जारी विश्वकपमा सबैभन्दा बलियो मानिएको टोली फ्रान्स पहिलो सेमिफाइनलमा स्पेनसँग पराजित भएको छ।
फ्रान्सको आक्रामक लयलाई स्पेनले निष्प्रभावी तुल्यायो। जसकारण केलियन एम्बाप्पे, उस्मान डेम्बेले जस्ता स्टार खेलाडीहरूलाई स्पेनको रक्षापंक्तिले पूर्ण रूपमा रोकेर राख्यो।
विश्वकप सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित भएपछि फ्रान्सका कप्तान केलियन एम्बाप्पेले टोलीको रणनीति र प्रदर्शनप्रति असन्तुष्टि जनाएका छन्।
उनले विशेषगरी मिडफिल्डको लडाइँमा फ्रान्स कमजोर परेको र स्पेनलाई नियन्त्रण गर्न नसकेको बताएका हुन्।
स्पेनसँगको हारपछि एम्बाप्पेले प्रशिक्षकको रणनीतिमाथि पनि प्रश्न उठाए। उनले खेलाडीहरूले पनि चाहेजस्तो खेल्न नसकेको बताए।
'हाम्रो मिडफिल्डमा तीन खेलाडी थिए भने उनीहरूका दुई। स्पेनजस्तो टोलीविरुद्ध त्यो निकै कठिन हुन्छ। रोड्री र फाबियान रुइजले सजिलै खेल सञ्चालन गर्ने समय पाए। प्रेसिङमा समन्वयको कमी रह्यो। मेरो विचारमा हामीले खेलाडी–खेलाडीमा दबाब दिनुपर्थ्यो र उनीहरूलाई दौडिन बाध्य बनाउनुपर्थ्यो,' उनले भने।
उनको यो अभिव्यक्तिलाई प्रशिक्षक डिडिएर डेसच्याम्प्सको रणनीतिमाथिको अप्रत्यक्ष प्रश्नका रूपमा हेरिएको छ। एम्बाप्पेले फ्रान्सले प्राविधिक र रणनीतिक दुवै हिसाबले आफूले चाहेजस्तो प्रदर्शन गर्न नसकेको स्वीकार गरे।
'हामीले चाहेको खेल खेल्न सकेनौं, न प्राविधिक रूपमा, न रणनीतिक रूपमा। विश्वकपको सेमिफाइनलमा गर्नुपर्ने काम गर्न सकिएन भने जित्न सकिँदैन,' उनले भने।
स्पेनले आफ्नो योजना सफलतापूर्वक कार्यान्वयन गरेको पनि बताए।
'उनीहरूले आफ्नो खेल शैली र योजना राम्रोसँग पालन गरे। उनीहरू बल र खेलको गति नियन्त्रण गर्न निकै सक्षम छन्। हाम्रो योजना उनीहरूलाई माथिबाट दबाब दिएर आफ्नो लय बनाउन नदिने थियो। तर हामी त्यसमा सफल भएनौँ। हामी प्राविधिक रूपमा धेरै कमजोर भयौँ र अवसर पाउँदा पनि उनीहरूलाई क्षति पुर्याउन सकेनौं,' उनले भने।
एम्बाप्पेका अनुसार फ्रान्सले बल फिर्ता जितेपछि पनि त्यसको सदुपयोग गर्न सकेन।
'हामीले बल फिर्ता जित्दा पनि पहिलो टच राम्रो भएन। त्यसैले खेल हाम्रो हातबाट फुस्कियो। यो निकै निराशाजनक हार हो। वस्तुगत रूपमा भन्ने हो भने, फाइनल पुग्न आवश्यक सबै पक्ष हामीले मैदानमा देखाउन सकेनौं,' उनले भने।
हारको सम्पूर्ण जिम्मेवारी कप्तानका रूपमा आफूले लिने पनि उनले बताए।
'कप्तानका रूपमा सबै जिम्मेवारी म लिन्छु। त्यसमा मलाई कुनै समस्या छैन। हाम्रो लक्ष्य फाइनल पुग्ने थियो, तर हामी पुग्न सकेनौं,' उनले भने।
यस हारसँगै लगातार तेस्रो विश्वकप फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको छ। प्रतियोगितामा आठ गोल गरेका एम्बाप्पे भने अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा गोल्डेन बुटको शीर्ष स्थानमा रहेका छन्।
अब फ्रान्सले शनिबार तेस्रो स्थानका लागि अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग खेल्नेछ।