फिफा विश्वकप २०२६ मा नर्वेले क्वार्टरफाइनलसम्म पुगेर इतिहास रच्यो। क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग पराजित भएर घर फर्कनु परे पनि उसका स्ट्राइकर एर्लिङ हालान्ड अमेरिकामा निकै लोकप्रिय बने।
५ खेलमा ७ गोल गरेका हालान्डको अमेरिकामा लोकप्रियता यति बढ्यो कि जसले गर्दा विश्वकपको अवधिमा मात्रै उनको इन्स्टाग्राममा २ करोड २० लाख फलोअर्स थपिए।
उनै हालान्डले नर्वे फर्किएपछि लगेको ‘नौलो चिनो’ बारे अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
नर्वेको टोली राजधानी ओस्लो झर्दा इंग्लिस क्लब म्यानचेस्टर सिटीका २५ वर्षीय स्ट्राइकर हालान्डको हातमा भएको सामानले धेरैको ध्यान तानेको थियो।
विमानबाट ओर्लिँदा उनको दाहिने काँधमा दुईवटा झोला थिए। देब्रे हातमा एउटा र्याकुनको छाला भरेर सजाइएको गुडिया थियो।
हालान्डले त्यो र्याकुन टेक्सासको डलासस्थित ५० वर्ष पुरानो 'वाइल्ड बिल्स वेस्टर्न स्टोर' बाट किनेका थिए। सो र्याकुनले हातमा 'ग्रीनल्स वाइल्ड बेरी जिन' को खाली बोतल समातेको छ। त्यहाँ हालान्डले र्याकुनका साथै आफ्नै नाम र जर्सी नम्बर (९) अंकित काउब्वाई ह्याट (टोपी) र सर्पको छालाबाट बनेको जुत्ता (बुट्स) पनि किनेका थिए।
त्यो र्याकुनको मूल्य ७५० डलर (करिब १ लाख नेपाली रुपैयाँ) पर्छ। हालान्डले सामाजिक सञ्जालमा पोस्ट गरेपछि उक्त स्टोरको वेबसाइटमा र्याकुन स्टक सकिएको छ।
स्टोरकी मालिक जुली न्यूपोर्टले हालान्डको भ्रमणबारे रमाइलो कुरा सुनाइन्। ‘खेलको अघिल्लो दिन हामीलाई कसैले फोन गरेर टोलीको कोही सदस्य आउँदैछ भनेर खबर गरेका थिए। सुरक्षाको कारणले को आउँदैछ भन्ने खुलाइएको थिएन,’ न्यूपोर्टले भनिन्, ‘जब हालान्ड आफ्ना साथीहरूसँग आए, मानिसहरूले उनलाई चिन्न थाले र तस्बिर खिच्न भीड बढ्न थाल्यो। मैले मेरो म्यानेजरलाई भनेँ— ढोका बन्द गरिदेऊ, हामी उनलाई विशेष अनुभव दिन चाहन्छौं'।’
त्यसपछि पसलको ढोका बन्द गरेर हालान्डलाई करिब डेढ घण्टासम्म ढुक्कसँग किनमेल गर्न दिइयो। हालान्डले डलासको अनुभवलाई 'अविश्वसनीय र निकै रमाइलो' भनेका छन्। उनले आफ्नो युट्युब भ्लगमा त्यहाँका मानिसहरू निकै सकारात्मक र जीवनको आनन्द लिने खालको भएको बताएका छन्।
हालान्डको यो क्रेजले गर्दा उक्त स्टोरमा अहिले अन्तर्राष्ट्रिय अर्डरको ओइरो लागेको छ। पहिले अमेरिकाबाहिर सामान नपठाउने यो पसलले हालान्डकै कारण अहिले विश्वभर सामान पठाउन थालेको छ। हालसम्म दुई हजार भन्दा बढी अनलाइन अर्डर आइसकेका छन्, जसमध्ये ३० प्रतिशत अन्तर्राष्ट्रिय छन्।
हालान्डले सामाजिक सञ्जालमा उक्त र्याकुनको भिडियो राख्दै त्यसलाई अमेरिकाबाट 'आफैं पछ्याउँदै घर आएको' बताएका छन्। उनले इन्स्टाग्राममा फ्यानहरूलाई यो नयाँ साथीको नाम राख्न समेत आग्रह गरेका छन्।