाई छल्ने प्रयासमा उनले बल पोस्ट बाहिर प्रहार गरे।
खेलपछि मेसीले पनि यो कुरा स्वीकार गरेका छन्।
'म रिसाएको थिएँ। मैले बल निकै खराब तरिकाले प्रहार गरेँ,' अस्ट्रिया विरूद्धको खेलपछि मेसीले भनेका थिए।
पेनाल्टी विज्ञ गियर जोर्डेटका अनुसार मेसीले गोल रक्षकको चाल हेरेर निर्णय गर्ने भएकाले अन्तिम क्षणमा सटको नियन्त्रण गुम्ने जोखिम बढी हुन्छ।
'जब खेलाडीको ध्यान बलभन्दा गोलरक्षकतर्फ जान्छ, सटको सटिकता घट्न सक्छ,' उनले द एथ्लेटिकसँग भनेका छन्।
मेसीको अर्को विशेषता भनेको एउटै निश्चित शैलीमा निर्भर नहुनु हो।
कहिले भित्री भाग (इन्स्टेप) बाट, कहिले जोडदार प्रहार, कहिले पनेन्का प्रहार गर्छन्। यो सिर्जनशीलता खुला खेलमा उनको सबैभन्दा ठूलो शक्ति भए पनि पेनाल्टीमा भने कहिलेकाहीँ कमजोरी बन्ने गरेको विश्लेषकहरूको भनाइ छ।
यद्यपि पेनाल्टीमा कमजोरी देखिए पनि मेसीको समग्र उपलब्धिमा त्यसले ठूलो असर पारेको छैन।
पछिल्लो विश्वकपमा उनले सातमध्ये ६ पेनाल्टी गोल गरेका थिए। फ्रान्स र नेदरल्यान्ड्स विरुद्धको नकआउट चरणमा समेत उनले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।
रोचक कुरा के छ भने मेसीले करिअरभरि धेरै पेनाल्टी गुमाएका भए पनि उनले त्यसको क्षतिपूर्ति मैदानमा अन्य तरिकाले गर्दै आएका छन्।
अस्ट्रियाविरुद्ध पेनाल्टी चुकाए पनि उनले त्यसै खेलमा दुई गोल गर्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाएका थिए।
गएराति इजिप्ट विरूद्ध पेनाल्टीमा चुके पनि ८३ मिनेटमा मेसीले उत्कृष्ट गोल गरी इजिप्टसँग बराबरी गर्दै टिमलाई खेलमा फर्काएका थिए।