ठूला प्रतियोगितामा अक्सर गुमनाम खेलाडी चर्चामा आउँछन्, तर कहिलेकाहीँ यस्तो समय आउँछ जहाँ सबैभन्दा ठूला नाम नै निर्णायक बन्छन्। अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ लाई अहिले धेरैले ‘सुपरस्टारहरूको विश्वकप’ भन्न थालेका छन्।
फिफा वरीयताको शीर्ष चार स्थानमा रहेका र पहिले पनि विश्वकप जितिसकेका चार टोली अहिले सेमिफाइनलमा पुगेका छन्। विश्वकप अब यस्तो मोडमा पुगेको छ जहाँ स्टार खेलाडीको एउटै उत्कृष्ट प्रदर्शनले खेलको नतिजा बदल्न सक्छ।
मंगलबार राति अमेरिकाको डलासमा एमबाप्पे र डेम्बेलेको फ्रान्सले यामल र रोड्रीको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। त्यसको २४ घण्टापछि एटलान्टामा ह्यारी केन र बेलिङघमको इंग्ल्यान्डले मेसी र अल्भारेजको अर्जेन्टिनाको सामना गर्नेछ। यी खेलाडका कारण अहिले विश्वभर फुटबलको माहोल तातिएको छ।
अर्जेन्टिना : मेसी र अल्भारेज
३९ वर्षको उमेरमा पनि अर्जेन्टिनाका सदाबहार कप्तान मेसी पहिलो पटक इंग्ल्यान्डविरुद्ध खेल्दैछन्। उनले भने, ‘यो खेल विशेष हुनेछ किनकि मैले यसअघि कहिल्यै इंग्ल्यान्डसँग खेलेको छैन। उनीहरू विश्वकै शक्तिशाली टोलीमध्ये एक हुन् र यस्तो टोलीसँग खेल्नु सधैँ रोमाञ्चक हुन्छ।’
त्यस्तै, अघिल्लो खेलमा स्विट्जरल्याण्डविरुद्ध सानदार गोल गरेका स्ट्राइकर जुलियन अल्भारेजले भने, ‘म प्रत्येक खेलसँगै लयमा आउँदैछु। मेरो लागि टोलीको जित सबैभन्दा महत्त्वपूर्ण हो, तर स्ट्राइकरको रूपमा गोल गरेर टोलीलाई मद्दत गर्न चाहन्छु।’
इंग्ल्यान्ड: केन र बेलिङघम
इंग्ल्यान्डका कप्तान ह्यारी केनका लागि यो विश्वकप जित्नु एउटा ठूलो इतिहास रच्ने अवसर हो। उनले भने, ‘हामी पछिल्लो ६ हप्तादेखि सँगै छौँ र आफ्नो देशका लागि सबै थोक दाउमा लगाएका छौँ। अब हामी अन्तिम पाइला (उपाधि) चाल्न चाहन्छौँ।’
युवा स्टार जुड बेलिङघम पनि टोलीको प्रदर्शनबाट निकै गर्वित छन्। उनले भने, ‘मैले सपनामा सोचेभन्दा पनि राम्रो भइरहेको छ। मलाई आफ्नो टोलीको संघर्ष गर्ने क्षमतामा गर्व छ।’
फ्रान्स: एमबाप्पे र डेम्बेले
धेरैले फ्रान्सलाई उपाधिको मुख्य दाबेदार मानेका छन्। तर एमबाप्पे अहिल्यै ढुक्क छैनन्। उनले भने, ‘हामीले अझै धेरै प्रमाणित गर्न बाँकी छ। जबसम्म कप जित्दैनौँ, तबसम्म हामी ढुक्क भएर बस्ने छैनौँ।’ ओस्मान डेम्बेलेले पनि टोलीको हित नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए।
स्पेन: यामल र रोड्री
स्पेनका युवा प्रतिभा लामिन यामल फ्रान्ससँग डराएका छैनन्। उनले भने, ‘सबैले यो खेलको प्रतीक्षा गरिरहेका थिए। मलाई लाग्छ यो विश्वकपका दुई उत्कृष्ट टोलीहरू भिड्दैछन्। यदि कसैले फ्रान्सलाई हराउन सक्छ भने, त्यो हामी नै हौँ।’
स्पेनका भरपर्दा मिडफिल्डर रोड्रीले भने फ्रान्सलाई अहिलेसम्मकै कठिन चुनौती मानेका छन्। उनले भने, ‘हामी निकै उत्साहित छौँ। फ्रान्स बलियो छ, तर हामी पनि कम छैनौँ।’