फिफा विश्वकप २०२६ को गोल्डेन बुट र विश्वकपकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सेली स्टार किलियन एम्बाप्पेले अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पछि पारेका छन्।
आइतबार बिहान विश्वकप २०२६ को तेस्रो स्थानका लागि इंग्ल्याण्ड विरूद्धको खेलमा एमबाप्पेले दुई गोल गर्दै दुवै दौडमा मेसीलाई पछि पारेका हुन्। उनले एउटा असिस्ट पनि गरे।
योसँगै एम्बाप्पेले जारी विश्वकपमा १० गोल चार असिस्ट आफ्नो नाममा गरेका छन्।
फाइनल खेलअघि मेसीको नाममा ८ गोल र ४ असिस्ट छ। गोल्डेन बुट प्राप्त गर्न मेसीले फाइनल खेलमा कम्तिमा २ गोल गर्नुपर्ने छ।
तर दुई गोलभन्दा कम गरे एमबाप्पे दोस्रो पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्नेछन्।
दुवै खेलाडीबीच विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धा पनि उत्तिकै रोचक बनेको छ।
एमबाप्पे अहिले विश्वकपमा कुल २२ गोलसहित शीर्ष स्थानमा छन् भने मेस्सी २१ गोलका साथ एक गोलले पछाडि छन्।
एमबाप्पेले जम्मा तीन वटा विश्वकप खेलेर २२ गोल गरेका हुन्।
उनले २०१८ को विश्वकपमा ४ गोल, २०२२ को विश्वकपमा ८ गोल गरेका छन्।
मेसीले बनाएको २१ गोल भने ६ वटा विश्वकपको कुल योगफल हो।
इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एमबाप्पे यस संस्करणमा १० गोल पुर्याउने पहिलो खेलाडी बनेका छन्। यो सन् १९७० मा पश्चिम जर्मनीका गेर्ड मुलरले १० गोल गरेयताको पुरुष विश्वकपमा एउटै संस्करणमा दोहोरो अंकमा गोल पुर्याउने पहिलो उपलब्धि हो।
यसअघि विश्वकपको एउटै संस्करणमा आठ वा त्योभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा गेर्ड मुलर, जस्ट फन्टेन, सान्दोर कोचिस, अडेमिर, एउसेबियो, गिलेर्मो स्टाबिले, रोनाल्डो (ब्राजिल) र एमबाप्पे मात्र थिए। एमबाप्पेले अहिले आफ्नै कीर्तिमान तोडेका छन्।
यता इंग्ल्यान्डका जुड बेलिङ्घम पनि विश्वकपको एउटै संस्करणमा सर्वाधिक गोल गर्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। फ्रान्सविरुद्ध तेस्रो स्थानको खेलमा एक गोल गरेसँगै उनले प्रतियोगितामा सात गोल पुर्याएका छन्।