असीमित ऊर्जा र गोल गर्ने अद्भुत क्षमताका साथ जुड बेलिङघमले २०२६ फिफा विश्वकपको क्वार्टरफाइनलमा नर्वेविरुद्ध सानदार प्रदर्शन गरे। उनको दुई गोलको मद्दतले इंग्ल्यान्ड सेमिफाइनलमा पुग्न सफल भएको छ।
जब बेलिङघमले गोल गरे, इंग्ल्यान्डका अन्य खेलाडीहरू खुसी मनाउन एक ठाउँमा झुम्मिएका थिए। तर, गोल गर्ने बेलिङघम भने त्यहाँ धेरैबेर बसेनन्। उनी तुरुन्तै आफ्नो 'हाफ' तिर दौडिए र मुठ्ठी कसेर समर्थकहरूलाई जोसिँदै 'कम अन' भन्दै कराए। उनलाई गोलको उत्सव मनाउनु भन्दा पनि खेल छिटो सुरु गरेर जित हासिल गर्नु थियो। उनी केवल जित्न चाहन्थे।
२३ वर्षीय बेलिङघम अहिले इंग्ल्यान्डका लागि अपरिहार्य खेलाडी बनेका छन्। नर्वेविरुद्ध २-१ को जित निकाल्ने क्रममा उनले दुवै गोल गरे। थोमस टुचेलको टोली एक गोलले पछि परेको अवस्थामा उनले नै पुनरागमन गराएका हुन्। नर्वेले धेरै समय खेलमा दबाब बनाएको थियो र खेल पेनाल्टी तिर जाने जस्तो देखिन्थ्यो, तर बेलिङघमले नतिजा बदलिदिए।
बेलिङघम केवल एक मिडफिल्डर वा गोलकर्ता मात्र होइनन्, उनी मैदानमा सधैँ हतारो र केही गर्ने जोशका साथ खेल्छन्। टोली दबाबमा हुँदा उनी झन् बढी मिहिनेत गर्छन्। उनी बल माग्न र खेलको गति बढाउन सधैँ अघि सर्छन्। यस प्रतियोगितामा उनले ६ गोल गरिसकेका छन्। रोचक कुरा के छ भने, इंग्ल्यान्डले अहिलेसम्म गरेका १३ गोलमध्ये १२ गोल त बेलिङघम र ह्यारी केनले मात्रै गरेका छन्।
खेलपछि इंग्ल्यान्डका 'नम्बर १०' बेलिङघमले भने, ‘मेरो लागि फुटबल प्राविधिक वा रणनीतिक मात्र होइन, यो मनोवैज्ञानिक खेल पनि हो। कठिन परिस्थिति र चुनौतीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। हाम्रो टोलीले फेरि एकपटक कठिन समयमा सम्हालिएर खेल्न सक्छ भन्ने प्रमाणित गरेको छ।’
प्रशिक्षक टुचेलको शैलीमा छिटो 'ट्रान्जिसन' (रक्षाबाट आक्रमणमा जानु) महत्त्वपूर्ण हुन्छ। तर नर्वेको कडा रक्षापङ्क्ति सामु इंग्ल्यान्डलाई पास खेल्न गाह्रो भइरहेको थियो। यस्तो बेला बेलिङघम आफैँ पछाडि झरेर बल नियन्त्रणमा लिन्थे र आक्रमण अगाडि बढाउँथे। खेलको पहिलो गोल उनले डिफेन्डरहरूलाई छक्याउँदै बक्स भित्रबाट गरे भने दोस्रो गोल ह्यारी केनको प्रहार गोलकिपरले रोकेपछि रिबाउन्डका लागि तीव्र गतिमा गए।
उनको खेल्ने उत्साह कस्तो छ भने, हाफ-टाइमको ह्विसल बज्ने बित्तिकै उनी चेन्जिङ रुम तिर दौडिए, मानौँ उनलाई हिँड्नु भन्दा दौडनुमै बढी आनन्द आउँछ।
प्रशिक्षक टुचेलले खेलपछि भने, ‘उनको बारेमा धेरै भन्नु पर्दैन। उनले हरेक खेलमा यस्तै गर्छन्, उनी 'वर्ल्ड क्लास' हुन्। नतिजा त सानदार छ, तर म टोलीको प्रदर्शनबाट भने खुसी छैन। हामी भाग्यले जित्यौँ।’
१२० मिनेटको खेल अवधिभर समर्थकले उनको नामको नारा लगाए। बेलिङघम भने आफ्नो खेलबाटै जवाफ दिन्छन्। उनी विपक्षीलाई दबाब दिन दौडिन्छन्, ड्रिब्लिङ गर्छन् र बल खोस्न मिहिनेत गर्छन्।
कप्तान ह्यारी केनले उनको प्रशंसा गर्दै भने, ‘जुडको गोलले फेरि अन्तर पैदा गर्यो। उनी महत्त्वपूर्ण समय र परिस्थितिमा निर्णायक बन्न सक्छन् भन्ने उनले देखाइसकेका छन्। उनको पहिलो गोल असाधारण थियो भने दोस्रो गोलमा उनको स्ट्राइकरको जस्तो तीखो नजर देखियो।’