मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपाल-भारत सीमा विवाद मिलाउन सरकारले छिटो पहल थाल्नुपर्ने बताएका छन्।
सीमा विवादबारे राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा राखेको सर्वपक्षिय बैठकमा भाग लिएर बाहिरिएका रेग्मीले पत्रकारहरूसँग भने, ‘सरकारले सीमा विवाद मिलाउन छिटो अग्रसरता लिओस्।’
उनले सीमा विवादलाई कुटनीतिक तवरबाट हल गर्नका लागि राजनीतिक र प्राविधिक समिति गठन गर्न पनि सुझाव दिएका छन्। ‘राजनीतिक र प्राविधिक समिति बनाएर समस्या समाधान गर्नुपर्छ,’ उनले भने।
भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालका भूमि समावेश गरेपछि चर्को विरोध भइराखेको छ। भारतसँग कूटनीतिक पहल गर्नुअघि प्रधानमन्त्रीले शनिबार सर्वपक्षीय बैठक राखेका हुन्।