नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ।
पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष प्रचण्डले व्यक्त गरेका विचारहरू विभिन्न ४२ शीर्षकमा समेटिएका छन्।
२४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधानअन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको प्रज्ञा स्मृति प्रतिष्ठान, नेपालले जनाएको छ।
'संसदीय राजनीतिबाट सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रूपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता मुद्दालाई संस्थागत गर्ने नयाँ संविधानको ‘कोरियोग्राफर’ को भूमिका खेल्दा भोग्नु परेका उथलपुथलकारी परिघटना व्यक्त भएको यो पुस्तक आफैंमा एउटा ऐतिहासिक दस्तावेज हो,' प्रज्ञा स्मृति प्रतिष्ठानको प्रेस नोटमा भनिएको छ।
विभिन्न राजनीतिक शक्तिहरूबीच भएका संघर्ष, पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवम् रूपान्तरणका अनेक प्रयास यसमा उल्लेख गरिएको बताइएको छ।
प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको३८५ पृष्ठको पुस्तकको मूल्य ५०० रुपैयाँ छ।