साविक उपविजेता फ्रान्सलाई २-० गोलले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को फाइनलमा स्थान पक्का गरेको छ।
सेमिफाइनलमा बलियो मानिएको फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको दोस्रो उपाधि नजिक पुगेको हो।
अब आइतबार हुने फाइनलमा स्पेनले इंग्ल्यान्ड वा अर्जेन्टिनामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।
अमेरिकाको डलासमा भएको खेलमा स्पेनले सुरुदेखि अन्त्यसम्म नियन्त्रण जमायो। फ्रान्सका विश्वविख्यात स्ट्राइकरहरूलाई स्पेनको रक्षापंक्तिले पूर्ण रूपमा रोकेर राख्यो।
स्पेनका लागि मिकेल ओयार्जाबाल र पेड्रो पोरोले गोल गरे।
खेलको पहिलो हाफको फ्रान्सका डिफेन्डर लुकास डिनले स्पेनका युवा खेलाडी लामिन यामललाई डि-बक्सभित्र लडाएपछि स्पेनले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई मिकेल ओयार्जाबालले निकै आत्मविश्वासका साथ गोलमा परिणत गरे।
दोस्रो हाफमा पेड्रो पोरोले डानी ओल्मोसँग सुन्दर 'वान-टु' पास खेल्दै नजिकैको पोस्टबाट सानदार गोल गरे र स्पेनको जित पक्का गरे।
यस विश्वकपमा स्पेनको रक्षापंक्ति निकैं मजबुत देखिएको छ। स्पेनले सात खेलमा मात्र एक गोल खाएका छन्। फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेले समेत खेलको ८१ औं मिनेटसम्म गोलको एउटा पनि प्रहार गर्न सकेनन्। एम्बाप्पेले स्पेनका गोलकिपर उनाई सिमोनलाई फाउल गरेपछि उनले पहेँलो कार्ड समेत पाएका थिए।
लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने फ्रान्सको सपना यसपालि अधुरै रह्यो। यो हारसँगै फ्रान्सेली प्रशिक्षक डिडिएर डेसच्याम्प्सको १४ वर्ष लामो कार्यकाल पनि समाप्त भएको छ। फ्रान्सले अब तेस्रो स्थानका लागि शनिबार खेल्नेछ।
स्पेनका कप्तान रोड्रिले मध्यभागबाट खेललाई पूर्ण नियन्त्रणमा राखेका थिए। युवा स्टार यामलले फ्रान्सेली डिफेन्डरहरूलाई निकै तनाव दिए। पेनाल्टी पनि उनकै कारण प्राप्त भएको थियो।
मुख्य डिफेन्डर सालिबा घाइते भएर मैदान बाहिरिनु फ्रान्सका लागि दुर्भाग्यपूर्ण बन्यो।
स्पेनले आफ्नो इतिहासमा दोस्रो पटक विश्वकप जित्ने दाउमा छ। यसअघि २०१० मा स्पेनले उपाधि जितेको थियो।