फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा शनिबार इंग्ल्यान्डका जुड बेलिंघम र नर्वेका अर्लिङ हालान्ड आमनेसामने हुँदैछन्।
मायामीमा आइतबार बिहान इंग्ल्याण्ड र नर्वेबीच सेमिफाइनलका लागि भिडन्त हुँदैछ।
समर्थकहरूको चासो गोल र नतिजामा मात्र होइन, यी दुई स्टार खेलाडीबीचको लामो मित्रतामा पनि केन्द्रित छ।
बेलिंघम र हालान्ड बोरुसिया डर्टमन्डमा सँगै खेलेका थिए। उनीहरुबीच त्यतिबेलादेखि नै गहिरो मित्रता छ।
हुन त उनीहरू क्लब फुटबलमा भने उनीहरू धेरै पटक आमने-सामने भइसकेका छन्।
डर्टमन्डबाट हालान्ड इंग्लिस टोली म्यानचेस्टर सिटी गएपछि बेलिंघम स्पेनिस टोली रियल म्याड्रिड गएका थिए।
च्याम्पियन्स लिगमा उनीहरूबीच धेरै पटक प्रतिस्पर्धा भएको छ।
तर आइतबार बिहान उनीहरू पहिलो पटक राष्ट्रिय टोलीबाट एक अर्काविरूद्ध मैदान ओर्लिने छन्।
मैदानमा प्रतिस्पर्धा भए पनि मैदान बाहिर उनीहरूबीच गहिरो मित्रता छ।
उनीहरू बालोन डी'ओर लगायत विभिन्न अवार्ड समारोहमा पनि सँगै देखिएका छन्।
हालान्ड र बेलिंघमबीच मित्रता झल्काउने भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
उनीहरूले एकअर्कालाई अँगालो मारेको, गोलपछि सँगै खुसी मनाएको र मैदानमा एकअर्काको साथ दिएको पुराना भिडिओहरू अहिले फेरि समर्थकहरूले साझा गरिरहेका छन्।
सामाजिक सञ्जालमा उनीहरूको मित्रतालाई फुटबलको सबैभन्दा चर्चित 'ब्रोमान्स' भनेर चर्चा गरिएको छ। कुनै समय एउटै टोलीमा रहेकाहरू अहिले प्रतिस्पर्धी बनेर कसरी खेल्नेछन् भन्ने विषयमा समर्थकहरूले विभिन्न टिप्पणी गरिरहेका छन्।
धेरै समर्थकले यो मित्रतालाई फुटबलमा देखिने कटु प्रतिस्पर्धा र सामाजिक सञ्जालमा फैलिने घृणाभन्दा फरक र सकारात्मक उदाहरणका रूपमा लिएका छन्।
सन् २०२१ मा बेसिक्तासमाथि डर्टमन्डको जितपछि हालान्डले बेलिंघमलाई ‘अविश्वसनीय खेलाडी’ भन्दै प्रशंसा गरेको भिडिओ अहिले पनि चर्चामा छ।
जितपछि हालान्ड बेलिंघमको गालामा मजाक गर्दै चुम्बन गरेर हिँडेको दृश्य समर्थकहरूले धेरै साझा गरिरहेका छन्।
यस्तै अर्को चर्चित भिडिओमा विपक्षी खेलाडीले बेलिंघमलाई धक्का दिएपछि हालान्ड उनलाई जोगाउन दौडिएको देखिन्छ।
बिबिसीसँग कुरा गर्दै फुटबल विज्ञ मार्क बोर्कोव्स्कीले अहिलेका युवा फुटबलरहरू अघिल्लो पुस्ताभन्दा फरक भएको बताए।
‘९० र २००० को दशकमा धेरै ब्रान्डले फुटबलरहरूसँग दूरी बनाएका थिए, किनभने उनीहरूको व्यवहार राम्रो मानिँदैनथ्यो। अहिलेको पुस्ता फरक छ। यसमा सामाजिक सञ्जालको पनि ठूलो भूमिका छ,’ उनले भने।
उनका अनुसार बेलिंघम उमेरभन्दा धेरै परिपक्व देखिन्छन् भने हालान्ड पनि सरल पारिवारिक पृष्ठभूमिबाट आएका खेलाडी हुन्।
सामाजिक सञ्जाल विज्ञ मार्क नाभाराले पनि यी दुईको मित्रताले फुटबलरहरूको अर्को मानवीय पक्ष देखाएको बताए।
‘फुटबलको सामाजिक सञ्जाल प्रायः विवाद, कटु प्रतिस्पर्धा र समर्थकबीचको विभाजनले भरिएको हुन्छ। तर यी भिडिओहरूले विश्वकै उत्कृष्ट दुई खेलाडीलाई सामान्य, रमाइला र एकअर्काको सम्मान गर्ने साथीका रूपमा प्रस्तुत गरेका छन्,’ उनले भने।
उनका अनुसार बेलिंघम र हालान्ड मैदानमा एकअर्कालाई हराउन चाहन्छन्, तर त्यसले उनीहरूको मित्रतालाई असर गरेको देखिँदैन।
डर्टमन्डले सन् २०२२ को भ्यालेन्टाइन डेमा सार्वजनिक गरेको एउटा रमाइलो भिडिओ पनि अहिले फेरि चर्चामा छ। त्यसमा दुवैले एकअर्कालाई हास्यास्पद 'पिकअप लाइन' सुनाएका थिए।
मैदानबाहिरको जीवनशैलीले पनि उनीहरूलाई समर्थकमाझ लोकप्रिय बनाएको छ।
बीबीसीका अनुसार अहिले सामाजिक सञ्जालमा फैलिने कटु बहस र ध्रुवीकरणबीच बेलिंघम र हालान्डको मित्रता धेरै समर्थकका लागि सकारात्मक सन्देश बनेको छ।
अब विश्वकपको क्वार्टरफाइनलमा एकजनाको यात्रा रोकिने निश्चित भए पनि, मैदानभित्रको प्रतिस्पर्धाले यी दुई स्टार खेलाडीको लामो मित्रतालाई भने कुनै असर नपार्ने विश्वास समर्थकहरूले गरेका छन्।