२०२६ को फिफा विश्वकपमा पहिलो पटक रोकिएपछि नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले यस प्रतियोगितालाई आफ्नो जीवनको एउटा ठूलो उपलब्धिका रूपमा लिने बताएका छन्।
क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग २-१ ले पराजित भएपछि नर्वे प्रतियोगिताबाट बाहिरिएको छ। अमेरिकाको मायामीमा भएकोखेलमा इंग्ल्यान्डको रक्षापंक्तिले त्यो काम गरेर देखायो, जुन अहिलेसम्म कसैले सकेका थिएनन्— हालान्डलाई गोल गर्नबाट रोक्नु।
अतिरिक्त समयसम्म तन्किएको खेलमा जुड बेलिङघमले दुई गोल गर्दै इंग्ल्यान्डलाई पुनरागमन जित दिलाए।
यसअघिका चार खेलमा इराक, सेनेगल, कोटे डि आइभोर र ब्राजिलविरुद्ध एक्लैले सात गोल गरेर सनसनी मच्चाएका हालान्डलाई इंग्ल्यान्डले पहिलो पटक शान्त राख्यो।
यसको असर खेलमा देखियो र नर्वेको चुनौती समाप्त भयो। जब बेलिङघमले गोल गरे, उनले आफ्ना सहकर्मीसँग खुसी मनाउनुभन्दा पनि खेललाई छिटो सुचारु गर्न हतार गरे। उनी गोलको उत्सवमा भन्दा पनि खेल जित्ने हुटहुटीमा देखिन्थे।
२३ वर्षीय बेलिङघम अहिले इंग्ल्यान्डका मुख्य खेलाडी बनेका छन्। उनले यस विश्वकपमा ६ गोल गरिसकेका छन्। कप्तान ह्यारी केन र बेलिङ्घमले मिलेर इङ्गल्याण्डका कुल १३ मध्ये १२ गोल गरेका छन्।
हारपछि प्रायः ठूला खेलाडी निराश र मौन हुन्छन्, तर हालान्ड त्यस्ता देखिएनन्। उनी खेलपछि मुस्कानका साथ अन्तर्वार्तामा देखिए।
‘यो सबै अकल्पनीय छ। मलाई लाग्छ यो विश्वकपले मलाई एक व्यक्तिको रूपमा बदलेको छ,’ हालान्डले भने। ‘यस्ता खेल हेरेर हुर्किएको हुँ, अहिले आफैँले प्रत्यक्ष अनुभव गर्न पाउँदा निकै विशेष महसुस भइरहेको छ। गर्व छ कि नर्वेमा एकता र खुसी ल्याउन सक्यौँ।’
हालान्ड जस्ता स्ट्राइकरलाई रोक्नु कुनै एक व्यक्तिको काम होइन। उनी बललाई कम छोएरै पनि खेलको नतिजा बदल्न माहिर छन्। इंग्ल्यान्डका डिफेन्डर मार्क गुएही र जोन स्टोन्सले उनलाई कडा निगरानीमा राखे। म्यानचेस्टर सिटीमा हालान्डसँगै खेल्ने जोन स्टोन्सले उनको कमजोरीको फाइदा उठाए।
ब्राजिलविरुद्धको खेलमा हालान्डले १०.१ किलोमिटर दौडिएर ११ पास पूरा गरेका थिए भने इंग्ल्यान्डविरुद्ध उनी थाकेर मैदान बाहिरिँदा ८.९ किलोमिटर मात्र दौडिएका थिए। उनले प्रहार गरेका दुई हेडमध्ये एउटा जोर्डन पिकफोर्डले बचाए भने अर्को बाहिरियो।
के हालान्ड अब आफ्ना म्यानचेस्टर सिटीका साथीहरू र इंग्ल्यान्डलाई समर्थन गर्छन् त? उनले मुस्कुराउँदै भने, ‘म इंग्ल्यान्डमा हुर्किएको हुँ, मेरो पहिलो जर्सी पनि इंग्ल्यान्डकै थियो। तर मेरा साथी फ्रान्स र स्पेनको टोलीमा पनि छन्, त्यसैले यो भन्न गाह्रो छ।’
हारका बाबजुद हालान्ड नर्वेको भविष्यप्रति आशावादी छन्। उनले भने, ‘हाम्रो लक्ष्य नर्वेलाई विश्व फुटबलको मानचित्रमा चिनाउने थियो, जुन हामीले गर्यौँ। हामीले प्रमाणित गर्यौँ कि हामी ब्राजिल जस्तो ठूलो टोलीलाई पनि हराउन सक्छौँ। हामीसँग उत्कृष्ट पुस्ताका खेलाडीहरू छन्। अब आउने विश्वकप र युरो कपहरूमा हामी आफूलाई अझ बलियो गरी प्रस्तुत गर्नेछौँ।’