सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेटर ललित भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन्।
भण्डारी मंगलबार ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका हुन्।
भदौ अन्तिम साता गृहजिल्ला कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारीको दुवै हात र दुवै खुट्टामा चोट लागेको थियो।
सुरुमा धनगढीमा ललितलाई त्यसपछि कोहलपुर मेडिकल पुर्याइएको थियो। त्यसपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।
काठमाडौंमा ल्याएपछि उनको दाँहिने खुट्टा र हातको शल्यक्रिया गरिएको थियो। अब उनले करिब ६ महिना थेरापी गर्नुपर्ने डाक्टरले सल्लाह दिएका छन्। त्यसपछि उनी क्रिकेटमा फर्कने अपेक्षा गरिएको छ।
घाइते भए लगत्तै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले भण्डारीलाई सहयोग गर्न अपिल गर्दै आर्थिक संकलन गरेको थियो।
संकलिन रकममध्ये मंगलबार ६ लाख २८ हजार रुपैयाँ सिप्यानले परिवारलाई हस्तान्तरण गरेको छ।
यस्तै सिप्यानले कोहलपुरबाट काठमाडौं ल्याएको सिमरिक एयरलाई संकलित रकमबाट ३ लाख ८० हजार रुपैयाँ पनि तिरेको छ।