विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएर फाइनलमा पुगेको अर्जेन्टिना फिफाको कारबाहीमा पर्ने जोखिम देखिएको छ।
बिहीबार बिहान एटलान्टा स्टेडियममा इंग्ल्याण्डलाई २-१ गोलले पराजित गरेपछिको क्रियाकलापका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनको कारबाही गर्ने जोखिम बढेको भनेर बिबिसी स्पोर्ट्सले लेखेको छ।
खेलपछि अर्जेन्टिनी खेलाडीहरूले फकल्याण्ड टापु आफ्नो देशको रहेको दाबी गरिएको नारा उल्लखित ब्यानर प्रदर्शन गरेका थिए।
अर्जेन्टिनाले यो टापुलाई माल्भिनास भन्छ। टापुमाथिको दाबीलाई समर्थन गर्दै ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ अर्थात् माल्भिनास अर्जेन्टिनाकै हो लेखिएको ब्यानर प्रदर्शन गरेपछि विवाद चुलिएको हो।
एटलान्टामा जितपछि खेलाडीहरूले मैदानमै उक्त राजनीतिक सन्देशसहितको ब्यानर बोकेर उत्सव मनाएका थिए।
फकल्याण्ड टापु दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको बेलायतको विदेशी भूभाग हो। तर अर्जेन्टिनाले यसलाई आफ्नो भूमि भएको दाबी गर्दै आएको छ। यही विवादका कारण सन् १९८२ को अप्रिलदेखि जुनसम्म ७४ दिन लामो युद्ध भएको थियो, जसमा ६५५ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक तथा टापुका तीन बासिन्दाको मृत्यु भएको थियो।
यसअघि पनि यस्तै घटनामा फिफाले अर्जेन्टिनालाई कारबाही गरिसकेको छ। सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि अर्जेन्टिनी खेलाडीहरूले यही सन्देश भएको ब्यानर प्रदर्शन गरेपछि फिफाले अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो।
त्यतिबेला फिफाले यसलाई राजनीतिक गतिविधि र टोलीको आचरणसम्बन्धी नियम उल्लंघन भएको ठहर गरेको थियो।
बिहीबार बिहान सेमिफाइनलमा जितपछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जाल एक्समा सैनिकहरूको भिडियो साझा गर्दै माल्भिनास अर्जेन्टिनाकै हो भनेर लेखेकी छन्। 'उनीहरूले स्टेडियममा ब्यानर लैजान प्रतिबन्ध लगाए, तर उनीहरूले बिर्सिए कि हामी माल्भिनासलाई आफ्नो रगत र हृदयमा बोकेर हिँड्छौं,' उनले लेखेकी छन्।
उनले खेलअघि पनि सेमिफाइनललाई अतिक्रमणकारीलाई उनीहरूको स्थान देखाउने अवसर भनेकी थिइन्।
यसअघि अन्तिम १६ मा इजिप्टलाई ३–२ ले हराएपछि पनि अर्जेन्टिनी खेलाडीहरूले माल्भिनाससँगै डिएगो म्याराडोना र लियोनल मेसीको नाम जोडिएका नारा गाएका थिए।
यद्यपि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले सेमिफाइनलअघि फुटबल र राजनीतिलाई नजोड्ने बताएका थिए।
'यो फुटबलको खेल हो। धेरै वर्षअघि भएको घटनाको सम्मानका लागि पनि म फुटबल र राजनीतिलाई मिसाउन चाहन्नँ। त्यो हाम्रो इतिहासको निकै दुःखद अध्याय थियो। संसारका अन्य ठाउँमा पनि युद्ध भइरहेका छन् र हामी युद्धको आलोचना गर्छौं। ती घटनामा ज्यान गुमाउनेहरूलाई हामी सम्झन्छौं, तर यो फुटबलको खेल हो, यसलाई राजनीतिसँग जोड्नु हुँदैन,' उनले भनेका थिए।
इंग्ल्यान्डविरुद्धको सेमिफाइनल ऐतिहासिक तनावलाई ध्यानमा राख्दै कडा सुरक्षा व्यवस्थाबीच आयोजना गरिएको थियो।
खेलमा एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले अन्तिम समयमा गोल गर्दै अर्जेन्टिनालाई फाइनलमा पुर्याएका थिए। अब अर्जेन्टिनाले उपाधिका लागि सोमबार बिहान स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।