करिब नौ वर्षअघिको कुरा हो।
लेक्स लिम्बू परिवारका साथ तीन दिन घुम्न जाने तयारीमा थिए। जानुभन्दा अघिल्लो दिन लेक्सले सात वर्षअघिदेखि आफ्नो मनमा गुम्सिएको कुरा भन्ने सोचे।
त्यसअघि पनि उनले आफ्नो कुरा भन्न धेरै सोचेका थिए तर सकेका थिएनन्।
त्यो दिन भने हिम्मत जुटाए।
त्यो बेला २४ वर्ष उमेरका लेक्सले आमाबुबातिर फर्केर भने— मैले तपाईंहरूलाई एउटा कुरा भन्नु छ, म गे हुँ!
आमाबुबा अचम्म परे।
उनीहरू केही बोल्न नपाउँदै लेक्सले थपे — म तपाईंको छोरा नै हुँ तर हुर्किँदै गर्दा मलाई केटीभन्दा केटा बढी मनपर्न थाल्यो। केटाप्रति आकर्षित हुन्छु। त्यसैले अब छोराले बिहे गरेर बुहारी ल्याउँछ भन्ने नसोच्नुहोला। म गे नै रहेर बाँच्न चाहन्छु।
केही बेरको मौनता तोड्दै आमाले सोधिन्— साँच्चै हो! तिमीलाई कहिले थाहा भयो? के प्रमाण छ?
लेक्सले जबाफ दिए— यो भावनात्मक कुरा हो, बाहिर देखिने गरी कुनै प्रमाण हुँदैन। म प्रस्ट छु, कुनै अलमल छैन।
आमाले चिन्ता प्रकट गरिन्— त्यसरी जिन्दगी बिताउन गाह्रो हुन्छ, भविष्यमा समस्या पर्छ।
'आमा केही चिन्तित हुनुहुन्थ्यो। अनेक प्रश्न गर्नुभयो,' लेक्सले सुनाए, 'मैले पनि आमालाई आफ्नो भावनात्मक कुरा बुझाउने प्रयास गरेँ। म गेबाट अर्को हुन नसक्ने प्रस्ट पारेँ।'
यत्तिकैमा उनका दुईमध्ये जेठी दिदी आइपुगिन्। अवस्था देखेर के भयो भनेर सोधिन्। लेक्सले आमाबुबालाई आफ्नो कुरा भनेको सुनाए। दिदीलाई लेक्सको यौनिक तथा लैंगिक पहिचानबारे पहिल्यै थाहा थियो।

दिदी उसो भए कुरा गर भन्दै अर्को कोठामा गइन्।
लेक्स र आमाबुबाबीच करिब तीन घन्टा कुरा भयो।
रात छिप्पिँदै जाँदा अन्तिममा आमाबुबाले एक स्वरमा भने — तिमी खुसी रहन्छौ भने हामी तिम्रा साथमा छौं।
'सात वर्षदेखि मनमा लुकाएर राखेको कुरा भन्न पाउँदा म खुसी थिएँ। आमाबुबा चाहिँ त्यो रात निदाउन सक्नुभएन,' उनले भने।
पूर्वतयारी अनुसारै स–परिवार घुम्न गए। लेक्सलाई आफूप्रति आमाबुबाको व्यवहार परिवर्तन हुने हो कि भने भय थियो। तर भएन।
भ्रमण सकेर फर्केपछि आमाबुबाले लेक्सलाई भने — तिमीले हामीलाई पहिले किन भनेनौ? यतिका वर्ष मनमा गुम्स्याएर राख्दा कति तनाव भयो होला! कसरी लुकाएर राख्यौ?
उनले प्रस्ट पारे – पढ्दै थिएँ, आत्मनिर्भर भएको थिइनँ, सबैतिरबाट तयार भएपछि सुनाएको हुँ।
'आमाले तिमीले डर मान्नु मार्दैन, हामी साथमा छौं, हामीले गर्नुपर्ने सहयोगका लागि तयार छौं भनेपछि बल्ल मलाई ढुक्क भयो,' लेक्सले भने।
लेक्सले १८ वर्षको उमेर छँदा आफू गे हुँ भन्ने बुझेका थिए।
आफ्नो पहिचानले समस्या हुन्छ कि भन्ने डरले सुनाउन सकेका थिएनन्।
'समस्या भयो भने घर छोड्छु, एक्लै बस्छु भन्ने सोचेको थिएँ,' उनले भने, 'आफू आत्मनिर्भर र मानसिक रूपमा तयार भएपछि आमाबुबालाई भनेको हुँ।'
लेक्स सुनसरीको धरानमा जन्मेका हुन्। उनी चार वर्ष उमेरका हुँदा बुबाले परिवारलाई बेलायत लगे। बुबा बेलायती सैनिक सेवामा थिए। लेक्स बेलायतमै हुर्के, उतै पढे।
उनले १५ वर्षकै उमेरदेखि ब्लग लेख्न थालेका थिए। धेरैजसो नेपाली संस्कृति, रहनसहन र नेपाली फिल्मबारे लेख्थे। उनको ब्लग पढ्नेको संख्या राम्रै थियो।
बिस्तारै उनी उनी युट्युब दुनियाँमा प्रवेश गरे, भिडिओ बनाए। दर्शक–श्रोता कमाए।
सानो छँदा उनी आमाबुबाका साथ नेपाल आउँथे। एक्लै यात्रा गर्न सक्ने भएपछि हरेक वर्ष आउन थाले। नेपाल आउँदा नेपाली संस्कृति र नेपालीपन झल्काउने भिडिओ बनाएर युट्युबमा राख्थे।
यही समयतिर उनले आफ्नो यौनिकता तथा लैंगिकतामा फरकपन महसुस गरे।
'मेरो स्वभाव र सोच परिवर्तन भइरहेको थियो। मभित्र के भइरहेको छ भन्ने लागिरह्यो तर थाहा पाउन सकिनँ,' उनले भने।
उनी केटाहरू नै मनपर्न थाल्यो। आफूलाई किन यस्तो भएको भन्ने जिज्ञासा पनि बढ्दै गयो। उनले यसबारे इन्टरनेटमा खोजे, किताबहरू पढे।
बल्ल उनलाई आफ्नो यौनिक तथा लैंगिक पहिचान फरक भएको थाहा भयो। सँगै यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजिबिटिक्युआइए प्लस) समुदायप्रति समाजको दृष्टिकोण राम्रो नरहेको पनि थाहा पाए।

'फरक पहिचान खुलाएर बाँच्ने भए आफू सक्षम हुनुपर्छ भन्ने लाग्यो। त्यही अनुसार आफूलाई तयार पारेँ,' उनले भने।
लेक्सले सन् २०१३ मा क्वीन मेरी युनिभर्सिटीबाट 'ह्युमन जियोग्राफी' विषयमा स्नातक तहको पढाइ पूरा गरे र सन् २०१४ मा नेपाल आए।
बेलायतमा उनलाई कुनै कमी थिएन तर नेपाल आउँदा उनीसँग कुनै ठोस योजना थिएन। तर प्रयास गर्दै जाँदा राष्ट्र संघीय निकाय युएनडिपीमा काम पाए।
उनलाई यहाँ सहज अनुभव भयो तर पढाइ पूरा गर्न भनेर १३ महिनापछि बेलायत फर्के। किङ्स युनिभर्सिटीबाट 'टुरिजम, इन्भाइरोँमेन्ट एन्ड डेभलपमेन्ट' विषयमा स्नातकोत्तर सके।
यसपछि जागिर गरेर केही पैसा जम्मा गर्ने र आत्मनिर्भर बन्ने उद्देश्यका साथ बेलायतमै काम गरे। युट्युब च्यानल चलाइरहेकै थिए। करिब डेढ वर्ष काम गरेपछि केही पैसा बचत भयो। अब आफ्नो लैंगिक पहिचान खुलाएर बाँच्न सक्छु भन्ने हिम्मत आयो। त्यही हिम्मतका साथ त्यो साँझ आमाबुबालाई आफ्नो कुरा सुनाएका थिए।
आफ्नो फरक लैंगिक पहिचान खुलाउन नसकेर गुम्सेका साथीहरूलाई पनि उनले आफ्ना कुरा सुनाए। ती साथीलाई पनि आफ्नो पहिचान खुलाएर बाँच्न सुझाव दिए। तर साथीहरूले हिम्मत गरेनन्।
'व्यक्तिगत स्वतन्त्रताको सशक्त अभ्यास रहेको बेलायतमा त फरक लैंगिक पहिचान खुलाउन यस्तो सकस छ भने नेपालका कस्तो होला भन्ने लाग्यो,' लेक्सले भने, 'त्यसैले यस्ता व्यक्तिको प्रेरणाका लागि केही काम गर्नुपर्छ भन्ने सोचेँ।'
दुई महिनापछि, सन् २०१७ को अन्तिमतिर, लेक्स आमाका साथ नेपाल आए। त्यही बेला आफ्नो लैंगिक पहिचानबारे भिडिओ बनाएर सार्वजनिक गर्ने सोचे। आमालाई पनि केही बोलिदिन आग्रह गरे।
लेक्सले नेपाल घुम्दाका केही दृश्यहरू समेटेर एउटा भिडिओ बनाए। आमा पनि बोलिदिइन्।
बेलायत फर्केपछि उनले आफू पढेको कलेजमा आमाबुबा, केही आफन्त र साथीहरूलाई राखेर भिडिओ देखाए।
'भिडिओ हेरेर धेरैले राम्रो प्रतिक्रिया जनाए। केही थोरैले नराम्रो भने पनि म दुःखी भइनँ,' उनले भने, 'म आफ्नो पहिचान सार्वजनिक गर्न पाएकोमा खुसी थिएँ।'
उनलाई यो भिडिओ युट्युबमा राखेर अझ धेरै मानिसमाझ पुर्याउनुपर्छ भन्ने लाग्यो। 'लेक्स लिम्बू अन लाइफ, फेमिली एन्ड आइडेन्टिटी' शीर्षक राखेर भिडिओ सार्वजनिक गरे।
भिडिओमा आमाले भनेकी छन्– हामीले तिमीलाई छोराका रूपमा पाएका थियौं। तर तिमीले जुन कुरा सुनायौ, त्यसमा पनि हामी खुसी छौं। तिमी धैर्यसाथ अगाडि बढ्नू। तिमीले देखेको गन्तव्य भेट्टाउनेछौ भन्ने विश्वास छ।
आमा छोरालाई अँगालो हाल्छिन्।

१७ मिनेट १० सेकेन्डको भिडिओमा दर्शकको मन छुने दृश्य र संवादहरू छन्। यो भिडिओ लाखौंले हेरेका छन्, धेरैले खुसी प्रकट गर्दै लेक्सलाई शुभकामना दिएका छन्।
यसपछि लेक्सको जीवनले नयाँ मोड लियो। उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रेरणास्रोत बन्न थाले।
'नेपालका सञ्चार माध्यमहरूले कार्यक्रमका लागि बोलाए। आफ्नो अनुभव सुनाउने अवसर दिए,' उनले भने, 'मेरो पहिचानले सफलताको खुड्किलो चढ्न सहयोग पुर्यायो।'
उनी अहिले पनि जागिरसँगै भिडिओ बनाउने काममा निरन्तर लागेका छन्।
उनले एकपटक कार्तिक क्षेत्रीसँग फोटोसुट गरे। 'हिम एन्ड आई' शीर्षकमा सार्वजनिक गरिएको त्यो फोटोले उनलाई थप चर्चा दियो।
'मैले त्यो फोटोमार्फत् केटा र केटाबीच पनि मायाप्रेम हुन्छ भन्ने सन्देश दिन र प्रेमको परिभाषा बदल्न चाहेको थिएँ,' उनले भने।
लेक्स यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचानका विभिन्न अभियानमा जोडिए। बेलायतमा बसेर पनि नेपालमा हुने कार्यक्रममा भर्चुअल रूपमा सहभागी भए।
उनलाई नेपालमै बसेर काम गर्ने मन थियो। तर आमाबुबालाई छाडेर आउन चाहँदैनथे। चार वर्षअघि एक दिन उनले आफू सधैंका लागि नेपाल बस्न चाहेको कुरा आमाबुबालाई सुनाए।
सुरूमा त बेलायतको सुविधा छाडेर नेपाल फर्किन उचित नहुने विचार आमाबुबाको थियो। लेक्सले आफ्नो उद्देश्य, लक्ष्य र कर्तव्यको कुरा भने। अन्ततः आमाबुबाले छोरालाई साथ दिए।
हाल लेक्स आमाबुबाका साथ बुढानीलकण्ठमा बस्छन्। दुई वर्षदेखि 'जलवायु परिवर्तन' सम्बन्धी एक कार्यालयमा काम गरिरहेका छन्।
'अफिसको कामसँगै आफ्नो समुदायको हकहितका लागि बोलिरहेको छु, भिडिओ बनाइरहेको छु,' ३३ वर्षीय लेक्सले भने, 'यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई विचलित नहुन र आफ्नो आफ्नो पहिचान खुलाएर बाँच्न प्रेरित गर्छु।'