फ्रान्सका कप्तान केलियन एमबाप्पेले फाइनल खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्ने निश्चित रहेको बताएका छन्।
इंग्ल्याण्डविरूद्ध २ गोल गरेसँगै गोल्डेन बुटको दौडमा मेसीलाई उछिनेका एमबाप्पेले खेलपछि फक्स न्युजसँगको कुराकानीमा मेसीले फाइनलमा गोल गर्ने बताएका हुन्।
'लियोले सँधै गोल गरेका छन्। स्पेन विरूद्धको फाइनलमा पनि उनले पक्कै गोल गर्नेछन्,' उनले भने।
२७ वर्षीय एमबाप्पेले विश्वकपमको जारी संस्करणमा १० गोल गरेका छन्। उनले गोल्डेन बुटको प्रतिस्पर्धामा आफ्नो दाबी बलियो बनाएका छन्।
सो दौडमा मेसी २ गोलले पछि परेका छन्। सेमिफाइनल सकिँदा दुवै ८/८ गोलसहित शीर्ष स्थानमा थिए।
एम्बाप्पेलाई जित्न अब मेसीले फाइनल खेलमा स्पेनविरूद्ध कम्तिमा २ गोल गर्नुपर्नेछ।
इंग्ल्याण्ड विरुद्धको खेल बाटै एम्बाप्पेले अर्को रेकर्ड राखे।
उनी विश्वकपको तीन वटा संस्करण मात्रै खेलेर पनि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। एम्बाप्पेले कुल २२ गोल गर्दै यसमा पनि मेसीलाई उछिनेका हुन्।
मेसीले जारी विश्वकपमा समूह चरणमा अस्ट्रियाविरूद्धको खेलबाट जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमान तोडेका थिए। त्यसपछि जोर्डन, केप भर्ड र इजिप्टविरुद्ध पनि गोल गर्दै उनले विश्वकपमा व्यक्तिगत गोल संख्या २१ पुर्याएका थिए। तर एमबाप्पेले अब २२ गोलसहित उनलाई पछि पारेका छन्।
यो कीर्तिमानी तोडे पनि एमबाप्पे त्यति खुशी सुनिएनन्। उनले विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा हुनु गर्वको विषय भए पनि फाइनल खेल्न नपाउनु पीडादायी रहेको बताए।
'म इतिहासकै सर्वाधिक गोलकर्ता बन्नुभन्दा भोलिको फाइनल खेल्न पाएको भए बढी खुशी हुन्थें। विरासतका हिसाबले यो राम्रो कुरा हो, तर अहिले मेरो दिमागमा सबैभन्दा पहिले त्यो छैन,' उनले भने।
सन् २०२२ को विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरे पनि मेसीको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिनाले उपाधि जितेको थियो।
अब चार वर्षपछि फेरि मेसी फाइनलमा छन्। र एमबाप्पेले पनि स्वीकार गरेका छन्— मेसीले गोल गर्ने पक्का छ।