अर्जेन्टनाइन स्टार लियोनल मेसीले आफूले बच्चा हुँदा काखमा लिएका लामिन यमालसँग विश्कपको फाइनल खेल्ने अनौठो संयोग जुरेको बताएका छन्।
अर्जेन्टिना र स्पेनबीच सोमबार बिहान हुने विश्वकप उपाधि भिडन्तअघि आयोजित कार्यक्रममा मेसीले लामिनसँग खेल्दै छु भन्ने कुरा आफूलाई अविश्वास लागिरहेको बताएका हुन्।
सन् २००७ मा लामिन ५ महिनाको हुँदा मेसीले उनलाई बाथटबमा नुहाइदिएको र काखमा बोकेको तस्बिर अहिले फेरि भाइरल भएको छ।
यही तस्बिरबारे न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा एनएफएलका महान् खेलाडी टम ब्राडीले सोधेको प्रश्नमा जबाफ दिँदै मेसीले त्यसलाई विशेष संयोग भनेका हुन्।
'त्यो तस्बिर अविश्वसनीय छ। र अहिले हामी दुवै विश्वकप उपाधिका लागि भिडिरहेका छौं भन्ने कुरा अझै अचम्भित पार्ने कुरा हो,' मेसीले जबाफमा भने।
मेसीले यमाल अहिले विश्वकै उत्कृष्ट खेलाडीहरूमध्यकै एक भएको बताए।
'उनी अहिले विश्वका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। उनको सफलता बार्सिलोनाको सफलता पनि हुनेछ,' ३९ वर्षीय मेसीले भने।
तर फाइनलमा भने अर्जेन्टिनाले यमाललाई स्वतन्त्र रूपमा खेल्न नदिने मेसीले स्पष्ट पारे।
'हामी उनलाई आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नबाट रोक्ने प्रयास गर्नेछौं। स्पेन केवल यमालमा निर्भर टोली होइन, उनीहरूको समग्र टोली नै निकै बलियो छ,' उनको भनाइ उद्धृत गरेर बिबिसी स्पोर्ट्सले लखेको छ।
तर उनी एक असाधारण र विश्वव्यापी स्टार खेलाडी हुन् भन्नेमा कुनै दुइमत नरहेको मेसीले बताए। यमाल अहिले भर्खर १९ वर्ष भएकाले उनको पूरा करिअर अगाडि रहेको मेसीले बताए।
'उनी केवल १९ वर्षका छन् र उनको पूरा करिअर अगाडि छ। म उनलाई भविष्यका लागि शुभकामना दिन्छु, तर यसपटक उनी च्याम्पियन नबनुन् भनेर हामी आफ्नो सबै शक्ति लगाउनेछौं,' मेसीले भने।
यमालले १५ वर्षको उमेरमै बार्सिलोनाबाट डेब्यु गरेका थिए।
उनले मेसीले लामो समय लगाएको बार्सिलोनाको प्रतिष्ठित नम्बर १० जर्सी पनि सम्हालिसकेका छन्।
उनले स्पेनलाई युरो २०२४ को उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। अब १९ वर्षको उमेरमै विश्वकप जित्न सफल भए उनी युरोकप र विश्वकप दुवै जित्ने सबैभन्दा कान्छा खेलाडी बन्नेछन्।