फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्ड नाटकीय रूपमा बाहिरिएपछि इंग्लिस स्टार जुड बेलिङघम विवादमा परेका छन्।
अर्जेन्टिनाले २-१ को जित निकाल्दै फाइललमा प्रवेश गरेपछि खुसीयाली मनाइरहेका बेला रियल म्याड्रिडका मिडफिल्डर बेलिङघमले अर्जेन्टिनी डिफेन्डर भ्यालेन्टिन बार्कोको टाउकोमा पछाडिबाट थप्पड हानेका थिए।
बेलिङघमको यो हर्कतको कारणबारे बिबीसी रेडियोका पल रोबिन्सनले खुलासा गरेका छन्। उनका अनुसार अर्जेन्टिनाले विजयी गोल गरेपछि मैदान बाहिर रहेका बार्कोले इंग्ल्यान्डको 'बेन्च' अगाडि दौडिएर जिस्क्याउँदै खुसीयाली मनाएका थिए।
त्यसैको झोँकमा बेलिङघमले बार्कोमाथि हात छोडेका हुन्। रोबिन्सनले यसलाई ‘यो विश्वकपकै भावनाको सबैभन्दा खराब उदाहरण’ भनेका छन्।
यस घटनापछि मैदानमा दुवै टोलीका खेलाडीहरूबीच धकेलाधकेल भएको थियो। इंग्ल्यान्डका मोर्गन रोजर्सलाई झगडाबाट जोगाउन अन्य खेलाडीले तानेर लैजानुपरेको थियो।
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउन बेलिङघमले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ६ गोल गर्दा इंग्ल्यान्डका सबैभन्दा प्रभावशाली खेलाडी थिए।
तर अर्जेन्टिनाविरूद्ध उनी खासै चल्न सकेनन्। खेलको बीचमा उनले अर्जेन्टिनाका कप्तान लिओनल मेसीसँग गरेको विवाद पनि अहिले सामाजिक सञ्जालमा भाइरल छ।
इंग्ल्यान्डले अब शनिबार मियामीमा तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ भने अर्जेन्टिना आइतबार स्पेनसँग ऐतिहासिक फाइनलमा भिड्नेछ।