विश्वकप फुटबल २०२६ को आइतबार राति हुने फाइनल खेलमा एउटा अनौठो संयोग जुर्दैछ।
अर्जेन्टिना र स्पेनबीच हुने विश्वकप फाइनलको यो संयोग यी दुई टिमका दुई स्टार खेलाडीको व्यक्तिगत जीवनसँग जोडिएको छ।
घटना सन् २००७ डिसेम्बरको हो।
बार्सिलोना फाउन्डेसन र राष्ट्रसंघीय नियोग 'युनिसेफ' ले एउटा च्यारिटी क्यालेन्डरका लागि फोटोसेसन कार्यक्रम आयोजना गरेको थियो। फोटो सेसनका लागि सामेल भएका थुप्रै बच्चाहरू मध्येबाट एक जना छनौटमा परे।
त्यसै सन्दर्भमा आजभन्दा १९ वर्षअघि खिचिएको त्यो तस्बिर नै यसपालि विश्वकप फाइनलको अनौठो संयोग हो।
तस्बिरमा लामो कपाल पालेका २० वर्षका एक लजालु युवा मुस्कुराउँदै प्लास्टिकको बाथटब अगाडि उभिएका छन्। त्यो टबभित्र तीन महिनाको बच्चा छ, जसलाई ती युवाले प्रेमपूर्वक नुहाइदिइरहेका छन्।
ती तीन महिनाका बच्चा थिए, लमिन यमाल।
र, उनलाई नुहाइदिइरहेका २० वर्षका युवा थिए, लियोनल मेसी।

त्यो तस्बिरलाई वर्षौंसम्म कसैले वास्ता गरेनन्। तर जब यमालका बुबाले त्यसलाई सामाजिक सञ्जालमा हाले, तब संसार अचम्ममा पर्यो।
फुटबल प्रेमीहरूले जिस्किँदै भने, 'मेसीले उति बेलै यमाललाई आफ्नो जादुको आशीर्वाद दिएका रहेछन्।'
नियतिको अनौठो संयोग — आज झन्डै दुई दशकपछि तिनै यमाल स्पेनको टोलीबाट अर्जेन्टिनाका स्टार खेलाडी मेसीलाई चुनौती दिँदै छन्।
यहाँ अर्को संयोग पनि छ। यमाल पहिलो पटक विश्वकप मैदानमा ओर्लिँदै छन् भने उनलाई उति बेलै आफ्नो जादूको आशीर्वाद दिएका फुटबलका महानायक मेसी यही विश्वकपमा सम्भवतः आफ्नो करिअरको अन्तिम पारी खेल्दै छन्।
उक्त भाइरल तस्बिरबारे लामिन यमालको प्रतिक्रिया पनि सार्वजनिक भएको छ। उनले आफूलाई धेरै वर्षसम्म त्यस्तो तस्बिर खिचिएको थियो भन्ने थाहा नभएको बताएका छन्। पछि आफ्नो बुबाले उक्त तस्बिरबारे बताएको र सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र आफूले देखेको उनको भनाइ छ।
लियोनेल मेसीसँग भइरहने निरन्तर तुलनाबारे सोधिएको प्रश्नमा यमालले भनेका छन्, 'इतिहासकै महान खेलाडीसँग तुलना गरिँदा कसैलाई आपत्ति हुन्छ जस्तो मलाई लाग्दैन। तर यसरी गरिने तुलना तपाईंलाई करिअरमा अगाडि बढ्न चुनौतीपूर्ण हुन सक्छ, किनभने तपाईं कहिल्यै उहाँ जस्तो बन्न सक्नुहुन्न।'
मेसीले उक्त फोटोबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्। तर उनले यी स्पेनिस युवा खेलाडीको पटक पटक प्रशंसा गरेका छन्।
अर्जेन्टिनाका कप्तान मेसीले धेरै अवसरहरूमा भनेका छन्, 'लामिन यमाल ती युवा खेलाडीहरूमध्ये एक हुन् जसले मलाई आफ्ना प्रारम्भिक दिनहरूको सबभन्दा बढी सम्झना गराउँछ।'
मेसी मात्र होइन, यमालको जादू देखेर संसारभरका फुटबल फ्यानहरूले उनलाई 'भविष्यका मेसी' भनिरहेका छन्।
हुन त फुटबलका हरेक प्रतियोगितामा सधैं एउटा नयाँ स्टारको खोजी भइरहन्छ। राम्रो खेल्ने हरेक खेलाडीलाई ब्राजिलका पेले वा अर्जेन्टिनाका म्याराडोनासँग दाँज्ने काम संसारका हरेक फुटबलप्रेमीले गर्दै आएका छन्।
त्यसमाथि दुई दशकदेखि लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले फुटबल मैदानमा राज नै गरे। उनीहरूले मैदानमा आफ्नो खुट्टाको जादू देखाइरहँदा अब यी दुई जस्तो खेल्ने खेलाडी को होलान् भन्ने प्रश्न उठिरहन्थ्यो। यो प्रश्न धेरैका मनमा अहिले पनि छँदैछ।
मैदानमा कोही युवा खेलाडीले अलिकति राम्रो खेल्यो कि मिडिया र फ्यानहरूले तुरुन्तै 'अर्को मेसी' भन्दै दबाब दिइहाल्थे। धेरैजसो खेलाडी त यही दबाब खप्न नसकेर मैदानबाट हराए पनि।
तर स्पेनको साँघुरो गल्लीबाट निस्केका युवा खेलाडी यमालले मैदानमा बल नचाएको देखेर धेरैलाई भन्न कर लाग्छ — हो, यिनी हुन सक्छन् भविष्यका मेसी!
बिना कुनै दबाब मैदानमा ओर्लिने र कुशल जादूगरले जस्तो बल नचाउने यी १८ वर्षीय युवा खेलाडीलाई मेसीसँग दाँजिनुको एउटा कारण यो पनि हो, उनले बार्सिलोनामा मेसीले जस्तै १० नम्बर जर्सी लगाएर तहल्का मच्चाएका छन्।
त्यसबाहेक स्पेनलाई युरो कप जिताउन महत्त्वपूर्ण भूमिका पनि खेलिसकेका छन्।
त्यसैले यसपालि फिफा वर्ल्डकप फाइनलमा विश्वकै नजर उनीतिर टिकेको छ।
आज फुटबल मैदानमा मेसीलाई चुनौती दिन सक्ने खेलाडीमा दरिएका यमालको यात्रा त्यति सजिलो थिएन।
उनी स्पेनको 'रोकाफोन्डा' भन्ने ठाउँमा जन्मे-हुर्केका हुन्। त्यो यस्तो ठाउँ हो, जहाँ धेरैजसो गरिब र आप्रवासीहरू बस्छन्। यो ठाउँलाई स्पेनको धनी समाजले त्यति राम्रो नजरले हेर्दैनथ्यो।
रोकाफोन्डाको त्यही गरिब बस्तीमा जन्मे-हुर्केर आज दुनियाँको नजरमा परेका भए पनि यमालले आफ्नो जरा कहिल्यै बिर्सेनन्। अहिले पनि उनी गोल गरेपछि आफ्ना औंलाहरूबाट '३०४' नम्बर बनाउँछन्, जुन रोकामन्डाको हुलाक कोडको अन्तिम तीन अंक हो।
उनी भन्छन्, 'म आज जतिसुकै ठूलो रंगशालामा खेले पनि, मेरो फुटबलको जग त्यही कंक्रिटको भुइँ र गल्लीहरू नै हुन्।'
पिछडिएको ठाउँबाट आए पनि यमाललाई सफलताको सिँढी उक्लिन भने लामो समय लागेन। उनले सिधै रकेटजस्तै उडेर सफलताको शिखर चुमेका हुन्। त्यही रकेट गतिलाई हेरेर नै समीक्षकहरू यमाललाई 'मेसीको आशीर्वाद पाएका खेलाडी' भन्छन्।
उनले फुटबल इतिहासमा थुप्रै रेकर्ड आफ्नो नाममा दर्ज गरिसकेका छन्।
उदाहरणका लागि —
उनी बार्सिलोना क्लबकै इतिहासमा सबभन्दा कम उमेरमा मुख्य टोलीबाट 'डेब्यू' गर्ने खेलाडी हुन्। यमालले पहिलो पटक बार्सिलोनबाट खेल्दा उनी जम्मा १५ वर्षका थिए।
त्यति बेला बार्सिलोनाका सिनियर खेलाडीहरूसँग ट्रेनिङ गर्न मैदानमा जाँदा १५ वर्षका कलिला यमाललाई देखेर सबै चकित परेका थिए। तर जब उनी मैदानमा ओर्ले, चकित हुने पालो संसारमै नाम कमाएका बार्सिलोनाका नामुद डिफेन्डरहरूको थियो।
जिन्दगीमा पहिलो पटक स्टार खेलाडीहरूसँग एउटै मैदानमा खेलिरहेका भए पनि उनले बिना कुनै दबाब बल कुदाएको देखेर ती स्टार डिफेन्डरहरू नै छक्क परेका थिए।
त्यसको अर्को वर्ष, अर्थात् १६ वर्ष उमेरमा उनले स्पेनको राष्ट्रिय टोलीबाट डेब्यू गरे र पहिलो गोल पनि हाले। यो पनि यमालले राखेको अर्को रेकर्ड हो।
त्यस्तै, उनले सन् २०२४ को युरो कपमा स्पेनलाई उपाधि दिलाएर विश्वकै उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए। त्यति बेला उनी १७ वर्षका थिए।
युरो कपको सेमीफाइनलमा यमालले फ्रान्सविरूद्ध डि एरिया बाहिरबाट हानेको गोल आज पनि फुटबल फ्यानहरूको दिमागमा ताजा छ।
त्यसको अर्को वर्ष, अर्थात् १८ वर्ष उमेरमा यमालले बार्सिलोनाका लागि १०० भन्दा बढी आधिकारिक खेल पूरा गरेर रेकर्ड राखेका छन्।
सन् २०२५/२६ को सिजनमा बार्सिलोनाका प्रशिक्षक हन्सी फ्लिकको नेतृत्वमा यमाल अझ बढी आक्रामक देखिएका छन्। त्यसैलाई हेरेर उत्तर अमेरिका (अमेरिका, क्यानडा र मेक्सिको) मा हुने २०२६ को विश्वकप खेल्न उनी मानसिक र शारीरिक रूपमा पूर्ण तयार रहेको समीक्षकहरू बताउँछन्।
स्पेनिस टोली पहिले 'टिकी-टाका' अर्थात् धेरै पास खेलेर विपक्षीलाई थकाउने खेलका लागि चिनिन्थ्यो। तर कहिलेकाहीँ धेरै पास खेल्दा गोल हुँदैनथ्यो। यमालले स्पेनको यो कमजोरी हटाइदिएका छन्।
उनी मैदानको दायाँ भागबाट बल लिएर सिधै विपक्षीको डिफेन्सभित्र पस्छन्। उनलाई रोक्न दुई-तीन जना डिफेन्डर एकैचोटि आउनुपर्छ। त्यसैबीच अन्य खेलाडीले गोल गर्ने मौका पाउँछन्।
महान् फुटबलर रोनाल्डिन्होले हालै यमालको तारिफ गर्दै भनेका थिए, 'खेलाडीहरू सामान्यतया २४-२५ वर्ष उमेरमा मात्र परिपक्व हुन्छन्। तर यमालले १८ वर्षमै जुन खेल देखाइरहेका छन्, त्यो पत्याउनै नसकिने खालको छ।'
यो विश्वकपमा यमालमाथि करोडौं फ्यानको नजर तेर्सिएको हुनेछ। विपक्षी टोलीहरू उनलाई रोक्ने रणनीति बनाइरहेका हुनेछन्। तर मैदानमा झेल्नुपर्ने दबाबलाई नै आफ्नो शक्ति बनाउन माहिर यी युवा खेलाडी यसपालि विश्वकपको इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेख्न मैदान उत्रिँदै छन्।
खेल कौशलका कारण सफलताको शिखरमा पुगेका कलिला यमाल हालै देखाएको परिपक्व राजनीतिक चेतले पनि आगामी विश्वकपमा केन्द्रविन्दुमा रहने पक्का भइसकेको छ।
विश्वकप सुरू हुनु एक महिना मात्रै बाँकी हुँदा गत साता उनले इसराइली अत्याचारमा पिल्सिएका प्यालेस्टिनीको समर्थनमा प्रदर्शन गरे।
चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराएर बार्सिलोनाले ला लिगा जितेको खुसियाली मनाउँदा मुस्लिम धर्म मान्ने यमालले बसको छतमा प्यालेस्टाइन राज्यको झन्डा फहराएका थिए।
इसराइल र अरू देशका दक्षिणपन्थीहरूले आलोचना गरे पनि उनको त्यो साहसिक प्रदर्शनको उनका समर्थक मात्र नभएर फुटबल खासै नहेर्ने संसारभरका मानिसहरूले समेत सराहना गरेका छन्।
यिनै यमाल र मेसीबीच आइतबार राति हुने भिडन्तले यसपालिको विश्वकप फाइनललाई रोचक बनाउँदैछ।
त्योभन्दा ठूलो कुरा त, मैदानमा यमाल र मेसीलाई देखेर धेरैले झल्झल्ती १९ वर्षअघिको त्यही तस्बिर सम्झने छन्, जहाँ २० वर्षका मेसी तीन महिनाका यमाललाई बाथटबमा नुहाइदिइरहेका छन्।
***