साविक विजेता अर्जेन्टिनाले बुधबार राति एटलान्टामा हुने विश्वकपको सेमिफाइनल खेलमा इंग्ल्यान्डविरुद्ध आफ्नो 'नेभी ब्लु' (गाढा नीलो) रंगको अवे जर्सी लगाउने भएको छ।
एटलान्टा स्टेडियममा हुने उक्त खेलमा इंग्ल्यान्ड भने आफ्नो परम्परागत सेतो जर्सीमा मैदान उत्रनेछ।
अर्जेन्टिनाले जारी प्रतियोगितामा यो गाढा रंगको जर्सी अहिलेसम्म एक पटक मात्र प्रयोग गरेको छ। समूह चरणको खेलमा जोर्डनलाई ३-१ ले हराउँदा टोली यही जर्सीमा थियो।
अर्जेन्टिनाले नीलो जर्सी लगाउनुको पछाडि जर्सी सम्बन्धी नियम एउटा कारण हुन सक्छ। तर, अर्जेन्टिनाका सञ्चारमाध्यमहरूका अनुसार यो निर्णय 'भाग्य' सँग पनि जोडिएको छ। सन् १९८६ र १९९८ को विश्वकपमा इंग्ल्यान्डलाई पराजित गर्दा अर्जेन्टिनाले यही नीलो जर्सी लगाएको थियो।
सन् १९८६ को क्वार्टरफाइनलमा डिएगो म्याराडोनाले चर्चित 'ह्यान्ड अफ गड' गोल र अर्को उत्कृष्ट गरेको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले हराएको थियो।
त्यस्तै १९९८ को विश्वकपमा पनि पेनाल्टी सुटआउटमा इंग्ल्यान्डलाई पाखा लगाउँदा अर्जेन्टिना नीलो जर्सीमै थियो। तर, २००२ को विश्वकपमा भने यी टोलीको जर्सीको रंग उल्टो भएको थियो; त्यतिबेला रातो जर्सी लगाएको इंग्ल्यान्डले आफ्नो परम्परागत धर्के जर्सी लगाएको अर्जेन्टिनालाई १-० ले हराएको थियो।
फिफाले सामान्यतया दुवै टोलीलाई उनीहरूको पहिलो रोजाइको जर्सी (होम किट) लगाउन प्रोत्साहन गर्छ। तर, दुई टोलीको जर्सीको रंग जुध्न गएमा प्रष्ट भिन्नता देखाउन रंग परिवर्तन गर्नुपर्ने नियम छ। विशेषगरी रङ छुट्याउन गाह्रो हुने (दर्शकहरूलाई ध्यानमा राखेर एउटा टोलीले गाढा र अर्कोले हल्का रङको जर्सी लगाउनु अनिवार्य जस्तै हुन्छ।
इंग्ल्यान्डले शनिबार नर्वेलाई अतिरिक्त समयमा २-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। अर्जेन्टिनाले भने आइतबार १० खेलाडीमा सीमित स्विट्जरल्याण्डलाई अतिरिक्त समयमै ३-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।