स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप उपाधि जितेपछि १९ वर्षीय लामिन यामलले आँसुमा डुबेका लियोनल मेसीलाई अँगालो हाले।
न्युयोर्क–न्यु जर्सी स्टेडियममा अर्जेन्टिनाका समर्थकहरूले मेसीको नाम गुञ्जाइरहँदा ३९ वर्षीय मेसी लामो समयसम्म उनीहरूलाई हेरिरहेका थिए।
पछि आफ्ना समर्थकहरूतर्फ हेर्दै गर्दा मेसीको आँखाबाट आँसु खसेका थिए। उनी निकै बेर रोइरहे।
भुइँमा बसेर समर्थकतर्फ हेर्दै गर्दा लामिन मेसीलाई अँगालो हाल्न पुगेका थिए।
सम्भवतः विश्वकपको सबैभन्दा ठूलो मञ्चमा उनको अन्तिम उपस्थितिपछि भावुक बनेका मेसीलाई यामलले सान्त्वना दिएका थिए।
यो दृश्य विश्व फुटबलमा पुस्तान्तरणको प्रतीक बनेको छ।
धेरै फुटबलप्रेमीहरूले यसलाई मेसी युगको अन्त्य र लामिन युगको सुरूवात भएको विश्लेषण गरिरहेका छन्।
बार्सिलोनाको नम्बर १० जर्सी लगाउने यामलले क्लबकै इतिहासका सबैभन्दा महान नम्बर १० मेसीलाई अँगालो हाल्नु धेरैका लागि विशेष क्षण बन्यो।
यसअघि सन् २००७ मा २० वर्षीय मेसीले ६ महिनाका शिशु यामललाई नुहाइरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
परोपकारी क्यालेन्डरका लागि खिचिएको उक्त तस्वीर फाइनलअघि फेरि चर्चामा आएको थियो। त्यतिबेला शिशु रहेका यामल आज विश्वकप विजेता युवा स्टार बनेका छन् भने मेसीको विश्वकप यात्रा अन्त्यतिर पुगेको संकेत देखिएको छ।
उसो त मेसी आफै पनि यामलको प्रदर्शनको प्रशंसक हुन्। फाइनलअघि भएको पत्रकार सम्मेलनमा उनले यामलको खुलेर तारिफ गरेका थिए। आफूले लामो समय बिताएको क्लब बार्सिलोनालाई अब यामलले थप उचाइमा पुर्याउन सक्ने बताएका थिए।
यामलले दुई वर्षअघि स्पेनलाई युरोकप जिताउन योगदान दिएका थिए। अब १९ वर्ष ६ दिनको उमेरमा विश्वकप र युरोकप दुवै जित्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्।
ह्यामस्ट्रिङ चोटको समस्यासँगै प्रतियोगितामा प्रवेश गरेका यामल फाइनलसम्म आइपुग्दा स्पेनका प्रमुख खेलाडीमध्ये एक बने। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलसँगै स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभुत्व कायम राख्यो।
यामलले आफ्नो देशका लागि खेलेका २८ प्रतिस्पर्धात्मक खेलमध्ये कुनै पनि खेले हारेका छैनन्।
ठूला प्रतियोगितामा उनले सुरुआत गरेका १३ खेलमा स्पेनले शतप्रतिशत जित निकालेको छ, जुन युरोपेली खेलाडीमध्ये कीर्तिमानी उपलब्धि हो।
यामल र उनका १९ वर्षीय सहकर्मी पाउ कुबार्सी विश्वकप फाइनलमा खेल्दै उपाधि जित्ने क्रमशः चौथो र पाँचौँ किशोर खेलाडी बने। यसअघि पेले (१९५८), ज्युसेपे बेर्गोमी (१९८२) र किलियन एमबाप्पे (२०१८)ले यस्तो उपलब्धि हासिल गरेका थिए।
स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्तेले यामलप्रति कृतज्ञता व्यक्त गर्दै भने, 'उनले उत्कृष्ट फुटबल खेलेका छन्, जसले उनलाई अझ परिपक्व र महान खेलाडी बन्न मद्दत गर्नेछ। उनले टोलीको हितका लागि ठूलो त्याग गरे, र मेरो विचारमा उनले उत्कृष्ट विश्वकप खेले।'
फाइनलमा अर्जेन्टिनाले यामललाई दबाबमा पार्ने प्रयास गरेको थियो।
विशेषगरी निकोलास टालियाफिकोसँग उनको बारम्बार भिडन्त भयो। तर यामल कुनै पनि क्षण विचलित भएनन्।
पूर्व इंग्ल्यान्ड गोलकिपर जो हार्टले भने, 'यामलले प्रतिक्रिया मात्र दिएनन्, उनले दबाबको सामना गरे। उनी न त डराए, न पछि हटे। १९ वर्षको उमेरमा उनले फुटबलमा धेरै कुरा पूरा गरिसकेका छन्।'
कप्तान तथा प्रतियोगिताका उत्कृष्ट खेलाडी रोड्रीजस्ता अनुभवी सहकर्मीको साथमा यामलको करियर अझै सुरुआती चरणमा छ।
तर विश्वकप र युरोकप दुवै जितिसकेपछि उनी आगामी वर्षहरूमा अझ धेरै सफलता हासिल गर्ने प्रबल दाबेदारका रूपमा उदाएका छन्।