ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी न्यूयोर्कको सोथबिज लिलामीमा ४९ लाख डलर (करिब ७४ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ।
यो फुटबल इतिहासमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी बनेको छ। यसअघि सन् १९८६ को विश्वकपमा अर्जेन्टिनाका डिएगो म्याराडोनाले 'ह्यान्ड अफ गड' गोल गर्दा लगाएको जर्सी सन् २०२२ मा ७१ लाख पाउण्डमा बिक्री भएको थियो, जुन अहिलेसम्मकै महँगो हो।
पेलेको यो जर्सी खरिद गर्न ५ जनाभन्दा बढी बोलकबोलकर्ताहरूले १० पटकसम्म बोली लगाएका थिए। यो मूल्य पेलेका हालसम्म बिक्री भएका सामानहरूमध्येकै सबैभन्दा धेरै हो। अचम्मको कुरा के छ भने यही जर्सी सन् २००४ मा जम्मा १ लाख ५ हजार ६ सय डलरमा बिक्री भएको थियो।
सन् १९५८ को विश्वकप फाइनलमा १७ वर्षका पेलेले स्वीडेनविरुद्ध दुई गोल गर्दै ब्राजिललाई पहिलो पटक विश्वविजेता बनाएका थिए। विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान अझै पनि उनकै नाममा छ।
सोथबिजका खेलकुद रणनीति प्रमुख ब्रेन्डन हक्सले भने, ‘यो नतिजा विश्वका महान् फुटबलर पेलेको अटुट विरासतको प्रमाण हो। यो जर्सी फुटबल इतिहासको एक महत्त्वपूर्ण क्षणको सम्झना मात्र नभएर पेलेलाई विश्वव्यापी खेल आइकन बनाउने प्रस्थानविन्दु पनि हो।’
यही लिलामीमा अन्य महत्त्वपूर्ण खेल सामग्रीहरू पनि बिक्री भएका छन्। सन् १९८६ को विश्वकपमा (इङ्गल्याण्डविरुद्धको खेलमा) म्याराडोनाले बाँधेको क्याप्टेन आर्मब्यान्ड ५ लाख १२ हजार डलरमा बिक्री भयो।
सन् २०१७ मा बार्सिलोनाले पिएसजीविरुद्ध ६–१ को ऐतिहासिक जित निकाल्दा मेसीले लगाएको जर्सी २ लाख १७ हजार ६ सय डलरमा बिक्री भयो।
सन् २००२ को विश्वकपमा बेकह्यामले आफ्नो ५०औँ अन्तर्राष्ट्रिय खेल खेल्दा लगाएको जर्सी ५१ हजार २ सय डलरमा बिक्री भयो।