फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिना आइतबार राति भिड्दै छन। फाइनलमा स्पेनको 'ला लिगा' का खेलाडीहरूको वर्चस्व देखिएको छ।
फाइनल खेल्ने टोलीका कुल ५२ खेलमध्ये ला लिगाका मात्र २४ खेलाडी छन् (स्पेनका १८ र अर्जेन्टिनाका ६ खेलाडी)। यस्तै इंग्लिस प्रिमियर लिगका १३ खेलाडी पनि फाइनल खेल्दैछन्।
ला लिगाका अध्यक्ष हाभियर टेबासका अनुसार यो कुनै संयोग मात्र नभई उनीहरूको बलियो फुटबल संरचनाको नतिजा हो।
टेबास दाबी गर्छन् कि स्पेनको फुटबल संरचना संसारकै उत्कृष्ट छ। यहाँका खेलाडीहरू प्राविधिक रूपमा दक्ष, प्रतिस्पर्धी र शारीरिक रूपमा मजबुत हुन्छन्।
स्पेनको सफलताको जग यहाँका एकेडेमीहरू हुन्। बार्सिलोनाको 'ला मासिया' वा रियल मड्रिडको 'ला फाब्रिका' मात्र होइन, साना र व्यावसायिक नभएका क्लबहरूले पनि खेलाडी उत्पादनमा ठूलो लगानी गरेका छन्।
स्पेनिस क्लबहरूले दशकौंदेखि अर्जेन्टिनी प्रतिभाहरूलाई पहिचान गरी निखार्ने काम गरेका छन्। यसको सबैभन्दा ठूलो उदाहरण लियोनल मेसी हुन्, जो १३ वर्षको उमेरमा स्पेन आएका थिए।
इङ्लिस प्रिमियर लिग जस्तो महँगा खेलाडी किन्नुको सट्टा ला लिगाले क्लबहरूलाई आफ्नै एकेडेमीबाट खेलाडी निकाल्न प्रोत्साहन गर्छ। कडा आर्थिक नियमका कारण क्लबहरूले जथाभावी पैसा खर्च गर्न पाउँदैनन्।
सन् २०२१ को विवादास्पद 'सिभिसी सम्झौता' बाट आएको करिब २.४ अर्ब डलर रकममध्ये ७० प्रतिशत हिस्सा रङ्गशाला निर्माण र प्रविधिमा खर्च गरिएको छ। टेबास भन्छन्, ‘मैले सरकारलाई भनेको छु— रङ्गशाला बनाउन सार्वजनिक पैसा चाहिँदैन, त्यो पैसा बाटो, अस्पताल र विद्यालय बनाउन खर्च गर्नुस्।’
सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्दैछन्। टेबासको स्पष्ट अडान छ कि विश्वकपको फाइनल स्पेनमै हुनुपर्छ।
टेबासले फिफाका पदाधिकारीहरूको कडा आलोचना गरेका छन्। फिफाले विश्वकपमा टोलीको सङ्ख्या बढाउँदै लैजाँदा (४८ बाट ६४ पुर्याउने चर्चा) घरेलु लिगहरूलाई क्षति पुग्ने उनको तर्क छ। उनी भन्छन्, ‘यी ठूला अधिकारीहरूले कहिल्यै फुटबल क्लब चलाएका छैनन्, त्यसैले उनीहरूले आफ्नो निर्णयको गम्भीरता बुझ्दैनन्।’
________________________________________