फिफा विश्वकप २०२६को गोल्डेन बुटको दौड पछिल्ला संस्करणहरूभन्दा निकै रोमाञ्चक बनेको छ।
यसपालि एउटै खेलाडीले सुरुदेखि अन्त्यसम्म दबदबा बनाउने वा केही खेलाडीबीच सामान्य प्रतिस्पर्धा हुने अवस्था देखिएन।
बरू तीन सुपरस्टार—लिओनेल मेसी, केलियन एमबाप्पे र अर्लिङ हालान्डबीच चर्को प्रतिस्पर्धा देखियो। इंग्ल्याण्डका ह्यारी केन पनि व्यक्तिगत खातामा गोल थप्दै प्रतिस्पर्धामा आइरहेका छन्।
क्वार्टरफाइनल खेल सुरू हुनुअघि अर्जेन्टिनी स्टार मेसी ८ गोल सहित शीर्ष स्थानमा छन्। उनले अन्तिम १६ मा इजिप्ट विरूद्धको खेलमा एक असिस्ट पनि गरेका छन्।
एमबाप्पे र हालान्ड समान सात–सात गोलसहित उनलाई पछ्याइरहेका छन्। केनले ६ गोल गरेका छन्।
विश्वकप इतिहास हेर्दा ८ वा त्यसभन्दा बढी गोल गर्नु आफैंमा दुर्लभ उपलब्धि हो। झन्डै एक सय वर्षको विश्वकप इतिहासमा यसअघि केवल आठ खेलाडीले मात्रै एउटै संस्करणमा कम्तीमा आठ गोल गरेका थिए।
जस्ट फन्टेन, सान्दोर कोचिस, गर्ड मुलर, अडेमिर, एउसेबियो, गिलेर्मो स्टाबिले, रोनाल्डो र किलियन एमबाप्पे।
अझ रोचक कुरा, एमबाप्पे, हालान्ड र केन पनि त्यही सूचीमा पुग्ने सम्भावना कायम छ।
त्यसैले यसपटकको गोल्डेन बुटको प्रतिस्पर्धालाई पछिल्ला दशककै सबैभन्दा रोमाञ्चक मानिएको छ।
पछिल्ला विश्वकपका गोल्डेन बुट विजेताको गोल संख्या हेर्दा यसपटकको प्रतिस्पर्धा अझ असाधारण देखिन्छ।
२००६ मा मिरोस्लाभ क्लोज पाँच गोलसहित गोल्डेन बुट विजेता बनेका थिए।
२०१० मा थोमस मुलरले पनि पाँच गोलमै पुरस्कार जितेका थिए। २०१८ मा ह्यारी केनले ६ गोलसहित गोल्डेन बुट जितेका थिए भने २०२२ मा एमबाप्पेले आठ गोल गरेका थिए।
तर यसपटक क्वार्टरफाइनलअघि नै चार खेलाडी त्यही हाराहारीमा पुगिसकेका छन्।
गोल्डेन बुटको निर्णय केवल गोल संख्याबाट मात्रै हुँदैन।
यदि दुई वा बढी खेलाडीको गोल बराबर भयो भने पहिले असिस्ट हेरिन्छ। त्यसपछि पनि बराबरी भए कम समय खेलेको खेलाडी विजेता घोषित हुन्छ।
हाल एमबाप्पेको नाममा दुई असिस्ट छन् भने मेसी र केनले एक–एक असिस्ट गरेका छन्।
हालान्डले भने अहिलेसम्म असिस्ट गरेका छैनन्। यदि गोल संख्या बराबरी भयो भने यी तथ्य निर्णायक बन्न सक्छन्।
मेसीले आठ गोल गर्दा ४१० मिनेट खेले।
उनले २९ प्रहारमध्ये १७ पटक लक्ष्यमा प्रहार गरेका छन्। अपेक्षित गोल (एक्सजी) ५.०२ भए पनि उनले आठ गोल गर्दै अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गरेका छन्। समूह चरणमा उनले ६ गोल गरेका थिए भने नकआउट चरणमा थप दुई गोल गरेका छन्।
एमबाप्पे सात गोल र दुई असिस्टसहित फ्रान्सको आक्रमणको नेतृत्व गरिरहेका छन्।
उनले ४४१ मिनेटमा २६ प्रहार गरेका छन्। तीमध्ये १७ प्रहार लक्ष्यमा पुगेका छन्। समूह चरणमा चार तथा नकआउट चरणमा तीन गोल गरेका उनले लगातार दोस्रो विश्वकपमा आठ वा त्यसभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बन्ने अवसर पनि जोगाएका छन्।
विश्वकप डेब्युमै हालान्डले सात गोल गरेर सबैलाई प्रभावित पारेका छन्। उनले केवल ३६० मिनेट खेलेका छन्। जुन चार प्रतिस्पर्धीमध्ये सबैभन्दा कम हो। उनले गरेका १८ प्रहारमध्ये १२ लक्ष्यमा पुगेका छन्। गोलमा परिणत गर्ने दर ३८.९ प्रतिशत रहेको छ, जुन शीर्ष चार खेलाडीमध्ये सर्वाधिक हो। ४.३ एक्सजीमा सात गोल गर्नुले पनि उनको उत्कृष्ट फिनिसिङ देखाउँछ।
केनले ४४३ मिनेटमा ६ गोल र एक असिस्ट गरेका छन्।
उनले गरेका १९ प्रहारमध्ये १० प्रहार लक्ष्यमा पुगेका छन्। उनले पाएका दुवै पेनाल्टीलाई गोलमा परिणत गरेका छन् भने उत्कृष्ट अवसरलाई गोलमा बदल्ने दर ५७.१ प्रतिशत छ, जुन चार प्रतिस्पर्धीमध्ये सबैभन्दा उच्च हो।
२०१८ मा गोल्डेन बुट जितेका केन यसपटक पनि त्यो सफलता दोहोर्याउने प्रयासमा छन्।
क्वार्टरफाइनलका खेलहरू भोलि बिहानदेखि सुरू हुनेछ। पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दैछन्। एमबाप्पेलाई फ्रान्सलाई जिताउँदै गोल्डेन बुटको यात्रा अझै अगाडै लैजाने अवसर छ।
सेमिफाइनल र फाइनलसम्म यात्रा तय भएको खण्डमा एम्बाप्पेको खातामा अझै गोल थपिने सम्भावना रहन्छ।
मेसीको अर्जेन्टिनाले स्विट्जरल्याण्डसँग खेल्ने भएकाले उनलाई पनि खेल जित्दै व्यक्तिगत खातामा गोल संख्या बढाउने अवसर छ।
हालान्ड र केनमध्ये एक जना भने क्वार्टरफाइनलबाटै घर फर्कने छन्। क्वार्टरफाइनलमा यी नर्वेले इंग्ल्याण्डसँग खेल्ने भएकाले एक जनाको गोल्डेन बुट यात्रा टुंगिने छ।
नर्वेले जितेको खण्डमा गोल्डेन बुटको प्रतिस्पर्धा अझै रोमाञ्चक बन्नेछ।