रूकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते भएका चार जनालाई हेलिकप्टर कोहलपुर र काठमाडौं लगिएको छ।
मुसिकोट नगरपालिका- २ रातामाटामा सोमबार भएको दुर्घटनामा घाइते भएकाहरूलाई मंगलबार दिउँसो दुइटा हेलिकप्टरमार्फत् तीन जनालाई कोहलपुर र एक जनालाई काठमाडौं लगिएको हो।
गम्भीर घाइते मुसिकोट नगरपालिका १ का ३५ वर्षीय विकास भण्डारी, सोही ठाउँका ७६ वर्षीय कालिबहादुर खत्री र २२ वर्षीय दिनेश केसीलाई बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा थप उपचारका लागि लगिएको छ। त्यस्तै सोही ठाँउका ४८ वर्षीय टेकबहादुर बस्नेतलाई भने थप उपचारका लागि काठमाडौं पठाइएको छ।
जिल्लाको बाफीकोट गाउँपालिका २ पिपलबाट जन्ती लिएर मुसिकोट नगरपालिका १ घिमानेतर्फ गइरहेको रा १ ख २१०९ बस सोमबार बेलुका साढे सात बजे दुर्घटनामा परेको थियो। दुर्घटनामा ४० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले रूकुम पश्चिमले जानकारी दिएको छ।
गम्भीर घाइते १० मध्य मुसिकोट नगरपालिका १ घिमानेका ६७ वर्षीय बुधुराम खड्काको उपचारका लागि एम्बुलेन्सबाट कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।