फिफा विश्वकप २०२६ उपाधिसँगै स्पेनले विभिन्न कीर्तिमान बनाएको छ। आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा साविक विजेता अर्जेन्टिनालाई १-० गोलले हराएर स्पेनले सन् २०१० पछि उपाधि जितेको हो।
७९० (पासिङ मेसिन रोड्री)
कप्तान तथा मिडफिल्डर रोड्रिले विश्वकप २०२६ मा ७९० वटा पास खेलेर नयाँ विश्व कीर्तिमान कायम गरे। उनले कतार २०२२ मा बनाएको आफ्नै रेकर्ड पनि तोडेका छन्। उनले कुल ६३८ वटा सफल पास दिँदै सन् २०१० मा जाभीले राखेको कीर्तिमान (५९९ सफल पास) लाई उछिने। उनीपछि स्पेनकै पाउ कुबार्सी (६६८) र आइमेरिक लापोर्टे (६१८) रहे।
७५० (मैदानमा बिताएको समय)
स्पेनका डिफेन्डरद्वय मार्क कुकुरेला र पाउ कुबार्सीले प्रतियोगिताभर कुल ७५० मिनेट मैदानमा बिताए। कुनै पनि 'आउटफिल्ड' खेलाडीले मैदानमा बिताएको यो सबैभन्दा धेरै समय हो। अर्जेन्टिनाका एलेक्सिस म्याक अलिस्टरले पनि उति नै समय खेलेका थिए।
८ (विपक्षीबाट बल खोस्ने सक्रियता)
फरवार्ड मिकेल ओयार्जाबलले विपक्षी खेलाडीको नियन्त्रणबाट ५८ पटक बल खोसे, जुन प्रतियोगितामै सबैभन्दा धेरै हो। यस्तै, ड्यानी ओल्मोले विपक्षीलाई सबैभन्दा धेरै ३०५ पटक रक्षात्मक दबाब दिएर अप्ठ्यारोमा पारे।
३८ (अपराजित यात्रा)
न्यू जर्सी स्टेडियममा अर्जेन्टिनालाई हराएसँगै स्पेन लगातार ३८ खेलसम्म अपराजित रहँदै नयाँ अन्तर्राष्ट्रिय कीर्तिमान बनाउन सफल भयो। सन् २०२४ को मार्चमा कोलम्बियासँग हारेयता स्पेनले २९ खेल जितेको छ भने ९ खेल बराबरी खेलेको छ। यसअघि इटालीको ३७ खेलको रेकर्ड थियो।
३५ (लामिन यामलको जादु)
१९ वर्षका युवा स्टार लामिन यामलले यस प्रतियोगितामा सबैभन्दा धेरै ३५ पटक विपक्षी खेलाडीलाई छलाउँदै बल अगाडि बढाए। उनले एम्बाप्पे (२८) र मेसी (२५) लाई पनि पछि पारे। (यद्यपि, एकै विश्वकपमा धेरै ड्रिबल गर्ने रेकर्ड भने म्याराडोनाको ५३ पटक र मेसीको ४६ पटकको अझै कायमै छ)।
१९ (कान्छा विजेता)
१९ वर्ष ६ दिनको उमेरमा लामिन यामल विश्वकप जित्ने चौथो कान्छा खेलाडी बने। उनीभन्दा कम उमेरमा विश्वकप जित्नेहरूमा पेले, रोनाल्डो (ब्राजिल) र जुसेप्पे बर्गामी (इटाली) मात्र छन्। अर्का स्पेनिस खेलाडी पाउ कुबार्सी (१९ वर्ष १७८ दिन) यो सूचीको सातौँ स्थानमा परे।
१४ (गोल)
स्पेनले यो विश्वकपभरि जम्मा १४ गोल गर्यो। यो स्पेनले कुनै पनि एउटै विश्वकपमा गरेको सबैभन्दा धेरै गोल हो। सन् २०१० मा च्याम्पियन बन्दा स्पेनले जम्मा ८ गोल मात्र गरेको थियो।
६५० (नयाँ 'वाल' उनाई सिमोन)
गोलकिपर उनाई सिमोनले ८ मध्ये ७ खेलमा कुनै पनि गोल खान दिएनन्, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो। उनले लगातार ६५० मिनेटसम्म गोल नखाई इटालीका वाल्टर जेङ्गाको ५१७ मिनेटको पुरानो रेकर्ड पनि तोडिदिए।
५ (ओयार्जाबलको कीर्तिमान)
मिकेल ओयार्जाबलले यस प्रतियोगितामा ५ गोल गरे। योसँगै उनले एउटै विश्वकपमा धेरै गोल गर्ने स्पेनिस खेलाडीहरू डेभिड भिया र एमिलियो बुट्रागुएनोको रेकर्ड बराबरी गरे।
२ (निर्णायक फेरान टोरेस)
फेरान टोरेस विश्वकपको फाइनलमा अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेर निर्णायक गोल गर्ने विश्वकै दोस्रो खेलाडी बने। यसअघि सन् २०१४ मा जर्मनीका मारियो गोट्जेले यस्तो गरेका थिए।्
१ (उत्कृष्ट रक्षापङ्क्ति)
स्पेनले प्रतियोगिताभर जम्मा १ गोल मात्र खायो। विश्वकप जित्ने टोलीले खाएको यो अहिलेसम्मकै कम गोल हो। यसअघि फ्रान्स (१९९८), इटाली (२००६) र स्पेन (२०१०) ले २-२ गोल खाएका थिए।