प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गरेको पत्रकार सम्मेलनमा बोलेका भाषालाई लिएर कांग्रेसले आपत्ति जनाएको छ।
विधेयकहरु विरुद्धको आवाज र प्रदर्शनलाई प्रधानमन्त्रीले ‘लोकतन्त्र र विकास विरोधी’ संज्ञा दिनु आपत्तिजनक रहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उल्लेख गरेका छन्।
‘हिजो निर्वाचनमा मत दिई रहँदा तिनै नागरिक ‘महान्’ आज विरोधमा उभिंदा लोकतन्त्र विरोधी?,’ शर्माले प्रश्न गरेका छन्, ‘कांग्रेस उहाँ (प्रधानमन्त्री) लाई स्मरण गराउन चाहन्छ, सडकमा प्रस्तुत विरोधको आवाज होइन। गुठी विधेयक लोकतन्त्र, परम्परा र संस्कृतिको विरुद्धमा छ।’
मिडिया काउन्सिललगायत पछिल्ला विधेयक संविधानको भावनाअनुसार नभएको र लोकतान्त्रिक मूल्य र जनभावनाविरुद्धमा रहेको कांग्रेसको भनाइ छ। कांग्रेसले सभामुख कृष्णबहादुर महराको भूमिकामाथि पनि प्रश्न उठाएको छ।
‘सभामुख फेरि पनि प्रधानमन्त्रीको लाचार छायाको भूमिकामा प्रस्तुत हुनु द:खद त छ नै प्रधानमन्त्रीबाट पत्रकार सम्मेलनमार्फत् कतिपय विधेयक विरुद्धको सडकका आवाजलाई ‘लोकतन्त्र विरोधी’ को संज्ञा दिनु झनै आपत्तिजनक छ,’ कांग्रेसले भनेको छ।
सभामुखले प्रतिपक्षी दललाई बोल्न नदिई सिधै प्रधानमन्त्रीलाई बोल्न दिँदा संसदमा द्वन्द्व हुनु स्वभाविक भएको कांग्रेसको भनाइ छ।
‘विपक्षी स्वरलाई म सुन्न चाहन्छु भन्ने लोकतान्त्रिक व्यवहार न प्रधानमन्त्रीबाट प्रस्तुत भयो न ‘सरकार बहुमतको संसद प्रतिपक्षको’ मान्यतालाई सभामुखबाट कार्यान्वयन हुन सक्यो,’ शर्माले भनेका छन्, ‘प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन क्षमता गुमाइसकेको अयोग्यताको परिणाममा घटना भयो।’