फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ।
यो खेलमा अर्जेन्टिना कप्तान लिओनल मेसी र स्पेनका युवा स्टार लामिन यामलको खेललाई लिएर निकै चर्चा भइहरेको छ।
यद्यपी यो विश्वकपमा यामलले अहिलेसम्म आफ्नो सर्वश्रेष्ठ प्रदर्शन देखाउन बाँकी नै छ। उत्कृष्ट खेल शैलीका कारण उनी कुनै पनि टोलीका लागि टाउको दुखाइ बन्न सक्नेमा भने कुनै शंका छैन।
स्पेन र अर्जेन्टिनाबीचको फाइनल खेलअघि अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कोलोनीले यी १९ वर्षीय स्टारलाई रोक्न कति चुनौतीपूर्ण छ भन्ने कुरा सार्वजनिक रूपमै स्विकारेका छन्।
उनले ठट्टा गर्दै भनेको एउटा वाक्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। स्कोलोनीले हाँस्दै भने, ‘लामिनलाई कसरी रोक्ने? कास! हामीले उनलाई कोठाभित्र थुनेर राख्न सक्ने भए कति जाती हुन्थ्यो!’
पत्रकारमाझ यो टिप्पणीले हाँसो त फैलायो, तर यसको पछाडि एउटा गम्भीर सन्देश लुकेको थियो। अर्जेन्टिनी प्रशिक्षकले बार्सिलोनाका विंगर यामलप्रति निकै ठूलो सम्मान व्यक्त गरेका छन्।
जिस्किएर बोले पनि स्कोलोनीले लामिनको खुलेर प्रशंसा गरे। उनले भने, ‘उनी साँच्चै एक असाधारण खेलाडी हुन्। उनी फुटबलकै लागि एउटा रत्न हो। उनी अझै धेरै युवा छन् र फुटबललाई अझ धेरै योगदान दिन बाँकी छ।’
स्कोलोनीले यो कुरा त्यसै भनेका होइनन्। यो विश्वकपभरि कुनै पनि विपक्षी टोलीले लामिनलाई एक्लै रोक्ने आँट गरेका छैनन्। उनले दायाँ भाग (राइट फ्ल्याङ्क) बाट खतरा सिर्जना नगरून् भनेर विपक्षी टोलीले सधैं दुई-तीन जना डिफेन्डरहरू खटाउने गरेका छन्। त्यसैले पनि उनको व्यक्तिगत गोल वा तथ्यांक धेरै नदेखिएको हुन सक्छ। तर, उनले मैदानमा पाउने 'कडा पहरेदारी' ले नै उनको क्षमता र डर कति छ भन्ने स्पष्ट पार्छ।
लामिन यामलको यो विश्वकप यात्रा धेरैले सोचेभन्दा फरक रह्यो। सिजनको अन्त्यमा चोटका कारण करिब दुई महिना मैदान बाहिर रहेकाले विश्वकपको सुरुवाती खेलमा उनी पूर्ण फिट देखिएका थिएनन्। तर खेल हुँदै जाँदा उनले आफ्नो लय समातेका छन्।
उनले साउदी अरेबियाविरुद्ध आफ्नो पहिलो विश्वकप गोल गरे भने बेल्जियमविरुद्ध उत्कृष्ट प्रदर्शन गरे।
फ्रान्सविरुद्धको सेमिफाइनलमा उनले गरेको उत्कृष्ट गोललाई 'अफसाइड' भन्दै रद्द नगरिएको भए, त्यो यो विश्वकपको उत्कृष्ट गोलमध्ये एक हुने थियो। उनी आफैंले गोल नगर्दा पनि विपक्षीको रक्षापंक्तिलाई अलमल्याएर आफ्ना सहकर्मीलाई लागि खाली ठाउँ बनाइदिन उनी माहिर छन्।
अर्जेन्टिनी प्रशिक्षक स्कोलोनीले ठट्टा गर्दै लामिनको लय फाइनलमा नचलोस् भन्ने कामना पनि गरे। उनले भने, ‘उनले स्पेनलाई भविष्यमा धेरै खुसी दिनेछन्, तर आशा गरौँ यो आइतबार त्यस्तो नहोस्।’
उनले लामिनलाई लियोनल मेसLसँग तुलना गर्दै भने, ‘मेसी जस्तै उनलाई पनि मार्क गर्न र रोक्न निकै गाह्रो छ।’
विश्वकप विजेता प्रशिक्षकले मेसLसँग तुलना गर्नु आफैंमा ठूलो कुरा हो। यसले १९ वर्षकै उमेरमा लामिनले कति ठूलो प्रभाव पारिसकेका छन् भन्ने देखाउँछ। आइतबारको फाइनलमा लामिनले यो विश्वकपको सबैभन्दा अनुभवी रक्षापंक्तिको सामना गर्नेछन्। स्कोलोनीलाई थाहा छ— केही खेलाडीहरूलाई जतिसुकै योजना बनाए पनि पूर्ण रूपमा रोक्न सकिँदैन। र, लामिन यामल त्यस्तै एक खेलाडी हुन्।