रणवीर कपूर र आलिया भट्ट अभिनीत फिल्म 'ब्रह्मास्त्र'को दोस्रो भाग बन्ने पक्का भएको छ। निर्देशक अयान मुखर्जीले 'ब्रह्मास्त्र २' निर्माण हुने पुष्टि गरेका हुन्।
सन् २०२२ मा प्रदर्शन भएको 'ब्रह्मास्त्र'ले विश्वव्यापी बक्स अफिसमा ४१८ करोड ८० लाख भारू कमाएको थियो। फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाए पनि यसको भव्य दृश्य, पौराणिक कथा र फेन्टासी संसारले दर्शकमाझ छुट्टै चर्चा पाएको थियो। पहिलो भाग प्रदर्शनसँगै यसको दोस्रो भागको प्रतीक्षा भइरहेको थियो। अब निर्देशक अयानले दोस्रो भागलाई पहिलोभन्दा फरक र अझ बढी भारतीयपन दिने योजना सार्वजनिक गरेका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार अयानले गोवामा आयोजित ५७ औं भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को तेस्रो दिन आयोजित विशेष सत्रमा फिल्मको दोस्रो भागबारे बताएका हुन्।
कार्यक्रममा अयानले 'ब्रह्मास्त्र २' मा काम गरिरहेको पुष्टि गर्दै पहिलो भागभन्दा अझ बढी भारतीय संस्कृति र आध्यात्मिकता समेट्ने आफ्नो चाहना व्यक्त गरेका छन्।
'ब्रह्मास्त्र'को सुरूआती अवधारणामा हलिउडका फिल्मको प्रभाव रहेको उनले स्वीकार गरेका छन्। विशेषगरी 'ह्यारी पोटर'जस्ता फिल्मबाट आफू प्रभावित भएको उनको भनाइ थियो। तर, लेखन अगाडि बढ्दै जाँदा हिन्दू धर्म र भारतीय आध्यात्मिकतासँग जोडिएका मौलिक विषयले आफूलाई बढी आकर्षित गरेको उनले बताए।
'ब्रह्मास्त्र २ मा प्रवेश गर्दा यसलाई अझ बढी भारतीय बनाउन सकूँ भन्ने आशा छ,' अयानको भनाइलाई उद्धृत गर्दै बलिउड हंगामाले लेखेको छ।
उनका अनुसार फिल्मको नाम सुरूमा 'ड्रागन' राखिएको थियो। पछि कथामा हिन्दू धर्म र भारतीय आध्यात्मिकताको पक्ष बलियो हुँदै गएपछि यसको नाम परिवर्तन गरेर 'ब्रह्मास्त्र' राखिएको हो।
फिल्मको पहिलो भागमा रणवीरले शिवाको भूमिका निर्वाह गरेका थिए। आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोय र नागार्जुनको पनि प्रमुख भूमिका थियो।
'ब्रह्मास्त्र'लाई तीन भागमा निर्माण गर्ने योजना बनाइएको थियो। पहिलो भागको नाम 'ब्रह्मास्त्र: पार्ट वान-शिवा' थियो भने दोस्रो भागको नाम 'ब्रह्मास्त्र: पार्ट टु-देव' रहने जनाइएको छ। यद्यपि, यसको छायांकन र प्रदर्शन मिति भने सार्वजनिक भइसकेको छैन।
पहिलो भागको प्रतिक्रियाबाट सिक्दै दोस्रो भागलाई अझ प्रभावशाली बनाउने अयानको योजना देखिन्छ। अब दर्शकको प्रतीक्षामा रहेको 'ब्रह्मास्त्र'को अर्को अध्यायले कस्तो रूप लिन्छ, त्यो भने निर्माण प्रक्रिया अघि बढेसँगै स्पष्ट हुनेछ।