फिफा विश्वकप २०२६ मा अब केवल चार खेलहरू बाँकी छन्। यससँगै 'फिफा युवा खेलाडी अवार्ड' जित्ने दौडमा रहेका दाबेदारका लागि आफ्नो प्रतिभा सावित गर्ने समय कम हुँदै गएको छ।
क्वार्टर-फाइनलमा आ-आफ्नो देशलाई जिताउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडीहरूमा इंग्ल्याण्डका डिफेन्डर निको ओ'रेली, फ्रान्सका फरवार्ड डेजायरे डुए र स्पेनका दुई प्रभावशाली खेलाडी पाउ कुबार्सी र लामिन यामल रहेका छन्।
सेमिफाइनलका खेलहरूमा फ्रान्सले स्पेनको सामना गर्दैछ भने इंग्ल्याण्ड र अर्जेन्टिना भिड्दैछन्।
पाउ कुबार्सी (स्पेन)
स्पेनको सानो सहर बेस्कानोका १९ वर्षीय यी डिफेन्डर विश्व फुटबलको मञ्चमा भने उत्कृष्ट सावित भएका छन्। उनले स्पेनका अहिलेसम्मका सबै ६ खेलका हरेक मिनेट मैदानमा बिताएका छन्। स्पेनको बलियो डिफेन्स सम्हालेका उनकै कारण ६०० मिनेटको खेलमा स्पेनले अहिलेसम्म मात्र एक गोल खाएको छ।
डेजायरे डुए (फ्रान्स)
फ्रान्सको ४-२-३-१ फर्मेसनमा ब्राड्ली बारकोलासँग आलोपालो खेल्दै 'लेफ्ट विङ्गर'को भूमिका निभाएका डेजायरे डुएले सबैको मन जितेका छन्। नर्वेविरुद्धको समूह चरणको अन्तिम खेलमा गोल गर्दै चर्चामा आएका उनले राउण्ड अफ १६ र क्वार्टर-फाइनलमा लगातार दुईवटा 'असिस्ट' दिएका छन्।
निको ओ'रेली (इंग्ल्याण्ड)
म्यानचेस्टरका यी बहुमुखी प्रतिभाले यस विश्वकपमा इंग्ल्याण्डको 'लेफ्ट-ब्याक'का रूपमा आफ्नो बलियो स्थान बनाएका छन्। ६ मध्ये ५ खेलमा सुरुवाती रोजाइमा परेका उनले आक्रमणमा सहयोग गर्नुका साथै ९३ प्रतिशत सटिक पासको रेकर्ड राखेका छन्। रक्षापङ्क्तिमा पनि उनको योगदान निकै महत्वपूर्ण देखिएको छ।
लामिन यामल (स्पेन)
सुरुवाती खेलमा चोटका कारण केही समय बाहिर रहेका १८ वर्षीय यामल (जसले अर्को हप्ता १९ औं जन्मदिन मनाउँदैछन्) ले पछिल्ला दुई नकआउट खेलमा ९० मिनेट खेलेका छन्। दुई पटक 'प्लेयर अफ द म्याच' चुनिएका यामल गोलका लागि प्रहार गर्ने (१० पटक टार्गेटमा) खेलाडीहरूको सूचीमा सातौं स्थानमा छन्।