अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्जेन्टिनासँगको विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलको रणनीतिको आलोचना गरेका छन्।
उनले टोलीका प्रमुख स्ट्राइकर ह्यारी केनलाई दोस्रो हाफमा रक्षात्मक भूमिकामा खेलाउनु गल्ती भएको बताएका हुन्।
अर्जेन्टिनासँग २–१ ले पराजित हुँदै इङ्ग्ल्यान्ड विश्वकपबाट बाहिरिएपछि टुचेलको रणनीतिमाथि पूर्वखेलाडी, विश्लेषक र समर्थकहरूले पनि प्रश्न उठाइरहेका छन्।
इङ्ग्ल्यान्डले एन्थोनी गोर्डनको गोलबाट अग्रता लिए पनि अन्तिम समयमा लियोनेल मेसीको उत्कृष्ठ प्रदर्शनमा अर्जेन्टिनाले दुई गोल फर्काएर फाइनलमा स्थान बनाएको थियो।
इंग्लिस प्रशिक्षक टुचेलले एक गोल गरिसकेपछि पाँच डिफेन्डरको रणनीतिमा खेलाएका थिए। त्यसरी खेल सक्ने निर्देशनप्रति टोलीका केही प्रमुख खेलाडी पनि असन्तुष्ट रहेको खबर सार्वजनिक भएको थियो।
शुक्रबार ट्रम्प टावरमा आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले भने, ‘इङ्ग्ल्यान्डमा मैले गल्फ खेलेको एक उत्कृष्ट खेलाडी छन्, ह्यारी केन। उनी शानदार खेलाडी हुन्। तर उनलाई डिफेन्समा खेलाउनु गल्ती भयो जस्तो लाग्छ।’
आफ्ना उत्कृष्ट स्ट्राइकरहरूलाई रक्षात्मक भूमिकामा खेलाउनु गलत भएको उनले बताए।
‘उनीहरू अग्रतामा थिए, तर आफ्नै उत्कृष्ट खेलाडीलाई रक्षात्मक भूमिकामा लगाए। अलिकति आक्रमक पनि हुनुपर्थ्यो। म प्रशिक्षक होइन, फुटबलबारे कति जान्दछु र? तर त्यो निर्णय अस्वाभाविक लाग्यो,’ उनले भने।
ट्रम्पको टिप्पणीबारे पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा इङ्ग्ल्यान्डका प्रशिक्षक टुचेलले भने त्यसलाई धेरै महत्व नदिँदै टिप्पणी गर्न अस्वीकार गरेका थिए।
बालोगुन प्रकरणमा पनि ट्रम्पको खुलासा
सोही कार्यक्रममा ट्रम्पले अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध हटाउन आफूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेको खुलासा पनि गरे।
बालोगुनले बोस्निया–हर्जेगोभिनाका तारिक मुहारेमोभिचमाथि गरेको फाउलका कारण रातो कार्ड पाएका थिए।
त्यसपछि उनीमाथि स्वतः लाग्ने एक खेलको प्रतिबन्धलाई फिफाले १२ महिनाका लागि स्थगित गरिदिएको थियो। यो निर्णयले फुटबल जगतमा व्यापक विवाद निम्त्याएको थियो।
‘मैले जियानीलाई फोन गरेर गुनासो गर्न चाहेको बताएँ। त्यसपछि के हुन्छ भन्ने मलाई थाहा थिएन। तर अन्ततः जे भयो, त्यसले विवाद पनि कम गरिदियो। बेल्जियमले खेल जित्यो र हाम्रो टोलीले आफ्ना सबै खेलाडी मैदानमा राख्न पायो। सोच्दा त्यो पनि राम्रो निर्णय थियो।’