फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको मायामीमा भएको क्वार्टरफाइनल खेलमा नर्वेलाई अतिरिक्त समयमा २-१ ले पराजित गरेपछि इंग्लिस खेलाडी खुसीसँगै निकै थिक देखिन्थे।
खेलमा जुड बेलिङघमले दुई गोल गरेका थिए। उनी खेलपछि निकै खुसी देखिएका थिए। तर प्रशिक्षक थोमस टुचेल भने टोलीको प्रदर्शनबाट सन्तुष्ट थिएनन्।
‘हामी भाग्यमानी रह्यौँ,’ खेलपछि उनले भने।
खेलमा नर्वेले सुरुवाती अग्रता लिएको थियो। नर्वेले २-० बनाउने सुवर्ण अवसर गुमाएको थियो भने एउटा गोल रद्द भएको थियो। अर्को प्रहार पोलमा लागेर फर्किएको थियो।
टुचेलले थपे, ‘हामीले आफैँले आफैँलाई अप्ठ्यारोमा पार्यौँ। नतिजा त सानदार छ, हामी अन्तिम चारमा पुग्यौँ, यो अद्भुत छ। तर म खेलको प्रदर्शनबाट कुनै पनि हालतमा खुसी छैन। हाम्रो खेल निकै फितलो थियो, धेरै प्राविधिक गल्ती भए, खेलमा न त गति थियो न त निरन्तरता नै।’
इंग्लिस टोली अन्तिम चारमा पुगेको कारणबारे टुचेलले भने, ‘यो केवल बलियो मानसिकताले गर्दा मात्र सम्भव भएको हो।’
प्रशिक्षकको यस आलोचनाबारे सोधिएको प्रश्नमा दुई गोल गरेका बेलिङघमले जवाफ दिए, ‘उहाँलाई जे लागे पनि ठिकै छ। मैदानमा खेल्न निकै गाह्रो थियो, सबै खेलाडीले कडा परिश्रम गरेका छन्। म मेरा सहकर्मीको मिहिनेतको कदर गर्छु। सायद उहाँलाई मैदानको अवस्था थाहा छैन।’
अमेरिकाको मायामीको अत्यधिक गर्मी र रापिलो मौसममा १२२ मिनेटको खेल खेल्नु दुवै टोलीका लागि चुनौतीपूर्ण थियो। सेमिफाइनलअघि अब इंग्लिस रिकभरीका लागि निकै कम समय छ।
बेलिङघ थपे, ‘सायद उहाँलाई यस्तो गर्मीमा एर्लिङ हालान्ड, मार्टिन ओडेगार्ड र एन्टोनियो नुसाजस्ता खेलाडीविरुद्ध खेल्नु कस्तो हुन्छ भन्ने थाहा छैन होला। नर्वे कमजोर टोली होइन। सधैँ एक हजार पास खेलेर मात्र खेल जितिँदैन, कहिलेकाहीँ संघर्ष गरेर पनि जित्नुपर्छ र आज हामीले त्यही गर्यौँ।’
यद्यपी टुचेलको यस इमानदार टिप्पणीको केही पूर्व खेलाडीहरूले प्रशंसा गरेका छन्।
पूर्व कप्तान एलन सिएररले भने, ‘प्रशिक्षकले जे देख्नुभयो, त्यही भन्नुभयो। उहाँले टोलीको कमजोरी लुकाउनु भएन, यो राम्रो पक्ष हो।’ वायन रुनीले पनि टुचेलको कुरामा सहमति जनाउँदै खेलाडीहरूले खेल कौशलभन्दा पनि चरित्रका आधारमा खेल जितेको बताए।
इंग्ल्यान्डले विश्वकपमा व्यक्तिगत प्रदर्शनको भरमा यहाँसम्मको यात्रा तय गरेको छ। पनामाविरुद्ध केन र बेलिङ्घम चम्किएका थिए भने डीआर कङ्गोविरुद्ध केनले टोलीलाई बचाएका थिए। नर्वेविरुद्ध बेलिङघम नायक बने।
तर अब सेमिफाइनलमा इंग्ल्यान्ड सामना बलियो प्रतिद्वन्द्वी साविक विजेता अर्जेन्टिनासँग हुनेछ।