सन् १९५३ मे २९।
संसारको सबभन्दा अग्लो हिमाल सगरमाथाको चुचुरोमा दुई जना मानिस पुगे।
एक थिए, न्युजिल्यान्डका एडमन्ड हिलारी। अर्का थिए, अनुभवी हिमाली आरोही तेन्जिङ नोर्गे शेर्पा।
त्यो आरोहणले इतिहास रच्यो।
विश्वभर सगरमाथा विजयका समाचार छापिए।
हिलारी र तेन्जिङ दुवै संसारभर चर्चित भए।
तर सगरमाथा विजयको कथा पश्चिमी संसारमा प्रायः हिलारी र ब्रिटिस पर्वतारोहण अभियानको दृष्टिकोणबाट सुनाइयो।
तेन्जिङ पनि त्यही शिखरमा पुगेका थिए। हिलारीभन्दा धेरैअघि उनी हिमालमा रमाउन थालिसकेका थिए। वर्षौंसम्म विदेशी पर्वतारोहीहरूसँग हिमाल चढेका थिए। हिमाल चढ्ने बाटो पत्ता लगाउने, सामान ओसार्ने, जोखिमपूर्ण ठाउँ पार गर्ने काममा उनले लामो अनुभव बटुलेका थिए।
उनका लागि सगरमाथा हिमाल मात्र थिएन। धार्मिक आस्था र जीवनको सपनासँग पनि जोडिएको थियो।
त्यसो भए सगरमाथा विजयको कथा तेन्जिङकै दृष्टिकोणबाट सुनाउँदा कस्तो होला?
यही प्रश्नको जबाफ खोज्ने प्रयास गरेकी छन् अस्ट्रेलियाली फिल्म निर्देशक जेनिफर पिडमले।
उनले तेन्जिङ नोर्गेको जीवनमा आधारित फिल्म बनाएकी छन् — 'Tenzing' (तेन्जिङ)।
अक्टोबर ९ देखि अमेरिका र बेलायतका सीमित सिनेमाघरमा प्रदर्शन सुरू भएको यो फिल्म अक्टोबर १६ देखि एप्पलको स्ट्रिमिङ सेवा 'एप्पल टिभी' मा विश्वव्यापी रूपमा रिलिज भएको छ। नेपालबाट पनि यो फिल्म हेर्न सकिन्छ।
दुई घन्टा पाँच मिनेट लामो फिल्ममा तेन्जिङको भूमिका तिब्बती मूलका चिनियाँ अभिनेता गेन्डेन फुन्सोकले निर्वाह गरेका छन्। हिलारीको भूमिकामा प्रसिद्ध बेलायती अभिनेता टम हिडल्स्टन छन्।
सन् १९५३ को ब्रिटिस सगरमाथा अभियानका प्रमुख जोन हन्टको भूमिकामा हलिउड अभिनेता विलेम डाफो छन्।
नेपाली–तिब्बती अभिनेत्री थिन्ले ल्हामोले तेन्जिङकी पत्नी दावाको भूमिका निर्वाह गरेकी छन्।
फिल्मले सगरमाथा आरोहणको रोमाञ्च मात्र देखाउँदैन; तेन्जिङको बाल्यकाल, प्रेम, पारिवारिक जीवन, हिमाली समुदायमाथि हुने विभेद र एक आरोहीको जीवनभरको सपनालाई पनि कथामा समेटेको छ।
फिल्म सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय समीक्षकहरूले यसबारे चर्चा थालेका छन्।
कतिपयले ऐतिहासिक रूपमा ओझेलमा परेका तेन्जिङलाई केन्द्रमा ल्याएको भन्दै फिल्मको प्रशंसा गरेका छन्। कतिपयले चाहिँ कथा राम्रो भए पनि तेन्जिङको जटिल जीवनलाई अपेक्षित गहिराइमा प्रस्तुत गर्न नसकेको टिप्पणी गरेका छन्।
फिल्म निर्देशक जेनिफर पिडम र गेन्डेन फुन्सोक।
फिल्म बनाउन किन लाग्यो दुई दशक?
निर्देशक जेनिफर पिडमको सगरमाथासँगको सम्बन्ध नयाँ होइन।
दुई दशकभन्दा अघि उनले एक पर्वतारोहण अभियानसँग जोडिएर हिमाली क्षेत्रको यात्रा गरेकी थिइन्।
त्यहाँ उनले विदेशी पर्वतारोही र स्थानीय शेर्पाहरूबीचको सम्बन्ध नजिकबाट देखिन्।
विदेशी आरोहीहरू सगरमाथा चढेर फर्केपछि उनीहरूको बहादुरीका कथा संसारभर फैलिन्थे। तर ती आरोहण सम्भव बनाउन जोखिमपूर्ण काम गर्ने शेर्पाहरूको योगदानले प्रायः कम चर्चा पाउँथ्यो।
यही अनुभवले उनलाई हिमाली समुदायको जीवन र पर्वतारोहण उद्योगबारे सोच्न प्रेरित गर्यो।
उनले सन् २०१५ मा 'शेर्पा' नामको वृत्तचित्र बनाइन्।
त्यस वृत्तचित्रले सगरमाथामा काम गर्ने शेर्पाहरूको श्रम, उनीहरूले बोक्ने जोखिम र विदेशी आरोहीहरूसँगको असमान सम्बन्धलाई केन्द्रमा राखेको थियो।
त्यसपछि उनलाई लाग्यो — सगरमाथा आरोहणसम्बन्धी यति धेरै फिल्म बनेका छन्, तर तेन्जिङ नोर्गेको आफ्नै कथा किन बनेको छैन?
अक्टोबर १३ मा प्रकाशित 'भेराइटी इन्डिया' सँगको अन्तर्वार्तामा पिडमले भनेकी छन्, 'अधिकांश सगरमाथासम्बन्धी फिल्म र वृत्तचित्रले पश्चिमी आरोहीहरूको सफलता र हिमाल जित्ने प्रयत्नलाई केन्द्रमा राख्छन्। तर शेर्पाहरूको योगदान, जसबिना त्यस्ता आरोहण सम्भव हुँदैनन्, उनीहरूको कथा भने फिल्ममा प्राय: छुट्छ।'
यही कारण तेन्जिङको कथा सुनाउने निर्णय गरेको उनको भनाइ छ।
यसका लागि उनले तेन्जिङका छोरा नोर्बु तेन्जिङसँग सहकार्य गरिन्।
उनीहरूको सम्बन्ध 'शेर्पा' वृत्तचित्र निर्माणदेखिकै हो। नोर्बु अहिले 'तेन्जिङ' फिल्मका कार्यकारी निर्मातासमेत हुन्।
सेप्टेम्बरमा प्रकाशित 'क्लाइम्बिङ' पत्रिकाको अन्तर्वार्तामा नोर्बुले आफ्नो बाबुको कथा विश्वभर पुर्याउने चाहना लामो समयदेखिको भएको बताएका छन्।
उनका अनुसार फिल्ममार्फत संसारले सगरमाथाका प्रसिद्ध आरोही मात्र होइन, तिब्बतको हिमाली भेगमा चौंरीपालकको परिवारमा जन्मिएको एउटा साधारण मानिसको असाधारण जीवनबारे पनि थाहा पाउनेछ।
फिल्मको कथा तयार पार्दा बेलायती लेखक एड डगलसले सन् २००३ मा लेखेको 'तेन्जिङ: हिरो अफ एभरेष्ट' पुस्तकलाई प्रमुख आधार बनाइएको छ।
तेन्जिङ परिवारका सदस्यहरूको संस्मरण, पुराना अभिलेख र आरोहणसम्बन्धी विवरण पनि अध्ययन गरिएको निर्देशक पिडमले बताएकी छन्।
फिल्मको पटकथा लुक डेभिसले लेखेका हुन्।
नेपालमै छायांकन, सगरमाथाको दृश्य भने न्युजिल्यान्डमा
फिल्मको अर्को रोचक पक्ष यसको छायांकन हो।
निर्देशक पिडमले अक्टोबर ९ मा प्रकाशित 'कोन्ड नास्ट ट्राभलर' सँगको अन्तर्वार्तामा बताए अनुसार फिल्म निर्माण टोलीले नेपालमा तीन महिना पूर्वतयारी गरेको थियो।
त्यसपछि छ साता नेपालमा फिल्म खिचियो।
तेन्जिङको बाल्यकालसँग सम्बन्धित दृश्य मुस्ताङमा खिचिएको हो। खुम्बुको परिवेश देखाउने कतिपय दृश्य पनि मुस्ताङमै खिचिएका छन्।
त्यस्तै, दार्जिलिङका केही दृश्य तनहुँको बन्दीपुरमा खिचिएका थिए।
काठमाडौं उपत्यकाको पाटन दरबार क्षेत्र पनि छायांकनस्थल बनेको थियो। पाटन दरबार क्षेत्र धार्मिक र ऐतिहासिक महत्त्वको स्थान भएकाले छायांकन गर्न सजिलो थिएन। निर्देशक पिडमका अनुसार त्यहाँ दुई महत्त्वपूर्ण दृश्य खिच्न टोलीले जम्मा दुई घन्टा समय पाएको थियो।
त्यति छोटो समयमा सयौं अतिरिक्त कलाकारसहित दृश्य खिचिएको थियो।
फिल्ममा काठमाडौंस्थित बेलायती दूतावासको परिसर पनि प्रयोग भएको छ।
तर सगरमाथाको चुचुरोमा पुगेको दृश्य वास्तविक सगरमाथामा खिचिएको होइन। त्यसका लागि न्युजिल्यान्डको अओराकी अर्थात् माउन्ट कुक क्षेत्रका हिमाल प्रयोग गरिएको छ।
हिलारी हिउँको चिरामा खस्दा तेन्जिङले बचाएको दृश्य पनि न्युजिल्यान्डमा पुनर्निर्माण गरिएको थियो।
हिडल्स्टन र फुन्सोकले वास्तविक हिउँ, चट्टान र कठिन हिमाली भूभागमा चढेर छायांकन गरेका थिए।
अभिनय गर्नुअघि उनीहरू नेपालमा सगरमाथा आधारशिविरतर्फ पदयात्रामा समेत गएका थिए। दुवैले अनुभवी शेर्पा पर्वतारोही फुर्बा तासीसँग समय बिताएका थिए।
पिडमका अनुसार यसले अभिनेताहरूलाई हिमालसँग परिचित गराउनुका साथै पर्दामा देखाउनुपर्ने तेन्जिङ र हिलारीबीचको सम्बन्ध विकास गर्न मद्दत गर्यो।
अन्तर्राष्ट्रिय समीक्षकहरूले के भने?
फिल्मको उद्देश्यबारे धेरै समीक्षकले सकारात्मक प्रतिक्रिया दिएका छन्। तर उद्देश्य राम्रो हुनु र फिल्म राम्रो बन्नु एउटै कुरा होइन।
फिल्मको मूल्यांकन गर्दा उनीहरूले यही भिन्नतामा जोड दिएका छन्।
बेलायती अखबार 'द गार्डियन' का समीक्षक पिटर ब्राडशले अक्टोबर ९ मा प्रकाशित समीक्षामा फिल्मलाई पाँचमध्ये तीन तारा दिएका छन्। उनले फिल्मको उद्देश्य र गेन्डेन फुन्सोकको अभिनयको प्रशंसा गरेका छन्।
ब्राडशका अनुसार फिल्मको सबभन्दा महत्त्वपूर्ण उपलब्धि सगरमाथा आरोहणको कथालाई तेन्जिङको दृष्टिकोणबाट प्रस्तुत गर्नु हो।
उनले फिल्मलाई तेन्जिङ र हिलारीबीचको मित्रताको कथाभन्दा बढी 'तेन्जिङ र हिमालबीचको प्रेमकथा' का रूपमा व्याख्या गरेका छन्।
फुन्सोकले तेन्जिङको सरलता, आत्मविश्वास र हिमालप्रतिको आकर्षणलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको उनको टिप्पणी छ।
ब्राडशले एउटा प्रश्न पनि उठाएका छन्।
यदि यो फिल्म कुनै तिब्बती निर्देशकले बनाएका भए तेन्जिङको सांस्कृतिक संसारलाई अझ गहिराइमा प्रस्तुत गर्न सकिन्थ्यो कि?
यो प्रश्नलाई उनले सम्भावनाका रूपमा उठाएका हुन्।
अमेरिकी फिल्म समीक्षा वेबसाइट 'रोजरइबर्ट डटकम' की समीक्षक कोर्टलिन केलीले भने फिल्ममा आध्यात्मिक र भावनात्मक गहिराइ भेटेकी छन्।
अक्टोबर ८ मा प्रकाशित समीक्षामा उनले फिल्म बाहिरबाट हेर्दा एउटा साहसिक पर्वतारोहण कथा भए पनि भित्र मानिसको जीवनको उद्देश्य र आस्थासँग सम्बन्धित रहेको टिप्पणी गरेकी छन्।
उनका अनुसार फिल्मले तेन्जिङको आरोहणलाई केवल शारीरिक साहसको उपलब्धिमा सीमित राख्दैन। जीवनभरको अनुभव, पीडा र आध्यात्मिक सम्बन्धसँग पनि जोड्छ।
तर सबै समीक्षक यति सकारात्मक छैनन्।
'स्ल्यान्ट म्यागजिन' का अन्झे झाङले अक्टोबर ४ मा प्रकाशित समीक्षामा फिल्मको कमजोरी औंल्याएका छन्।
उनले फिल्मलाई 'प्लानेट अर्थको सगरमाथा संस्करण' जस्तो लागेको टिप्पणी गरेका छन्।
उनको आसय हो — फिल्मले हिमालको विशालता, जोखिम र सुन्दरता प्रभावशाली ढंगले देखाउँछ। तर तेन्जिङको जटिल व्यक्तित्व बुझाउन त्यति सफल हुँदैन।
फिल्ममा तेन्जिङको बाल्यकाल, प्रेम, पारिवारिक क्षति र आरोहणका दृश्य बारम्बार पालैपालो देखाइन्छन्।
झाङका अनुसार ती दृश्यले तेन्जिङको जीवनमा गहिराइ थप्नुभन्दा कतिपय अवस्थामा सामान्य जीवनीपरक फिल्मकै शैली पछ्याएका छन्।
उनले तेन्जिङको जीवनका आधारभूत घटना बुझ्न फिल्म उपयोगी भए पनि व्यक्तित्वबारे गहिरो जानकारी चाहने दर्शकले उनको आत्मकथा पढ्दा बढी बुझ्न सक्ने बताएका छन्।
फिल्म उद्योगसम्बन्धी अन्तर्राष्ट्रिय प्रकाशन 'स्क्रिन डेली' का वरिष्ठ समीक्षक टिम ग्रियर्सनले पनि यस्तै कमजोरी औंल्याएका छन्।
सेप्टेम्बर २४ मा प्रकाशित उनको समीक्षामा फिल्मका हिमाली दृश्य र कलाकारहरूको संयमित अभिनयको प्रशंसा गरिएको छ।
तर निर्देशकले तेन्जिङलाई अत्यन्त आदर्श व्यक्तिका रूपमा प्रस्तुत गर्न खोज्दा कथाको नाटकीय प्रभाव कमजोर भएको उनको टिप्पणी छ।
ग्रियर्सनका अनुसार फिल्मले पर्वतारोहण इतिहासमा तेन्जिङलाई उचित स्थान दिने महत्त्वपूर्ण काम गरेको छ। तर इतिहासको त्रुटिपूर्ण चित्रण सच्याउने प्रयास सफल हुँदैमा फिल्म स्वतः प्रभावशाली हुँदैन।
तेन्जिङको व्यक्तिगत जीवनका दुःखद घटनालाई सगरमाथा आरोहणसँग बारम्बार जोड्ने शैलीले कथा केही कृत्रिम बनाएको उनको मूल्यांकन छ।
यसको ठिक विपरीत भारतीय समीक्षक मिनाक्षी शेड्डेले 'भेराइटी इन्डिया' मा फिल्मको खुलेर प्रशंसा गरेकी छन्।
अक्टोबर १६ मा प्रकाशित समीक्षामा उनले यसलाई अत्यन्त रोमाञ्चक पर्वतारोहण फिल्म भनेकी छन्।
उनका अनुसार फिल्मको महत्त्व एउटा ऐतिहासिक आरोहण पुनः प्रस्तुत गर्नुमा मात्र छैन। पश्चिमी दृष्टिकोणबाट सुनाइएका पर्वतारोहणका कथाहरूमा ओझेल परेका शेर्पाको योगदानलाई उचित स्थान दिनु पनि यसको महत्त्वपूर्ण उपलब्धि हो।
उनले फिल्मको छायांकन, कलाकारहरूको अभिनय र हिमाली दृश्यको प्रशंसा गरेकी छन्।
यद्यपि उनले पनि विगतका घटनालाई सम्झाउने दृश्य केही कम भएको भए फिल्म अझ राम्रो बन्न सक्ने टिप्पणी गरेकी छन्।
यसरी अन्तर्राष्ट्रिय समीक्षकहरूको साझा निष्कर्ष हेर्दा फिल्मको सबभन्दा बलियो पक्ष तेन्जिङलाई कथाको केन्द्रमा ल्याउनु र आरोहणका रोमाञ्चक दृश्य प्रस्तुत गर्नु हो।
कमजोरी चाहिँ मुख्यतः पटकथा र तेन्जिङको चरित्रचित्रणको गहिराइमा देखिएको छ।
के फिल्ममा देखाइएका सबै घटना साँचो हुन्?
नेपालका दर्शकका लागि यो प्रश्न विशेष महत्त्वपूर्ण छ। किनभने, फिल्म वास्तविक इतिहासमा आधारित भए पनि वृत्तचित्र होइन।
वास्तविक घटनासँगै केही काल्पनिक संवाद र दृश्य पनि समावेश गरिएका छन्।
यसको एउटा उदाहरण तेन्जिङको बाल्यकालमा आउने दृश्य हो।
फिल्ममा सानो उमेरका तेन्जिङले बेलायती पर्वतारोही जर्ज म्यालोरीलाई भेटेको देखाइएको छ।
यो भेटले उनलाई हिमाल चढ्ने सपना देख्न प्रेरित गरेको कथा प्रस्तुत गरिएको छ। तर त्यस्तो भेट वास्तवमै भएको थियो भन्ने ऐतिहासिक प्रमाण छैन।
निर्देशक पिडम आफैले यो दृश्य कल्पनामा आधारित रहेको स्वीकार गरेकी छन्।
'क्लाइम्बिङ' लाई दिएको अन्तर्वार्तामा उनले म्यालोरीको यात्रासम्बन्धी अभिलेख अध्ययन गर्दा उनको अभियान तेन्जिङ हुर्किएको हिमाली क्षेत्र भएर गएको विवरण भेटिएको बताएकी छन्।
यसले म्यालोरी र बालक तेन्जिङबीच भेट भएको पुष्टि भने हुँदैन।
त्यसैले फिल्ममा प्रस्तुत गरिएको भेटलाई वास्तविक इतिहासको प्रमाण मान्न मिल्दैन।
त्यसैगरी तेन्जिङले अभियानमा आफूलाई चिनाउने एउटा नाटकीय प्रसंग पनि कल्पनामा आधारित भएको पिडमले स्पष्ट पारेकी छन्।
उनका अनुसार जीवनीपरक फिल्म भएकाले कथा प्रभावकारी बनाउन केही घटना संक्षिप्त पारिएका र समयक्रम परिवर्तन गरिएका छन्।
त्यसैले फिल्म हेर्दा एउटा कुरा ख्याल गर्नुपर्छ — यसको मूल कथा ऐतिहासिक घटनामा आधारित छ, तर प्रत्येक दृश्य र संवाद प्रमाणित इतिहास होइन।
नेपालबाट कसरी हेर्न सकिन्छ?
'तेन्जिङ' अहिले एप्पलको स्ट्रिमिङ सेवा 'एप्पल टिभी' मा उपलब्ध छ। नेपालका दर्शकले पनि फिल्मको आधिकारिक पृष्ठ खोलेर हेर्न सक्छन्।
यसका लागि एप्पल अकाउन्टबाट लगइन गरेर एप्पल टिभीको सदस्यता लिनुपर्छ। एप्पलको नेपालका लागि आधिकारिक पृष्ठ अनुसार यसको मासिक सदस्यता शुल्क ०.९९ अमेरिकी डलर छ।
योग्य नयाँ सदस्यहरूले सात दिनको निःशुल्क परीक्षण सुविधा पनि पाउन सक्छन्।
सदस्यता लिएपछि कम्प्युटरको ब्राउजर, आइफोन, आइप्याड, एन्ड्रोइड फोन वा स्मार्ट टिभीबाट फिल्म हेर्न सकिन्छ।
फिल्मको मूल अडिओ अंग्रेजीमा छ। अंग्रेजी र हिन्दी सहित विभिन्न भाषाका सबटाइटल उपलब्ध छन्। हाल नेपाली सबटाइटल भने छैन।
७३ वर्षपछि फेरि तेन्जिङको चर्चा
सगरमाथाको पहिलो प्रमाणित सफल आरोहण भएको ७३ वर्षपछि बनेको यो फिल्मले एउटा पुरानो बहसलाई फेरि अघि ल्याएको छ।
इतिहासमा कसको नाम ठूलो अक्षरमा लेखिन्छ?
शिखरमा पुग्नेको? कि त्यहाँसम्म पुग्ने बाटो बनाउने, सामान बोक्ने, जोखिम उठाउने र आरोहण सम्भव बनाउनेहरूको पनि?
सगरमाथाको शिखरमा हिलारी र तेन्जिङ सँगै पुगेका थिए। तर उनीहरूको पृष्ठभूमि फरक थियो।
हिलारीका लागि सगरमाथा संसारकै सबभन्दा कठिन पर्वतारोहण चुनौतीमध्ये एक थियो। तेन्जिङका लागि भने यो हिमालसँग वर्षौंको सम्बन्ध थियो। उनको जीविका, पहिचान, आस्था र सपना यही हिमालसँग जोडिएका थिए।
फिल्मले यही भिन्नतालाई कथाको मूल आधार बनाएको छ। यसको कलात्मक सफलताबारे समीक्षकहरूको मत फरक हुन सक्छ। तर यसले उठाएको प्रश्न महत्त्वपूर्ण छ।
सगरमाथा आरोहणको इतिहास सुनाउँदा हामीले हिलारीको कथा धेरै सुन्यौं। के तेन्जिङको कथा पनि त्यत्तिकै गहिराइमा सुन्यौं?
फिल्म 'तेन्जिङ' यही प्रश्नमा केन्द्रित छ।
अनि यसको उत्तर खोज्न दर्शकलाई ७३ वर्षअघिको त्यो ऐतिहासिक आरोहणतर्फ फेरि फर्काएको छ।
***