दक्षिण अफ्रिकाका मिडफिल्डर जयडेन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ। विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गरेको केही हप्तामै उनको दुखद निधन भएको हो।
एडम्सले विश्वकपको समूह चरणका तीनवटै खेल खेलेका थिए। दक्षिण अफ्रिका उक्त प्रतियोगिताको नकआउट चरणमा पुग्न सफल भएको थियो, जहाँ आयोजक क्यानाडासँग हार बेहोर्दै टोली बाहिरिएको थियो।
दक्षिण अफ्रिकाका खेलकुद, कला तथा संस्कृति मन्त्री गेटन म्याकेन्जीले एक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘जयडेन एडम्सको निधनको खबरले म स्तब्ध भएको छु। दक्षिण अफ्रिकी फुटबलले एक होनहार प्रतिभा गुमाएको छ। उनी एकेडेमीको एउटा आशलाग्दो खेलाडीबाट राष्ट्रिय टोली (बफाना बफाना) को महत्वपूर्ण सदस्य बनेको यात्रालाई नजिकबाट नियाल्ने परिवार, टिमका साथीहरू र लाखौँ समर्थकहरूसँगै सिंगो राष्ट्र शोकमा डुबेको छ।’
प्रहरीका अनुसार शनिबार बिहान केप टाउनको स्कट्चेक्लोफस्थित एउटा घरमा २५ वर्षीय युवकको शव फेला परेपछि अनुसन्धान सुरु गरिएको छ।
मन्त्री म्याकेन्जीले मृत्युको कारण अझै स्पष्ट भइनसकेको जानकारी दिँदै भने, ‘म सञ्चारमाध्यम र सर्वसाधारणलाई संयम अपनाउन र अड्कलबाजी नगर्न अपील गर्दछु। यस कठिन घडीमा उनको परिवार र मामेलोडी सनडाउन्स क्लबको गोपनीयताको सम्मान गरिदिनुहुन अनुरोध छ। आधिकारिक जानकारी उचित समयमा सम्बन्धित पक्षबाटै दिइनेछ।’
एडम्सले सन् २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उनले समूह 'ए' अन्तर्गत चेक गणतन्त्र विरुद्धको खेल खेल्नु केही घण्टाअघि मात्र आफ्नी हजुरआमाको निधन भएको खबर पाएका थिए। तर, सो पीडाका बाबजुद उनले मैदान उत्रिएर खेल खेलेका थिए।
दक्षिण अफ्रिकी फुटबल खेलाडी युनियनले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै भनेको छ, ‘जयडेनले भर्खरै २०२६ को विश्वकपमा गर्व र साहसका साथ राष्ट्रको आशा बोकेका थिए। उनको निधन उनको परिवार, टिम र सिंगो फुटबल क्षेत्रका लागि अपूरणीय क्षति हो।’
एडम्सले आफ्नो खेल जीवनको सुरुवात 'स्टेलेनबोच एफसी' बाट गरेका थिए। जनवरी २०२५ मा उनी 'मामेलोडी सनडाउन्स' मा आबद्ध भए, जहाँ उनले लिग र अफ्रिकन च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए। उनी २०२३ को अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल पुग्ने दक्षिण अफ्रिकी टोलीका सदस्य समेत थिए।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि शोक व्यक्त गर्दै भनेका छन्, ‘विश्वकपको ऐतिहासिक यात्रा लगत्तै जयडेन एडम्सको निधन भएको सुन्दा असाध्यै दुःख लागेको छ। फिफा र विश्व फुटबल जगतको तर्फबाट म उनको परिवार, साथीभाइ र टोलीका सदस्यहरू प्रति समवेदना व्यक्त गर्दछु। उनको अभाव सधैँ खड्किनेछ।’