फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र इंग्ल्यान्डबीच भएको सेमिफाइनल खेलका क्रममा लिओनल मेसीसँग भएको 'भनाभन' जस्तो देखिने दृश्यबारे इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिङघमले स्पष्ट पारेका छन्।
खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको थियो।
इंग्ल्यान्डका एन्थोनी गोर्डनले सुरुवाती गोल गरे पनि मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतमा अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गर्दै खेल उल्टाएको थियो।
खेलको पहिलो हाफमा मेसी र बेलिङघमबीच हात हल्लाउँदै र अनुहार बिगार्दै केही कुरा भएको थियो, जसले धेरैको ध्यान तानेको थियो।
यसबारे इएसपिएनले बेलिङघमको भनाइ उल्लेख गरेको छ। बेलिङघमको भनाइ छ, ‘हामी फाउलको विषयमा कुरा गर्दै थियौँ। यो कुनै नराम्रो कुरा थिएन। मलाई थाहा छ मानिसहरूले यसलाई ठूलो मुद्दा बनाउनेछन्, तर वास्तवमा यो सामान्य थियो।’
बेलिङघले अगाडि थपे, ‘अलि अगाडि एउटा फाउल भएको थियो, मेसीले मलाई 'ममाथि भएको फाउल नि?' भनेर सोधे। मैले ठट्टा गर्दै भनेँ– 'तपाईँ यो सहन सक्ने बलियो हुनुहुन्छ नि!' मेरो मतलब उनी महान् छन् भन्ने नै थियो।’
बेलिङघमले मेसीसँग खेल्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको तर हारले निकै चित्त दुखेको बताए।