डलासमा हुने फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने पक्का भएको छ।
फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा रहनेछ भने स्पेन फ्रान्सलाई लगातार तेस्रो पटक हराएर फाइनल पुग्ने लक्ष्यमा रहनेछ।
त्यसकारण फ्रान्स र स्पेनबीचको यो भिडन्त प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक हुने अपेक्षा गरिएको छ।
किलियन एमबाप्पे, उस्मान डेम्बेले र माइकल ओलिसे सम्मिलित फ्रान्सको आक्रमण लाइन प्रतियोगिताभर निकै घातक देखिएको छ। त्यसको ठीक विपरीत स्पेनको रक्षापंक्ति लगभग अभेद्य बनेको छ।
स्पेनले विश्वकपमा हालसम्म एक गोल मात्र व्यहोरेको छ भने लगातार पाँच खेलमा क्लिन सिट राखेको छ।
हालका दुई भेटमा भने स्पेनले फ्रान्समाथि बाजी मारेको छ।
उसले युरो २०२४ को सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराएको थियो भने २०२५ को यूईएफए नेसन्स लिगको फाइनल चरणमा ५–४ को रोमाञ्चक जित निकालेको थियो।
स्पेन क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै सेमिफाइनल पुगेको हो। लस एन्जलसमा भएको उक्त खेलमा मिकेल मेरिनोले अन्तिम समयमा निर्णायक गोल गरेका थिए।
खेलपछि स्पेनका युवा स्टार लामिन यमालले फ्रान्ससँगको चुनौतीबाट आफूहरू नडराएको बताए।
उनले भने, ‘अब दुईवटा सम्भावना छन्। या त फ्रान्स लगातार तेस्रो विश्वकप फाइनल पुग्छ, या हामी उनीहरूलाई लगातार तेस्रो पटक हराउँछौं। के हुन्छ थाहा छैन, तर हामी फ्रान्ससँग कत्ति पनि डराएका छैनौं।’
बेल्जियममाथिको जितपछि उनले टोलीको लक्ष्य स्पष्ट रहेको पनि बताए।
‘यमालले भने, ‘यो जितबाट म निकै खुसी छु। हामी फेरि सेमिफाइनलमा पुगेका छौं। यही खेल खेल्न र जित्न हामी यहाँ आएका हौं। अब आराम गरेर फ्रान्सविरुद्धको खेलको तयारी गर्ने समय हो।’
बेल्जियमविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ‘यमाल 'सुपेरियर प्लेयर अफ द म्याच' घोषित भएका थिए। यद्यपि १८ वर्षीय ‘यमालका लागि व्यक्तिगत उपलब्धिभन्दा टोलीको सफलता ठूलो रहेको उनले बताए।
उनले भने, ‘म गोल गर्न चाहन्थें, किनभने त्यसले टोलीलाई मद्दत गर्छ। तर मैदानमा म गोलकै बारेमा सोचेर उत्रिँदिनँ। यदि हामीले विश्वकप जित्यौं भने मैले कति गोल गरेँ वा छुटाएँ भन्ने कसैले सम्झने छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा टोलीको जित हो।’
आफ्नो खेलशैलीले पनि टोलीलाई फाइदा पुग्ने उनले बताए।
‘मेरो दौडका कारण धेरै डिफेन्डरहरू मलाई रोक्न आउँछन् र त्यसले मेरा टोलीका खेलाडीलाई खाली ठाउँ मिल्छ। मैले बल छोइनँ भने पनि टोलीलाई फाइदा पुग्छ भने त्यो पनि उत्तिकै महत्त्वपूर्ण हो,’ उनले भने।