बुवाको मुख हेर्ने दिनको सन्दर्भमा सन्तानबाट आफ्नै संस्मरण उपहार पाउँदा ८८ वर्षे भीम प्रसाद गुरागाईं भावविभोर भए। पूर्वी नेपालको भुल्के, भोजपुरमा जन्मेका उनले पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै भने, ‘यो किताब आजको पुस्तालाई दन्त्य कथाजस्तै लाग्न सक्छ। यसलाई किताबको रुपमा देख्न पाउनु मेरो अहोभाग्य हो।’
उनको जीवन आफैंमा कथाभन्दा कम छैन। गुरागाईं ६९ वर्ष छँदा मस्तिस्कस्राव भई अचेत अवस्थामा पुगेका थिए। उनको शल्यक्रिया गर्ने डा. वसन्त पन्तले समेत आशा मारेका थिए। तर शल्यक्रियापछि उनले नयाँ जीवन पाए। उनको उपचार गर्ने उनै डा. पन्तसँगै शल्यक्रियामा सहयोग गर्ने डा. सरोज धिताल, पत्रकार भैरव रिसाल र लेखक भीम प्रसादकी श्रीमती पुण्यवता गुरागुरागाईंको हातबाट ललितपुरमा पुस्तक सार्वजनिक भएको हो।
‘भोजपुर पुग्दा उहाँलाई आफूले भेटेको सन्दर्भ पढ्न पाउँदा रमाइलो लाग्यो।’ किताबमा आफैं पात्रसमेत बनेर आएका भैरव रिसालले थपे, ‘हरेक सामान्य व्यक्तिसँग महत्वपूर्ण कथा हुन्छ। यसरी कथा सार्वजनिक गर्ने अभ्यासले इतिहासलाई फर्केर हेर्न बुझ्ने उपयोगी खुराक दिन्छन्।’
लेखक नारायण ढकालले पुस्तकसँग आफू एक वर्षअघि नै जोडिएको सन्दर्भ खुलाउँदै भने, ‘पाण्डुलिपि पढेर दिएका केही सुझाव किताब राखिएको रहेछ। यो पूर्वी नेपालको ब्राह्मणको प्रतिनिधि भएकोले पठनीय छ।’
डा. सरोज धितालले 'ती दिनहरु' इतिहास बुझ्ने महत्वपूर्ण सन्दर्भ सामग्री बनेको दाबी गरे। उनले भने, ‘यो विगतमा फर्कने टाइम मेसिन हो। यसमा नब्बेको दशक आसपास जन्मेका पुस्ताको चाहना, कल्पना, सपना र भोगाइ समेटिएको छ।’
भीम प्रसाद गुरागाईंका पत्रकार छोरा गोपाल गुरागाईंले अगिल्लो पुस्ताको अनुभव र भोगाइ अभिलेख गर्ने काम महत्वपूर्ण लागेर यो पुस्तक प्रकाशनमा ल्याउन पहल गरेको बताए।
बुलबुल पब्लिकेसन्सले प्रकाशित गरेको पुस्तकको मूल्य ३०० रुपियाँ छ।