कप्तान केलियन एमबाप्पेले फिफा विश्वकपल २०२६ मा आफ्नो आठौँ गोल गर्दै फ्रान्सलाई सेमिफाइनलमा पुर्याएका छन्।
अन्तिम आठको खेलको सुरुवातमै पेनाल्टी चुकाए पनि उनले पछि उत्कृष्ट गोल गर्दै त्यसको कसर पुरा गरे। मोरक्कोलाई २-० ले हराउँदै साविक उपविजेता फ्रान्सले आफ्नो लयलाई कायम राखेको छ।
पहिलो हाफमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर नउसेर मजराउईले एमबाप्पेलाई 'फाउल' गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। तर, एमबाप्पेको फितलो प्रहारलाई मोरक्कोका गोलकिपर यासिन बोनोले सजिलै बचाए।
तर ६०औँ मिनेटमा एमबाप्पेले गल्ती सुधारे। उनले पेनाल्टी एरियाको ठीक भित्रबाट उत्कृष्ट 'कर्लिङ' प्रहार गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाए। त्यसको ६ मिनेटपछि नै उस्मान डेम्बेलेले मोरक्कोको रक्षापंक्तिलाई छक्याउँदै दोस्रो गोल गरे। बोनोले बललाई छुने प्रयास गरे पनि उनले रोक्न सकेनन्।
यो गोलसँगै एमबाप्पेले यस प्रतियोगितामा अर्जेन्टिनाका लियोनेल मेसीको ८ गोलको बराबरी गरेका छन्। तर, बढी 'असिस्ट' (गरेका कारण एमबाप्पे अहिले 'गोल्डेन बुट' को दौडमा अगाडि छन्।
विश्वकपको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानका लागि पनि मेसी र एमबाप्पेबीच कडा प्रतिस्पर्धा देखिएको छ। ३९ वर्षीय मेस्सीको नाममा २१ गोल छ भने २७ वर्षीय एमबाप्पे २० गोलमा पुगिसकेका छन्।
विश्व वरीयतामा सातौँ स्थानमा रहेको मोरक्को यस खेलमा निकै दबाबमा देखियो। फ्रान्सले खेलभरि प्रभुत्व जमाउँदा मोरक्कोले ८३औँ मिनेटमा मात्रै पहिलो पटक पोस्टको दिशामा प्रहार गर्न सकेको थियो। फ्रान्सका लागि एमबाप्पे, डेम्बेले र एड्रियन राबियोले गोलका धेरै अवसरहरू सिर्जना गरेका थिए।
खेलको ७७औँ मिनेटमा एमबाप्पेलाई मैदानबाट बाहिर निकालिँदा उनको दाहिने कुर्कुच्चामा बरफ लगाइएको देखिएको थियो। तर, खेल सकिएपछि उनी साथीहरूसँग खुसीयाली मनाउँदै उफ्रिरहेको देख्दा चोट गम्भीर नभएको अनुमान गरिएको छ।
अब दुई पटकको विश्व विजेता फ्रान्सले सेमिफाइनलमा मंगलबार डलासमा स्पेन वा बेल्जियमसँग खेल्नेछ। फ्रान्स अहिले यो विश्वकप जित्ने सबैभन्दा बलियो दाबेदार देखिएको छ।